नन्दलाल आचार्यदुई टुक्रा
१. थप्पडको मुङ्ग्र्रो
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्याँगिन्छौ । तिम्रो बुद्धि पलाएको पलायै छ । हाम्रो शुद्धि हराएको हरायै छ । अरू बेला हप्काउँछौ, थर्काउँछौ, त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा हाम्रो छाप लिन भने गुलिया भजन सुनाउँछौ । तिमीलाई जिताउँदा पनि उही भयो । तिमीलाई हराउँदा पनि त्यही भयो । मन मिल्दा सहकर्मीसँग घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिँदा पानी बाराबार गर्छौ । अँझ, आफ्नो स्वार्थको घैंटो रित्तियो भने बन्द–हडताल, धर्ना–अनसनको परिपञ्च रच्छौ । तालीका लागि बेसुर हुन्छौ । सुर आएपछि पत्रुकारको मनपरी हो भन्छौ । आफूलाई सधैंँ सत्यको राजमार्ग ठान्छौ । जगत्लाई असत्य नै असत्यको नरकधाम मान्छौ । त्यसैले त तिमीलाई पदम कुँवर चाहिएको छ । त्यसकै प्रतिक्षामा युवा पिँढी थामिएर उभिएको छ ।
२. जुम्रेको डायरी
कमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु । केहीबेर उसकै इसारामा चल्ने यन्त्र बनिदिन्छु । एक–डेढ घण्टामै ५–७ हजार रित्याउँछु । साहुनीले गलहत्याएर बाहिर निकाल्दिन्छे । नसा नासिँदै गएपछि मन साह्रो बनाउँदै जान्छु । क्रोधले बटारिँन पुग्छु । मुर्मुरिँदै घर फर्कन्छु । र, नानाभाँतीका अवगाल छिक्दै स्थायी प्रमाणपत्र प्राप्त श्रीमतीको मति उदण्ड पारिदिन्छु । सकुँञ्जेल थिच्छु । नसक्दा उसैबाट थिचिन्छु । जोईपोइको महाभारतले निष्कर्ष नपाउँदै थिलथिलो शरीरलाई निद्रादेवीको शरणमा छाडिदिन्छु । भोलिपल्ट टाउको कन्याउँदै उठ्छु । उठ्नै नसक्ने गरी शरीर दुखेको पाउँछु । श्रीमतीको आवाज सुन्छु– “ए जुम्रे पोइ ! काममा गएको खोई ? बेस्कन धोकेर आयौ, मेरो इज्जत लिलाम गर्यौ । हैन, कत्ति महाभारत रचेर हैरान पार्छौ ?”
तपेश्वरी–१, उदयपुर
Subscribe
Login
0 Comments
Oldest









































