साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्ने भो भानुभक्तकालीन घर

Nepal Telecom ad

चैत्र २५, २०७२ । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदान अनेक छन् । लोकलयको मिठास भरेर ‘रामायण’ लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउनेसम्म । बहुभाषा र संस्कृतिलाई जोड्ने सम्पर्क भाषा भानुकै कारण समृद्ध छ ।

अब यिनी जन्मिएको थलो तनहुँको शिखर कटेरीमा उनकै नाममा घर बन्दै छ । घरको नाम जुराइएको छ, ‘भानु शिखर कटेरी’ । साहित्यिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गराउने ध्येयका साथ पश्चिमाञ्चल विकास मञ्चले यो योजना अघि बढाएको हो ।

केही दिनअघि पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे, सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौड्याल र मञ्चका अध्यक्ष तथा साहित्यकार रामकाजी कोनेले भानु घरको शिलान्यास गरे ।

मञ्चले करिब ६८ लाख रुपैयाँ लागतमा भूकम्प प्रतिरोधात्मक दुईतले भानुभक्तकालीन घर निर्माण थालेको हो । ‘धेरै प्रयासपछि मात्र भानुभक्तकालीन घर बन्न लागेको छ,’ भानुजन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटल भने, ‘यो क्षेत्रलाई साहित्यिक पर्यटनको केन्द्र बनाउनुपर्छ भनेर लामो समयदेखि जुटै आएका छौं । अब कामले गति लियो ।’

पर्यटन विभागमार्फत् करिब महिना दिन अघिदेखि ६३ लाख रुपैयाँको लागतमा ‘रामायण भवन’ समेत निर्माण कार्य अघि बढी रहेको उनले जनाए । भानुभक्तको ‘भग्नावशेष घर’ लाई भने त्यही स्वरूपमा नै संरक्षण गरिने योजना छ ।

‘गुरुयोजनामा उल्लेख भएको योजनाहरू क्रमिक रूपमा सम्बोधन हुँदै जान थालेका छन्,’ उनले भने, ‘भानुभक्तको भग्नावशेष घरलाई भने त्यही स्वरूपमा ट्रस्ट बनाएर संरक्षण गर्ने छौं । पुनर्निर्माण गर्दा पुरातात्विक महत्वको उक्त घरको स्वरूप हराउने डर भएकोले यसो गर्नुपरेको हो ।’

गतवर्ष पर्यटन विभागबाटै बस पार्किङ स्थल निर्माणको लागि २० लाख रुपैयाँ निकासा भएको पनि उनले खुलाए । भानुभक्तको उक्त घर भने भानु सामुदायिक वनको हाताभित्र पर्छ । वन क्षेत्रभित्र भवन बनाउन लागिएकोले आगोले क्षति नपुर्याओस् भनेर ढलान गरिने र खरको छानाको स्वरूप दिने गरी भानुभक्तकालीन घर बनाइने मञ्चका अध्यक्ष कोनेले जानकारी दिए ।

भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालीन घरहरू बनाएर उक्त क्षेत्रलाई भानुग्रामकै रूपमा विकास गर्ने लक्ष्य राखिएको कोनेले थपे । फूल तथा फलफूलका बगैंचा, संग्रहालय, चौतारा, भ्यु टावर, ढुंगाले छापेर बनाइएका बाटा र करिब ४०, ५० जनालाई सजिलै राख्न सकिने होमस्टेको व्यवस्थासमेत गर्ने गरी करिब ३ वर्ष अघि नै गुरुयोजना तयार भएको थियो ।

यही गुरुयोजना अन्तर्गत मञ्चले ‘भानु शिखर कटेरी’ नामक घर निर्माण थालेको हो । घरको कलात्मक डिजाइन गरेका हुन् स्वरुप कोनेले । गुरु योजना अनुरूपको सबै संरचना तयार पार्न भने करिब १४ करोड रुपैयाँ आवश्यक पर्ने कार्यकारी निर्देशक रानाभाटले बताए ।

भानुभक्तले प्रयोग गर्ने खराउ, अम्खोरा, मधुस, खाट लगायत सामग्रीहरू हाल भानु जन्मस्थल विकास समितिका कार्यालयमा राखिएको छ । भानुभक्तको ‘भग्नावशेष घर’ पृथ्वी राजमार्गको डुम्रेबाट १३ किलोमिटर उत्तरतर्फ पर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x