वासुदेव पाण्डेयबोली र गोली दुबै
आफ्नो दोष लुकाउने तर सधैँ आदर्श छाँट्ने जन
हुन्छन् बाहिर मात्र सुग्घर सधैँ कालो छ भित्री मन ।
आफू मात्र ठुलो भनेर दुनियाँ गर्ने ‘मपाईँ’ खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।
’मेरो यो बढिया’ भनेर सजिलै, देखाउँछन् खोट जो
देख्ता उन्नति बन्धुको नसहने खप्छन् तिनै चोट यो ।
अर्काको गुणगान गर्न नसकी भो आत्मश्लाघा खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।
मेरो हो घर भन्छ बाहिर ठुलो पर्खालले छेक्दछ
मान्छे त्रस्त रहन्छ भित्र कसले पीडा व्यथा देख्दछ ।
अग्लो हुन्छ ‘कुटी’ भनिन्छ घरका चर्चा सुनिन्छन् खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।
माटोमा पसिना चुहाउन सधैँ तर्सेर भाग्नेहरू
ती नै उर्वर भूमि मालिक बने के न्याय खोज्ने अरू ।
गर्छन् काम खटेर जो दिनदिनै भोका र प्यासा खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै गोली र बोली दुबै ।।
साझा देश बनाउँछौँ सब मिली भन्थे सबै शासक
‘हाम्रा’ को पहिचानले कहलिए साह्रै ठुला लेखक ।
बिक्छन् सुन्दछु आजभोलि सहजै पैसा र चोली दुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।
छोटो जीवनमा ‘पढी’ कम सिकेँ भोगेर ज्यादा सिकेँ
‘सत्ता’, ’शासक’को प्रदक्षिण गरी लेख्नेहरू पो बिके ।
‘राम्रो’ अन्तिमसम्म टिक्दछ, यही भन्थे बुबाले खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































