साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी नै हौँ एक नम्बर

Nepal Telecom ad

हामी बितेको वर्ष २०७२ का उपलब्धिहरूको लेखाजोखा गर्दैछौँ । हामीले गएको वर्ष संसारमा नाम चलाउने धेरै काम गर्न सकेनौँ तैपनि लाजै हुने गरी केही गर्न नसकेको भने होइन । त्यस्तै एउटा महत्त्वपूर्ण उपलब्धिमध्ये हाम्रो राजधानी सहरलाई संसारकै उत्कृष्ट प्रदूषित सहर बनाउन हामी सफल भएका छौँ । संसारका मानिसहरूलाई जिज्ञासा लाग्दो हो– वनजंगल, खोलानाला, हिमाल, पहाड र हरियाली नै हरियालीले भरिभराउ यस्तो सुन्दर देशको राजधानी सहरलाई कसरी संसारकै प्रदूषित सहर बनाउन सफल भए होलान् यी वीर गोर्खालीहरू ! हुन पनि यो त्यति सजिलो काम होइन । हामीले लामो समयदेखि कडा परिश्रम र लगानी गरेर नै ०७२ को अन्त्यसम्ममा यो सफलता हात पारेका हौँ ।

हाम्रो सफलताको मुख्य कडीमा यहाँको धूलो, धूवाँ, सवारीको भीड, खेतहरूमा उम्रेका भवन, ढल बग्ने खोला, फोहोरका पहाड आदि नै होलान् । हुन पनि धूवाँ र धूलोले आकाश मात्रै ढाकेको छैन, हाम्रा घरका कोठा, चोटा, पसल, खानेकुरा, लगाउने लुगा, हाम्रो फोक्सो, कलेजो, घाँटी, कान, नाक सबैतिर ढपक्कै ढाकेको छ । हाम्रा सडक छन् सदा धुलाम्मे वा हिलाम्मे । कच्ची मात्रै होइन, पिच सडकलाई पनि हामी धूलो, हिलो, बालुवा, गिट्टी, प्लास्टिक, फलफूल वा तरकारीका बोक्रा, कोदाको छोक्रा, कुखुराका भुत्ला, खसीका भुँडी, राँगाका खुट्टा तथा विविध दुर्गन्धहरूले निरन्तर भरिभराउ बनाइराख्छौँ । लँगौटी जत्रा सडकमा हामी हात्तीजत्रा गाडी गुडाउँछौँ अटेसमटेस । ती पनि कालो धूवाँको मुस्लो फ्याँकेर सडकै अन्धकार बनाउन सक्ने बराजुका पालाका । त्यस्ता गाडी हामीले कति मिहिनेतले गुडाइरहेका छौँ, हाम्रो सही मूल्यांकन होस् । नम्बर सच्याइयोस् ।

‘पब्लिक प्राइभेट पार्टनरसिप’ अर्थात् पीपीपी मोडल अन्तर्गत हामी अगाडि बढिरहेका छौँ । हाम्रा सरकारी निकायहरूको योगदान अतुलनीय छ । वर्षौंवर्ष धूलो, हिलो, खाडल हुँदै आहालमा परिणत भएका सडक कहिलेकाहीँ झुक्किएर पिच पनि हुन्छन् । हामी चिन्तित हुन्छौँ, प्रदूषणको प्रतिस्पर्धामा हामी हार्छौं कि भनेर । तर, हाम्रो चिन्ता केही क्षणमै दूर भइहाल्छ । सडक पिच भएको साँझदेखि नै खानेपानी वा ढलका कामदारहरू गैँती बोकेर निस्कन्छन् र नयाँ पिच खनेर माटो थुपार्छन्, सडकका माझमा भ्वाङ पार्छन् र जान्छन् ।

सहरबाट अलिकति वरपर जानुहोस्, खेतीयोग्य जमिनमा टनाटन इँट्टा फलाएका छौँ, कंक्रिटको लहलह खेती गरेका छौँ । हरियाली त देख्नै हुँदैन, अलिअलि हुर्किन खोजेका बोट–बिरुवा उखेलेर हामी आकाशतिर उचाल्दै जिन्दावाद र मुर्दावाद गर्न थालिहाल्छौँ । मरेका जनावरहरू खोलामा खसाउँछौँ । पुराना भएका सिरक, डस्ना, राडीपाखी फाल्ने पनि खोलामा हो । बाँचुन्जेल त ढल हाल्छौँ, मल हाल्छौँ, मरेपछि लासले लगाएका गन्जी–कट्टु पनि फुकालेर खोलैमा फाल्छौँ । लास बालेर सकेपछि खरानी, अँगार, बाँस र दाउरा पनि खोलैमा झार्छौं । यसरी जन्मेदेखि खरानी हुन्जेलको हाम्रो अथक् प्रयासले हामीले हाम्रो राजधानीलाई यहाँसम्म ल्याइपुर्याएका हौँ । हामीले अरू कुनै सहरभन्दा पछि पर्नुपर्ने कारणै छैन । सानो मुलुक भनेर हामीलाई हेपेर तेस्रो पारिएको हो । हामी नै पहिलो हो भन्ने कुरा हामी ०७३ सालमा प्रमाणित गरेरै छाड्ने चुनौती दिन्छौँ । जज तथा प्रतिस्पर्धी सहरहरूलाई चेतना भया !!

नेपाल, वैशाख ८, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x