वासुदेव पाण्डेयसामर्थ्य
छर्ने गर्छ प्रकाश लोक हितमा बत्ती जलायो भने
ठाडा वृक्ष लतारिई जमिनमा सुत्छन् ढलायो भने ।
झर्ने गर्दछ पोखिई दुध उँधो धेरै उमाल्यो भने
खै केले मदमत्त हुन्छ मनुवा सत्ता समाल्यो भने ?
आफ्नै ज्ञान र शक्तिमा अडिग भै जो बाँच्दछन् जीवन
खप्दैनन् अपमान, त्रास कहिले आफ्नो भए चिन्तन ।
अर्काको बुइँ चढ्छ जो पयरमा टेक्दै नटेकीकन
धोका पाउँछ जेलिई कहरमा अल्झिन्छ धेरै दिन ।।
फेदीबाट चढेर कोसिस गरे टेकिन्छ अग्लो धुरा
तन्काऔँ त्यति मात्र पाउ जतिको लामो छ ओढ्ने कुरा ।
धेरै थोक गुमाइयो विगतमा चालै नपाईकन
मेधावी ‘अभिमन्यु’ भैकन मरे कालै नआईकन ।।
राम्रो कार्य गरौँ, सधैँ समयमै आफ्नो चिनी तागत
उफ्रिन्छन् जन राम बाण सरिको ठानेर आफ्नो मत ।
साह्रै नै कमजोर भो जग भने भत्किन्छ चाँडै छत
कैले कातर व्यक्ति अर्जुन बनी जित्थ्यो महाभारत ?
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest




































