लेख निरौलाउस्तै भारी
अति कठिन हुँदा नै बल्ल छोडेर आयौँ
अब सहर पसेका ढुक्क बन्दै रमायौँ
न त कठिन कसैले बोक्छ भारी प्रशस्तै
सहर रहर आफ्नो हुन्छ पक्कै दुरुस्तै ।।
अतिशय पर पुग्दै बोक्नुपर्ने छ पानी
पर पर वन खोज्दै दुःख उस्तै कटानी
जति कठिन त्यहाँको गाउँ बेँसी समान
सहरबिच सधैँ नै हुन्न पक्कै दलान ।।
सहज सरल सारा बास आफ्नो बजार
अलिकति श्रम गर्दा मिल्छ पक्कै हजार
प्रतिदिन मन यस्तै भावनाले कुदायो
सहरबिच पसे नै फेरि भारी सुझायो ।।
शिशु सब कति बोक्छन् बोझ भारी अचम्म !
गुरु जन किन दिन्छन् बोझ त्यो नित्य टम्म
अब त शिशु नसक्ने बोझ बोक्छन् किताब
न त सहज तिनैको दुःख भारी दबाब ।।
घरभरि रिन भारी बाबु आमा दुबैमा
दिनहुँ श्रम गरे नै छैन खाना कुनैमा
प्रतिदिन रिन बढ्दो शुल्कको बोझ भारी
अझ पनि घरभाडा तिर्न बाँकी तयारी ।।
जति पर पर पुग्दा छैन पानी न धारो
सहर बिच कता हो ग्यास आफ्नो उधारो !
तन पनि जब भोको दुःख उस्तै छ भारी
कथित सहर पसे नै छुट्छ खै बोझ भारी ! ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































