सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेटौंडामा रिमालको प्रतिमा

Nepal Telecom ad

जेष्ठ १९, २०७३ । नेपाली साहित्यमा गद्य कविता भित्र्याउने प्रगतिवादी साहित्यकार गोपालप्रसाद रिमालको हेटौंडामा मंगलबार प्रतिमा अनावरण गरिएको छ । रिमालको प्रतिमा राखिएको राजधानीबाहिर पहिलो हो ।

हेटौंडा– २ स्थित पर्यटकीयस्थल वनस्खण्डी परिसरमा निर्माण गरिएको प्रतिमाको रिमालकी धर्मपत्नी हरिदेवी रिमाल र साहियत्कार तथा गीतकार एसपी कोइरालाले अनावरण गरे ।

साहित्य संगम मकवानपुरको संयोजनमा साहित्यकार आरसी रिजालको सक्रियतामा निर्माण गरिएको प्रतिमा अनावरण कार्यक्रममा रिमालका पत्नी, छोरा, बुहारी र नातिनातिना सहभागी थिए । गत मङ्सिर १३ गतेबाट निर्माण कार्य सुरु गरिएको प्रतिमाको ९८ औं जन्मदिवस अवसर पारेर मंगलबार अनावरण गरिएको साहित्यकार रिजालले बताए ।

काठमाडौंको लगनटोलमा १९७५ साल जेठ १८ गते जन्मिएका रिमालका ‘एक जुगमा एक दिन’ आउँछ भन्ने गीत गायक रामकृष्ण दुवालले कार्यक्रममा जोसका साथ प्रस्तुत गरेका थिए ।

२०२० सालमा मदन पुरस्कारसमेत प्राप्त गरेका रिमालको प्रतिमा अनावरण कार्यक्रममा साहित्कार मनु मञ्जिलले नेपाली साहित्यमा रिमाल लक्ष्मीप्रसाद देवकोटा हाराहारीका साहित्यकार भएको दाबी गरे । कार्यक्रममा साहित्यकार रिमालका छोरा मदन रिमालले पिताको साहित्यप्रतिको लगावको सम्मान मकवानपुरले गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

गोपालप्रसाद रिमालको स्मृतिमा अध्यक्षकोष स्थापनाका लागि साहित्य संगम मकवानपुरलाई उनले २ लाख ५१ हजार रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरेका थिए ।

कार्यक्रममा कविहरू भूपीन, प्राज्ञ रामकृष्ण दुवाल, साहित्यकार तुल्सी थापा लगायतले कवि रिमालको कृतित्व र व्यक्तित्वमाथि चर्चा गरेका थिए । २०३० सालमा काठमाडौंमा रिमालको निधन भएको थियो । उनको प्रतिमा विगतमा काठमाडौंको गुरुकुलमा राखिएको थियो । अहिले त्यो पनि झिकेर अन्यत्र थन्क्याइएको छ ।

–प्रताप विष्ट, हेटौंडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad