सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ओली उडाउने अभियान

Nepal Telecom ad

बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नू, बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नू भन्ने उखान हाम्रा प्रधानमन्त्री केपी ओलीले नसुनेका होलान् र ! तर, यिनी के भा हुन् ? बस्न त यिनी बस्दै बस्दैनन् तर बोल्नचाहिँ बोलिरहन्छन्, प्याच्च प्याच्च । चीनबाट पहाडै पहाडको बाटो हुँदै चुच्चे रेल बोलाएर पशुपति परिक्रमा गराउँदै पोखरा घुमाएर लुम्बिनी पठाइदिन्छु भन्छन् । खानी खन्छु, देशभित्रै पेट्रोल उत्पादन गर्छु, ग्यास निकाल्छु भन्छन् । हिन्द महासागरमा नेपाली जहाज कुदाउँछु भन्छन् । मुख छ भन्दैमा यसरी मनलागी बोल्न पाइन्छ ? यस्ता कुरा गर्न अरू नेताहरूलाई नआउने हो र !

तिनै कुरालाई अलिक कलात्मक पाराले, नबुझिने भाषामा घुमाएर भनेको भए हुँदैनथ्यो ? प्रयास गर्यो भने नेपालमा चीन वा भारतबाट रेल ल्याउन सकिन्छ भनेको भए कति मीठो सुनिन्थ्यो । नेपालका विभिन्न ठाउँमा तेलका खानीहरू भएको अनुमान भएकाले त्यसको खोजी गरेर उत्खननका लागि प्रयास गरिनेछ भनेको भए तिनका पिताजीको के जान्थ्यो ? केही वर्षमा, छिट्टै अथवा आगामी दिनमा यसो यसो गरेर मुलुकलाई विकासको गतिमा अगाडि बढाइनेछ भनेको भए पनि त सहन सकिन्थ्यो । ठाडो भाखामा तीन महिनामै, ६ महिनामै, एक वर्षभित्रमा, दुई वर्षभित्रमा, यो ल्याउँछु, त्यो गर्छु, यो बनाउँछु, त्यो खन्छु भनेर भकाभक कामै थालिहाल्ने कुरा गरेपछि यिनका पुतला नपोलेर भो ? हामीलाई उखानटुक्कामा लटपट्याएर साँच्चिकै कामै गर्न थाले भने अग्रज प्रधानमन्त्रीहरूको इतिहास के हुन्छ ? भविष्यमा बन्ने प्रधानमन्त्रीहरूको नाम के हुन्छ ? देश बनाउने भन्दैमा सहकर्मीहरूको इतिहास र भविष्यलाई नै संकटमा पार्ने संदिग्ध गतिविधि गर्न थालेपछि समारोह नै आयोजना गरेर एउटा विद्यार्थी संगठनले यिनलाई उडाउन ठूलो प्रयास गर्यो । यिनलाई अझै उडाउनुपर्छ ।

कांग्रेसका युवा जमातले बालुवाटारमै समारोह आयोजना गरेर प्रधानमन्त्रीलाई खुइल्याउन गरेको यत्न साह्रै प्रशंसनीय छ तर यसमा उनीहरूले अलि भाँती पुर्याएनन् । यस्तो अपरिपक्व विरोधले ओलीलाई लडाउन सकिँदैन । युवाहरूले ओलीलाई उडाउन बनाएको राष्ट्रिय झन्डा र ओलीको आकर्षक तस्बिर अंकित स्वचालित नमुना पानीजहाजले बालुवाटार अगाडि धेरै फन्को लगायो । रिमोट कन्ट्रोलबाटै नियन्त्रित पानी जहाजले बालुवाटार अगाडि यसरी फन्को लगाएपछि ओली उल्टै कति रमाए होलान् ! उनलाई मानवरहित जहाज नै हिन्द महासागरमा चलाउन थप प्रेरणा मिलेन त यसबाट ? त्यो नमुना जहाज चलाउन खोज्दा टसको मस नहुनुपथ्र्यो । घचेटेर चलाउन खोज्दा पनि जहाज नचटपटाएको भए पो ओलीलाई उडाउने कार्यक्रम सार्थक हुन्थ्यो । विद्यार्थीहरूले त उल्टो हौसला पो दिए ओलीलाई ।
विद्यार्थीहरूले नारा लगाउन पनि जानेनन् । केपी ओली चाहिँदैन त भने तर उनीहरूले नेपालमा रेल चाहिँदैन, जहाज चलाउन पाइँदैन, पेट्रोलको खोजी कार्य बन्द गर, ग्यास पत्ता नलागोस्, खानी खन्न दिँदैनौँ, भनेनन् । छिमेकीसँग झुक्नै पर्छ, टाउको ठड्याउने कोसिस मुर्दावाद, देश बनाउन पाइँदैन, स्वदेशी चामल खाइँदैन, ओलीका सपना खारेज गर इत्यादि पनि भनेनन् । त्यस्ता नारा लगाएको भए पो ओली मात्र होइन, उनका सपना पनि उड्थे । प्रधानमन्त्रीबाट उडे पनि उनका सपना उडेनन् भने हामीले उनलाई उडाएको के अर्थ ? त्यसैले आइन्दा अलि भाँती पुर्याएर ओलीलाई उडाउने अभियान अघि बढोस् ।
शुभकामना !

नेपाल, जेष्ठ २०, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे