साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनौठो चटक

Nepal Telecom ad

उहिलेका कुरा खुइलिए भन्दै आधुनिकताले जरो गाडेर हालीमुहाली मच्चाएको आजको अर्धवैज्ञानिक युगमा अच्पिल्टो जीवन बिताएर फोहोरको डङ्गुरमाथि बङ्गुर निदाए झैँ घुरिरहेका हाम्रा दानवीर, दयावीर, चाकरीवीर, चाप्लुसीवीर, ज्ञानबहादुर, ध्यानबहादुरका साथमा धनकुमारी, मनकुमारी, तनकुमारी, जनकुमारीहरूको लाम लागेको देखेर अत्यन्त अचम्मित हुँदै मध्यसडकमा दिनदहाडै हिँडेको साँढेसँग ठोक्किएर पहलमान सिंहका करङ क¥याककुरुक भएपछि एक पटक खेल जगत्मा ठुलै भुइँचालो आएथ्यो । बुद्धि विवेक हराएर भदौरे रागा झैँ आइँ गर्दै देशको अस्मितामाथि दाइँ गर्न पल्किएका द्रव्य पिसाचहरूको अर्थमोहमा डुबेकी मेरी जननी अस्मिता जोगाउन गुहार मागिरहेछिन् । अफसोच के छ भने यहाँका बलबहादुर अब हुतिहारा नामर्द भएका छन्, पाखुरी भएर पनि निकम्मा छन् । सबै रामहरू हराम भएका छन् केवल हेर्छन् मात्र टुलुटुलु ।

निरुद्देश्य आँखाले जत्तिसुकै नियालेर हेरे पनि लक्ष्य देख्न सक्दैनन् । त्यस्ता आँखाले केवल स्वार्थको राम मात्र देखिरहेका हुन्छन् । अनावश्यक तर्कभित्र घोत्लिएका अलमस्तीका आनन्दमा नाचिरहेका द्रव्य पिसाचहरू सधैँ कुुकुरले हड्डीमा लुछाचुँडी गरे झैँ आमाको अस्मिता लुछेर आनन्दमा रमाइरहेका छन् केवल आफू मात्र बाँच्ने सर्तमा आज मात्र बाँच्ने सर्तमा मात्र अहिलेका लागि केवल आँखा भरिभरि स्वर्ग खोज्दै सबैको गाँस खोसेर एक्लै पिउँदै छन् हाम्रो भविष्य स्वाट्टस्वाट्ट पारेर ।

अझै पनि भागवण्डा नपुगेर बिच बाटोमा भुकिरहेछन्, डाँडाकाँडा थर्काउँदै कराउँदा कराउँदा घोक्रो सुकेर धारामा पानीको खोजीमा गएका धाराको पानी सुकेर टुटी मात्र भेटेपछि बल्ल आफैँले खनेका खाल्डामा कतै आफैँ त परिनँ भनेर झल्यास्स ब्युँझिएर दबेको स्वरमा दोबाटोमा बसेर जति कुर्लिए पनि कसैले सुन्ने होइन । खै सुनेर पनि के चाहिँ लछारपाटो लाग्यो भन्या हँ । बाह्र वर्षमा त उन्यू पनि फुल्छ रे तर यहाँ त भएको डाडुपन्यूसमेत भड्डु चाट्न नपाएर भाडाका टट्टु झैँ भएका बुद्धिभ्रष्टहरू हिजोको अमरावतीको नन्दन वनको सयर आज खालि छुट्टै बयर घारीमा दगुर्नुपर्दा पनि पश्चात्ताप गर्न भ्याएका छैनन् ।

उखानै छ नि नपाउनेले केरा पायो बोक्रैसँग खायो । वास्तवमा हाम्रा दूरदर्शी राजा पृथ्वीनारायण शाहको दिव्योपदेश आज चरितार्थ भएको छ । ‘भाइ फुटे गवाँर लुटे’ साँच्चै नि हाम्रा नेता गणमा अलिकति पनि राष्ट्रप्रति चिन्ता भएको भए यसरी सिसा झैँ चर्किएर टुक्रा टुक्रा भएर नफुटी आपसमा जुटेर देश निर्माणमा लागेका भए आजको यो अवस्था आउने नै थिएन । अरू देशका इतिहास महत्त्वपूर्ण त्याग, तपस्या र राष्ट्रप्रेमका कथाले भरिन्छन् । हाम्रो त बाबै कर्मै खोटो । त्यसैले यहाँको इतिहास, नातावाद, कृपावाद स्वार्थ, भ्रष्टाचार जस्ता पुरुषार्थभित्र झाँगिएका हुन्छन् । कसको पालामा केकति विकास भयो भन्नुभन्दा कसको पालमा कति रकम विदेशतिर निजी खातामा निकास भयो, कसले कति वटा महल ठड्यायो, विदेशतिर सम्पत्ति कुम्ल्याएर कुलेलम ठोक्ने चाहिँ आदर्श भयो । यसै महात्म्यअन्तर्गत टुटफुटको दोहोरीमा दाह्री अङ्कल र मास्टरजीले हाम्रा उक्सिजा, गइजा र खाइजा अङ्कलहरूलाई रातदिन पम्प लगाउन थालेपछि त्यही पम्प बढी भएर अत्यन्त ठुलो आवाजसहित त्यो विस्फोट भयो । त्यसभित्रका विकृति, विसङ्गति छताछुल्ल भएर पोखिए ।

पोखिएको मात्रै कहाँ हो र, अब त त्यसको आवाजले कतिका कानका जाली फुटे, कति नालीमुनि उँधोमुन्टो लगाएर वाग्मतीको स्वच्छ जल पिएर शालिग्राम बन्ने सपना देख्न थाले, कतिको आफ्नै भुँडीले किचेर कन्तबिजोग भई डोजर ल्याएर बल्ल बल्ल पल्टाउन सफल भए । कोही अन्धा भए त कोही अपाङ्ग नै भए । कोही धारा देख्ने पानी नदेख्ने, कोही पानी चाहिँ देख्ने तर धारा नदेख्ने भएर फेरि आपसमा कुस्ती खेल्न थाले । यसरी कुस्ती खेल्दा कसैको जिब्रो दुई चिरा भएर सर्पको जस्तो भएछ । त्यसैले क्षण क्षणमै बोलीमा परिवर्तन हुन थाल्यो । कोही चाहिँ हिजोको अकुत प्रसादले भुँडी ढाडिएर कहिले सुखी गाउँ, कहिले हाँडी गाउँ गर्दै ढ्याउढ्याउ गर्न थाले ।

यसै बिचमा एउटा चटकीले बडो अनौठो चटक देखाएछ । चटकी भनेपछि हुरुक्कै हुने हाम्रा मित्रहरू यसको चर्तिकला हेर्न जय नेपाल सिनेमा हलतिर दौडिएछन् । त्यसै बेला अर्को अनौठो जादुगर त्यही बाटो आफ्नो आधुनिक जादु देखाउँदै हरियो भेनमा हुँइकिएछ । त्यसले रुखका चमेरा र उडिरहेका ढुकुर मारेर भुस्याहा कुकुरलाई बाँड्दै अनौठो जादु देखाउँदो रहेछ । जब उसले हावामा उडिरहेको चरालाई निसाना बनायो तब सबैले अत्तालिँदै लौ हवाई फायर भयो भनेछन् । त्यस बेला पहरामा खटिएका आदरणीय मित्रहरूले ध्यान केन्द्रित भई आकाशतिर हेरेको बेला त्यो दुले सिकारी लुसुक्क आयो त्यो गाडी बिरालाको चालमा लिएर अलप भएपछि पो सबैले त्यसको खोजतलास गर्न थालेछन् । वरिपरि होहल्ला सुरु भएपछि अब चाहिँ आकाशबाट केही पनि झर्दैन भन्ने निश्चित भएपछि बाटामा पहरा बसेका सबै मित्रहरूले आफ्नो निसाना तल झारे तर हात्ती आयो, हात्ती आयो फुस्सा भने झैँ बिचराहरूले जादुगरको अनौठो जादु हेर्न पाएनछन् ।

यसरी कोही जादुगर, कोही चटकी, कोही स्वार्थमा चिप्लेटी खेल्दै देश चलाउने, कोही कमिसनको निसापमा हिसाप मिलाउँदै केश फुलाउने, कोही धारातिर, कोही पानीतिर, कोही ओखलतिर, कोही मानीतिर भएर उछिट्टिएको देखेपछि अब तमासा हेरेर बस्नुभन्दा बरु फेरि कि अर्को जादु गर्नुपर्छ कि त अब भ्यागुता झर्ने धाराबाट शुद्ध पानी झर्नुपर्छ भन्ने डेडअक्कली काकाहरूको आजभोलि दिनमा भोक न रातमा निद्रा भएको देखेर मलाई साह्रै टिठ लाग्न थालेको छ तर के गर्नु, हाम्रा बाजे भन्नुहुन्थ्यो बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले नि उस्ताको उस्तै भने झैँ हाम्रा काकाहरू अझै पनि स्वार्थरहित जुटको खेतीमा रमाउन सक्नुभएको छैन ।

हैन, हाम्रो जस्तो बुद्ध जन्मेको देशमै बुद्धिको अनिकाल लाग्न थालेपछि अरुको हालत के होला, यो पाठक स्वयंलाई खोजीको विषय भएको छ । कतै यसो विचार गर्दा यो तिन करोड देवताले रक्षा गरेको देवस्थलमा हुक्का तानेर तुक्का मिलाउँदै मुक्का हानाहान गरेर फुक्का भएकाहरू सधैँ परहित त्यागेर स्वहितमा निर्लिप्त भएर पजेरो लुकाउने गोजेरो हल्लाउँदै हिँडेपछि अब दिउँसै सपना नदेखेर के देख्ने त ?

झापा, हाल  : काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x