साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस्टे – हैँसे !

Nepal Telecom ad

होस्टे – हैँसे !
होस्टे – हैँसे !
होस्टे – हैँसे !
तान केटा हो – हैँसे !
जोड लगा के – हैँसे !
निस्कनै लाग्यो – हैँसे !
होस्टे – हैँसे !
होस्टे – हैँसे !
आधारातमा कतै टाढाबाट आएको यस्तो अनौठो आवाजले मेरो निन्द्रा भंग भयो । धेरै वर्षपछि यस्तो रमाइलो आवाज सुन्न पाउँदा आनन्द लाग्यो । गाउँमा ठूलठूला काठका मूढाहरू तान्दा, घरका खम्बाहरू गाड्दा, हिलोमा फसेको गोरु वा राँगा गाडा बाहिर निकाल्दा, ठूलठूला ढुङ्गाहरू पल्टाउँदा अथवा झोलुङ्गे पुलका लट्ठाहरू तान्दा धेरै मान्छेहरू भेला भएर यसैगरी होस्टे, हैँसे भन्थे । त्यस्ता संगठित र सामूहिक काममा यस्ता उत्साहपूर्ण नारा लगाउँदै काम गरेको देख्ता त्यसैत्यसै मन रमाउँथ्यो ।
आज अचानक सहरको माझमा त्यो पनि मध्यरातमा यस्तो आवाज आउँदा अचम्म लागेर मैले ध्यानपूर्वक सुनेँ । टाढाबाट त्यो आवाज निकैबेरसम्म आयो र पछि हाहा होहो गरेको, हाँसेको, रमाएको होहल्ला सुनियो । मानौं, अवरोधका रूपमा सडकमा लमतन्न परेको ढुङ्गो पल्टियो अथवा हिलोमा जाकिएको गाडा बाहिर निस्कियो अथवा घरको मूल खम्बा उठ्यो अथवा झोलुङ्गे पुलको अन्तिम लट्ठा पनि आइपुग्यो । तर, यो त राजधानी त्यो पनि सहरको मुटु रत्नपार्क क्षेत्रबाट आएको आवाज थियो । मलाई लाग्यो पक्कै पनि ठूलै कुरा ठेलिएको, तानिएको, उठाइएको वा पल्टाइएको हुनुपर्छ । सके राष्ट्रपति वा प्रधामन्त्रीले नै रबिन काटेर उद्घाटन भएको कुनै कार्यक्रम हो कि ! कौतूहलले रातभर निन्द्रा लागेन ।
के के न होला भनेर एकाबिहानै पत्रपत्रिकाका समाचारहरू हेरेँ । आच्या ! केही न केही पो रहेछ । केही पत्रिकाहरूले भुसुनालाई हेलिकप्टर नै बनाउँलाझैँ गरी घटनालाई बढाइचढाई गरेर समाचार छापेको भए पनि कुरा कुनै नौलो र अनौठो होइन रहेछ । समान्य घटना । नेपाल विद्युत् प्राधिकरणको आँगनबाट एउटा गाडीलाई बाहिर निकालिएको रहेछ । प्रहरीको एक टुकडीले आफ्नो विभागका पूर्वविभागीय मन्त्री र हाम्रा(मेरा त अति नै प्रिय) एक जना वरिष्ठ नेताको सेवाका लागि त्यो गाडी त्यसरी आधारातमा घिसारेका रहेछन् । थोत्रो, त्यो पनि हावा खुस्केको गाडी । जवानहरूलाई उत्साह थप्न स्वयं नेताजी नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो भन्ने हास्यास्पद र अनपत्यारलिो समाचार पनि लेखेछन् केही पत्रिकाले । त्यस्ता निडर र हकी स्वभावका हाम्रा नेताले त्यसरी आधा रातमा लुकीछिपी नाथे १५-२० लाख रुपियाँ दाम पर्ने हावा खुस्किएको गाडी आफैँ उपस्थित भएर घिसार्नु भो होला भन्ने कुरामा म उहाँको समर्थक वा शुभचिन्तक मात्रै होइन, अन्धभक्तसमेत भएको नाताले कत्ति पनि विश्वास गरिन, कहिल्यै गर्ने पनि छैन ।
कुरो बुझ्दा प्राधिकरणका केही उरन्ठ्यौला कर्मचारीले त्यो गाडी नेताजीका ड्राइभरसँग लुटेर हावा खुस्काएर राखेका रहेछन् । म पूर्वमन्त्री भएको भए नेताले चढेको गाडी खोस्ने प्राधिकरणका कर्मचारीलाई लुटपाटको अभियोगमा कारबाही चलाउने थिएँ । उहाँको उदार मन : माफ गर्नुभएछ । ठूला मान्छेसँग जोरी खोज्ने कर्मचारीलाई बेलाबेला मन्त्रीजी-नेताजीहरूले थप्पड हान्ने, लात्तीले भकुर्ने, ट्वाइलेटमा थुन्ने इत्यादि गर्ने गरेको कुरा प्राधिकरणका कर्मचारीलाई थाहा थिएन कि क्या हो ! थाहा भएको भए त्यस्तो आँट नगर्नुपर्ने हो । सिङ्गो मुलुकको व्यवस्थापन गर्नुपर्ने दायित्व बोकेका नेताहरूले जे गर्छन्, देशको भलाइकै लागि गर्छन् भन्ने तिनीहरूले बुझ्नुपर्ने हो । आज पो उहाँ नेता हुनुहुन्छ । भोलि प्रधानमन्त्री वा जलस्रोतमन्त्री हुनुभयो भने विद्युत् प्राधिकरणका सबै गाडी उहाँकै हुने हुन् क्यारे ! त्यसबेला पनि आखिर उहाँले विद्युत्कै गाडी चढ्ने हो । पछि पनि आफैँले खान पाइने लड्डू अगाडि नै खाँदा के फरक पर्‍यो ? आफ्नै गाडी आफैँले तान्नु कुनै अचम्मको विषय नै भएन । त्यो पनि प्राधिकरणका ग्राहकहरूलाई बाधा होला भनेर आधारातमा होस्टे – हैँसे गरेर कत्रो सावधानी अपनाइएको छ । यसरी हेर्दा यो घटना निन्दनीय होइन, सराहनीय पो छ ।
मन्त्रालयका, विभागका, कार्यालयका, संस्थानहरूका, कम्पनीहरूका यस्ता नाथे सवारी साधनहरू वर्तमान, भूतपूर्व तथा परापूर्वमन्त्रीहरूले, मन्त्री-प्रधानमन्त्रीका छोराहरूले, छोराका साथीहरूले, नेताहरूले, नेताका पियनहरूले, पियनका पत्नीहरूले, युनियनका लिडरहरूले, भूतपूर्व लिडरहरूले कति तानेर लगेका छन् कति । सवारीसाधन मात्रै होइन, त्यसलाई चाहिने सम्पूर्ण खुराक सरकारकै ढुकुटीबाट खुवाएर मस्तीले कुदाइरहेका छन् । यस्ता कुराहरू नदेख्ने यी पत्रपत्रिकाहरूले हाम्रा नेताले चढेको एउटा गाडीमाथि किन आँखा लगाएका होलान् ? कति नेताले भन्सार छलेर भित्रिएका गाडी दौडाइरहेका छन् । ठूलठूला पार्टीका बडेबडे नेताहरू चोरेका, लुटेका गाडीमा चढेर ठाँटका साथ माला लगाएर घुमिरहेका छन् । कति नेता-कार्यकर्ताहरूले सरकारका, संघसंस्थाका वा व्यापारीहरूबाट जबरजस्ती खोसेर त्यस्ता सवारी साधन आफ्नै पिताको सम्पत्ति बनाएका छन् । जमिनमा गुड्नेको मात्रै कुरा छैन, आकाशमा उड्ने सवारी साधनमा पनि कति नेताहरूले मस्ती मारेका छन् । ती सबैले गर्न हुने काम हाम्रै नेताले मात्र गर्न नहुने भन्ने के छ ? अरू नेताले जनताका तबेलामा बाँधेका घोडा तानेर चढ्न हुने, हाम्रा नेताले सरकारी स्वामित्वको संस्थाको गाडी चढ्न नहुने ? अरू नेताले गाउँलेका टाट्नामा बाँधेका खसीबोका घिसार्न हुने हाम्रा नेताले हावा खुस्केको गाडी घिसार्न नहुने ? अरू नेताले गर्न हुने हाम्रा नेताले गर्न नहुने ? किन नहुने ? तान्नूस् नेताज्यू तान्नूस् । जे जे भेटिन्छ तान्नूस् । परेको बेहोर्ने हामी नेपाली जनता छँदैछौँ । निर्धक्क भएर तान्नूस् ।
होस्टे – हैँसे !
होस्टे – हैँसे !

सिनामंगल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x