सुलसुलेप्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल
काठमाडौँ, ४ असार । देशका साहित्यकारहरूले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ खेलेका छन् ।
शनिबार भएको खेलमा लुम्बिनी साहित्य टोलीले सगरमाथा साहित्य टोलीलाई २–१ गोलअन्तरले पराजित ग¥यो । लुम्बिनीका तर्फबाट कप्तान जसध्वज गुरुङले र माधव ऐरीले समान एक÷एक गोल गर्नुभएको थियो भने सगरमाथाका विपुल पाण्डेले एक गोल फर्काउनुभयो । भारी वर्षापछि मैदान हिलाम्मे भए पनि निर्धारित ९० मिनेटको खेल रोचक र प्रतिस्पर्धात्मक भएको थियो ।
मैत्रीपूर्ण खेल भए पनि दुवै पक्षका खेलाडी जितकै लागि खेलेका देखिन्थे । दर्शकको बाक्लो उपस्थिति र हुटिङले खेल अन्तिमसम्म रोचक भयो । खेलाडीहरू धेरैचोटि चिप्लिए पनि निकै उत्साहका साथ गोल हान्न र फर्काउन उनीहरूले गरेको घम्साघम्सी हेर्न लायक थियो ।
संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका ‘संसाक’को आयोजनामा भएको खेलमा दुई टोलीमा गरी करिब ५० साहित्यकारको सहभागिता थियो जसअन्तर्गत सगरमाथा टोलीको कप्तानमा डा शैलेन्दुप्रकाश नेपाल हुनुहुन्थ्यो भने अन्य खेलाडीमा राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाल, उमेश पाण्डे, राधेश्याम लेकाली, हरिप्रसाद पाण्डेय, मणिराज सिंह, सन्ध्या पहाडी, उपमा आचार्य, मुकुन्द न्यौपाने, रामप्रसाद पन्त, बालिका गिरी, जनार्दन अधिकारी, लक्ष्मी उप्रेती थिए ।
त्यस्तै लुम्बिनीका खेलाडीमा कप्तान गुरुङसँगै गुप्तबहादुर श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, रत्न अनामणि श्रेष्ठ, भाग्यशाली अधिकारी, बाबा बस्नेत, राधा कार्की, यशोदा अधिकारी, शशि थापा, रामबाबु सुवेदी, कृष्ण प्रसाईँँ, उदेश पाण्डे, सुलोचना मानन्धर आदि थिए ।
खेलको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले यस्ता खेल आयोजनाले साहित्यकारको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘जसले जिते पनि साहित्यले जित्ने हो । बारम्बार यस्तै खेल आयोजना गरेर तपाईँहरू स्वस्थ हुनुहोस् ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको उत्थान, आपसी सम्बन्ध वृद्धि र मनोरञ्जनका लागि यस्ता खेल आयोजना फलदायी हुने बताउनुभयो । साहित्यकारबीच भएको यस्तो कार्यक्रम सम्भवतः नेपालमै पहिलोपटक आयोजना गरिएको हो ।
सहभागीहरूलाई प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरे र सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले मायाको चिनो प्रदान गर्नुभएको थियो । खेलकुद प्रतियोगिता मूल समारोह समितिका संयोजकमा डा शैलेन्दुप्रकाश नेपाल र कार्यक्रम संयोजकमा ‘संसाक’ पाक्षिकका प्रकाशक एवं सम्पादक उमेश पाण्डे हुनुहुन्थ्यो ।
Subscribe
Login
0 Comments
Oldest












































