केन्द्राध्यक्षको बयान
माओवादी केन्द्राध्यक्ष कमरेड प्रचण्डले एक कार्यकर्ता भेलामा ‘म साह्रै बिग्रिएछु’ भनेको सुन्दा कार्यकर्ता एकछिन त आश्चर्यचकित भएछन् । झुक्किएर उनको मुुखबाट यस्तो कुरा फुत्किएको हो कि भनेर उनीहरूले खासखुस गर्दा गर्दै प्रचण्ड भटाभट आफू बिग्रिएको दलिल पेस गर्दै गए–
‘म साह्रै बिग्रिएछु । पार्टीलाई पनि बिगारेछु । युद्धका समयमा पनि तपाईं कार्यकर्ताले सधैँ सुरक्षा घेरामा राखेर, ज्यानै दिएर हामी नेतालाई जोगाउनु भयो । के के न भइयो भन्ने अनुभूति भएछ कि क्या हो, त्यही बेलादेखि नै म बिग्रन थालेछु । म हौसिन नजान्ने मान्छे, अलिकति कसैले पम्प लगायो कि हसस्स फुलिहाल्ने । यो हौसिने बानीले पनि म बिग्रिएछु ।
तपाईंहरूले मलाई चाहिने भन्दा बढ्ता महत्व दिएर पनि बिगार्नु भएछ । तपाईंहरूले त्यत्रो ठूलो क्रान्तिको कमान्डर बनाउनुभयो, आजीवन पार्टीको अध्यक्ष बनाउनुभयो । हुँदा हुँदा तपाईंहरूले प्रचण्डपथको थेगिनसक्नुको पगरी लगाइदिनुभयो । मेरो नाममा एउटा नयाँ विचारधारै स्थापित हुन लाग्दा म कति हौसिएँ कति ! ठाउँ ठाउँमा जाँदा कार्यकर्ताले लगाइदिएका २०, ३०, ५० किलोका माला र खादाले थिच्दा मेरो मन कति भड्कियो होला ? कतै आफू अर्के ग्रहबाट आएको पो हुँ कि जस्तो भएछ । तपाईंहरूले मेरो देवत्वकरण नै गर्नुभयो । त्यसपछि मैले भुइँ छाडेछु ।
पहिलो संविधानसभाको नतिजाले त झन् मलाई कहाँ पु¥यायो कहाँ, कुरै नगरौँ । मेरा त आँखा, दिमाग सबै बन्दजस्तै भएछन् । शरीरमा देउता चढेजस्तो भएछ । म त कता कता आकाशमा उड्न थालेछु । माथिबाट यसो हेर्दा कांग्रेस र एमाले मात्र होइन, बाबुराम, मातृका, बादल र वैद्यजीहरूलाई पनि ससाना भुसुनाजस्ता देख्न थालेछु । गिरिजा, देउवा, माधव नेपालहरू कता बिलाए कता । ओलीजीको त मलाई नाम पनि याद भएन त्यसबेला । त्यो अन्ध उडानले म झन् बिग्रिएँछु ।
मलाई बिगारेर ध्वस्तै पार्न खाजेको सञ्चार माध्यमहरूले पनि हो । देश विदेशका सञ्चारमाध्यमहरू कसरी मेरा पछि लागेका थिए, तपाईंहरूलाई थाहै छ । एउटा पत्रिकाले एकै अंकमा मेरा पचासवटासम्म फोटो छापे । टेलिभिजनका जुन च्यानल खोल्नोस्, मेरै झर्झराउँदो अनुहार । जुनसुकै रेडियो बजाउनूस्, मै बजिराखेको । हुँदा हुँदा म शौचालयमा छिर्दा पनि पत्रकारहरू बाहिर ढोकामा कान थापेर बस्ने र भोलिपल्टका समाचारमा ‘प्रचण्डज्यूको पेट गडबड’ भनेर समाचार लेख्नेसम्म गरे । यस्तो भएपछि मान्छेको मन बिग्रिँदैन ? यसरी म बिग्रिँदै गएँ, बिग्रिँदै गएँ । तर, दोस्रो संविधानसभाको निर्वाचन परिणामले ड्याङ्ग्रयाङ्ग भुइँमा पछारेपछि मैले आफू बिग्रिएको कुरा छ्याङ्ग थाहा पाएँ र त्यसपछि म बिस्तारै सुध्रिन थालेको हुँ । देखिहाल्नुभयो, अहिले म धमाधम सुध्रिँदैछु ।’
केन्द्राध्यक्षका कुरा सुनेर कार्यकर्ताले खूब ताली पिटेछन् । तर, यो ताली पिट्ने वा खुसी हुने कुरा होइन कमरेडहरू ! प्रचण्डजीका कुरा ज्यादै अनौठा र अस्वाभाविक छन् । कुनै नेताले म बिग्रिएछु भनेर सार्वजनिक रूपमा घोषणा गर्छ भने सम्झनूस् त्यो नेता अबचाहिँ बिग्रन थालेछ । नेपाली नेताले आजसम्म आफूले गरेका काममा पश्चात्ताप गरेको कहिल्यै कसैले सुनेको, देखेको छ ? छैन । उसो भए कमरेड प्रचण्ड सुध्रिन होइन, बिग्रिन थालेका हुन् । कार्यकर्तालाई चेतना भया !
नेपाल, असार १, २०७३