सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बोस्टनमा सुनिए डा. गौतम र अधिकारी

Nepal Telecom ad

एउटा छुट्टै माहौल । मन्चमा एकएक दर्जन कविता वाचन गर्न तयार डा. शिव गौतम र दिनेश अधिकारी । डा. गौतम पत्नी साहित्यकार भारती गौतमसहित बोस्टन छोडेर अमेरिकाको अर्को राज्य फ्लोरिडा जान तम्तयार रहेका, अनि करिव एक महिना अमेरिका भ्रमणको उत्तरार्धमा रहेका जीवन संगिनी उषा अधिकारीसहितका दिनेश अधिकारी । संयोग, बोस्टनको सिर्जना उत्सवको ३६ औ शृंखला ।

पहिले नै मञ्चको अग्रभागमा रहेका दिनेश अधिकारीलाई डा. शिव गौतमले खादा लगाएर स्वागत गरे भने डा. शिव गौतमलाई दिनेशले । त्यति मात्रै होइन भारतीलाई उषाले खादा लगाई स्वागत गरिन् भने उषालाई भारतीले । र सुरु भयो उपस्थित साहित्यकार र साहित्य अनुरागी सबै सभापति भएको उत्सव ।

चर्चित सारंगी वादक श्याम नेपालीले हालै दिवंगत भएका संगीतकर्मी अम्बर गुरुङको सम्मानमा एउटा संगीत प्रस्तुति पेश गरे भने संगीतकर्मी दिपक मुखियाले उनलाई साथ दिए । साहित्यकार हरि थापाले सबैलाई औपचारिक स्वागत गरेपछि कार्यक्रम संयोजक गोवर्धन पूजाले पहिलो चरणमा आधा दर्जन कविता वाचन गर्न बोलाए साहित्यकार अधिकारीलाई ।

माटो र मुटुको सिर्जना वाचन गरेर दिनेशले सबैको मन जितेपछि डा. गौतमले माया र मस्तिस्कको कविताको रसास्वादन गराए । काव्य सिर्जनामा मदन पुरस्कार पाउने गीतकार एवं कवि दिनेश अधिकारी र बोस्टनको हार्डवर्ड विश्वविद्यालयमा नेपालीको उपस्थिति देखाउँदै आएका प्रयोगधर्मी कविता सिर्जनारत कवि डा. गौतम । दुबैले सिर्जना उत्सवको उत्सवमा नयाँ अनुभव संगाले । दुबैले मुक्त कण्ठले आयोजकको प्रसंशा मात्रै गरेनन् यस किसिमको कार्यक्रमले लेखन परिमार्जनमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे ।

नेपाल फर्केर पनि बोस्टनको कार्यक्रम नबिर्सने बचन दिए अधिकारीले भने डाक्टर गौतमले आफूले सिर्जना उत्सवलाई सधैं महत्वपूर्ण सिर्जना मंचको रुपमा लिने गरेको बताए । गौतमले भने– मैले सिर्जना उत्सवमा नै पहिलो पटक प्रयोगधर्मी कविता वाचन गरेँ र निरन्तरता दिँदै आएको पनि छु ।

कार्यक्रमको मध्य भागमा दिनेश राजभण्डारी, अनु शाह, लालगोपाल सुवेदी, अग्नि पराजुली, हरि काफ्ले, धन लेप्चा, सुशील नेपाल, लगायतले सिर्जना वाचन गरेपछि फेरि डा. गौतम र अधिकारीले बाँकी आधा दर्जन सिर्जना वाचन गरे । दिनेश पत्नी उषाले संक्षिप्त मन्तव्य दिइन् भने दीपा राई पुनले आफ्नो सिर्जना र अस्वस्थताका कारण अनुपस्थित ममता कर्माचार्यको कविता सुनाइन् । कार्यक्रमको उतरार्धमा हरि थापा र गोवर्धन पूजाले कविता सुनाए ।

सभापति मध्येका एक मन्चमा आसिन भारती गौतमलाई उद्घोषकले सिर्जना वाचन, मन्तव्य र सभा बिसर्जन गर्न अनुरोध गरेपछि सुरु भएको थियो रात्री भोज । कार्यक्रम समाप्ति पछि अधिकांशको मुखबाट कार्यक्रमको प्रसंशा हुदै थियो– यस्तो पो कार्यक्रम, छुट्टै स्वाद आयो ।

सिर्जना उत्सवको ३७ औँ शृङ्खला साहित्यकार एलबी एरको संयोजनमा जुलाइको अन्तिम सातामा हुने भएको छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad