जोईपोइ को ठू??

एकदिन पण्डित्याइँ गर्न बिहानै निस्किएँ । बोलाएको समयभन्दा केही ढिलो गरी निस्किएको म, हतारहतार पूजा सामग्री तयार भो भन्दै घरभित्र छिरेँ । के को तयारी हुनु पूजा सामग्रीको । बिस्तारामै तँ र म को ठूलो हँ भन्दै कुस्ताकुस्ती चल्दै रहेछ । मलाई देख्नासाथ दुवैले हत्तपत्त उठेर नमस्ते गर्दै भन्न थाले– पण्डित बा, हामी दुई जनाको को ठूलो भन्ने विषयमा झगडा पर्न थालेको एक बीसे र दुई दिन भैसक्यो तर समाधान भएको छैन । अब हाम्रो झगडा मिलाउने जिम्मा हजुरलाई दिन्छाँै । तपाइँले नै भनिदिनोेस् हामीमध्ये को ठूलो ?’ कसलाई ठूलो बनाउने अलपत्र परेँ म । पत्नीलाई ठूलो बनाउने हो भने हाम्रो समाजले पचाउँदै पचाउँदैन । पतिलाई भनँौं भने जताततै आवाज नारीवादी छ, नारीको अवहेलना भो, अन्याय भो भन्छन् कि ? एकछिन विचार गरेँ । अनि एउटा जुक्ति निकालेर भने–आजको यो पूजामा अर्थात् हजुरहरूमध्ये आजको यो पुण्य दान दातव्य गर्दा बन्द खामभित्र जसले धेरै राख्नुहुन्छ त्यही नै ठूलो । सहमति भयो मेरो कुरामा । पूजा सकियो, उनीहरू नतिजा सुन्न आतुर थिए । पहिला पतिको खाम खोलँे, पचास वटा हात्ती भएको नोट रहेछ । प्रत्यक्षदर्शी पत्नीले पचास वटा हात्ती हेर्दाहेर्दै धन्नै बेहोस भइनन् । अनि पत्नीले दिएको खाम खोले । जम्मा चार वटा गैंडा भएको नोट रहेछ । ठूलो पतिलाई बनाए पनि धन्यवाद दुवैलाई दिएर म आफ्नो बाटो तताइहालँे ।

म समयको तालमा हिँड्ने मान्छे, मादलको तालमा नाच्ने मान्छे । एक समयको कुरा हो । नेपालकै नामी र दामी नायक र नायिकाको साँच्चैको बिहे भएछ । याने कि पपुलर हिरो हिरोइनको । उनीहरू बीच पनि को ठूलो भन्ने विषयमा निकै चर्काचर्की परेछ । विवाद समाधानको लागि मलाई नै गुहारे । बडो फसाद प¥यो । दुवै राम्रा चिटिक्कका छन्, कसलाई ठूलो मान्ने । मनमनले ईश्वरलाई सम्झेँ । हे प्रभो मलाई एउटा जुक्ति–बुद्धि सिकाइदेऊ । केही समयभित्रै दिमागमा एउटा आइडिया पलायो । संकोच त केही लागेको थियो तर डर नमानी ओकलिहालेँ । ठूलो बन्नको लागि म एउटा प्रश्न दुवैलाई सोध्छु, नढाँटीकन उत्तर दिनुहोला । उनीहरू मञ्जुर भए । तपाइँहरू दुवैले विवाह हुनुभन्दा पहिला जोईपोइ जस्तै गल्स फ्रेन्डस् र ब्वाई फ्रेन्डस् कति जना बनाउनुभयो ? दुवै जना लाजले राताराता भए । अनि लजाई लजाई पतिले भने पचास जना, पतिको कुरा सुने पछाडि पत्नीले पनि भनिन् पचास जना । दुवैको रि प¥यो, मलाई झन् समस्या थपियो । पुनः प्रश्न थपेँ । पचास–पचास जनाकै नाम बताउन सक्नुहुन्छ ? यसपाली भने पतिले टाउको हल्लाउँदै अँ हँ सबै त सक्दिन भने, अनि पत्नीले पचास जनाको नाम मुस्कुराउँदै फटाफट बताइन् । मलाई अलिअलि डर लागिरहेको थियो । कतै मेरो नाम पनि बताउने त होइनन् । धन्न त्यो पचासमा म परेनछु पचपन्न छपन्नतिर त कसो परिन होला र ? जे होस् यसपालि भने पत्नीले बाजी जितिन् ।

प्रत्येक मानिसलाई ठूलो हुने रहर कसलाई लाग्दैन र ? ठूलो बन्ने रहरमा नै मान्छेका इच्छाहरू अगाडि–अगाडि दौडन्छन् । यसै बीच दुवै सरकारी सेकेण्ड कलास अफिसर केटा र केटीको विवाह भएछ । अरुको जस्तै को ठूलो भन्ने झगडा तिनीहरूमा पनि बिहे भएको दिनमा नै सुरु भएछ । विषयवस्तुले एक हप्ता निकास नपाए पछि मलाई नै तात्तातो खवर आयो, झगडा मिलाउन आइदिन प¥यो हजुर । अब त म क्रमिक रुपमा झगडा मिलाउन अभ्यस्त बन्न थालिसकेको थिएँ । पुग्नासाथ प्रश्न बिच्छ्याउन थालिहालँे । तपाइँहरू दुवै अहिले यो नेपाल सरकारको गरिमामय पदमा आउँदासम्म अख्तियारको कारवाहीमा कतिपटक पर्नुभयो ? श्रीमतीले खुशी हुँदै भनिन्, जम्मा एक पटक सर, अनि श्रीमान्ले नि¥याउरो मुख लगाएर बताए– नौ पटक सर । अनि मैले भने मेरो न्यायको तराजुमा जो अख्तियारको नजरमा धेरै पटक परेको छ, उही नै ठूलो मान्छे हुन्छ भन्ने निर्णय सुनाएँ । श्रीमान खुसीले एक हात उफ्रिए भने श्रीमतीले पनि बाचा गरिन् अबको दुई वर्षभित्र तिमीलाई जितेर म नै ठूली मान्छे हुन्छु ।

हामी कठैबरा विचाराको नजरमा ठूलो मान्छे हुनु भनेको राम्रो मान्छे हुनु हो, राम्रो मान्छे हुनु भनेको असल मान्छे हुनु हो । ठूलो मान्छे बन्ने विभिन्न उपायहरू छन् । एक दिन बजारका प्रतिष्ठित व्यापारीे श्रीमान र श्रीमतीको झगडा परेछ को ठूलो ? झगडा मिलाउन ठूला–ठूला साहु महाजनहरू गएछन् तर पनि सकेनछन् । कतै सीप नलागेपछि मलाई खबर गरे । खबर हुनासाथ म आफ्नो कार्यक्षेत्रमा खटिइहालेँ । दुवै व्यापारी दम्पति कसलाई ठूलो मान्ने ? यसको लागि एकैछिनको समयले पुगेन मलाई । अनि दुवैलाई दुई ठाउँमा बराबर सामान राखिदिएँ । अनि भनँे पाँच दिन भित्र यी सबै सामान जसले बढी बेच्छ त्यही नै ठूलो । दुवै मञ्जुर भए । छैंटौँ दिन म त्यहीँ पुगँे र हिसाबकिताब गरेँ पतिले भन्दा पत्नीले दस लाख रुपैया बढी हात पारिछन् । मन नलागी–नलागी पत्नीलाई नै ठूली मान्छे घोषणा गरिदिएँ । पति पुर्पुरोमा हात राखेर पछुताउँदै थिए । मैले त्यति धेरै सामान उधारोमा नबेचेको भए वेश हुनेरहेछ ।

मानिसलाई भर्खरको हुँदा मात्र होइन बुढो हुँदासम्म पनि ठूलो हुने रहर कति पनि घटेको हुदैन । एउटा नाम चलेको प्रतिष्ठित, समाजमा निकै ख्याति कमाएका समाजसेवी दम्पति बस्दथे । उनीहरूको समाजसेवाको पगरी गुतेकै पनि दुई बीस र दश वर्ष नाघिसकेको थियो । मर्ने बेलामा हरियो काक्रो भने झैं एक–आपसमा को ठूलो हँ भन्ने होडबाजी चलेछ । बुढाबुढी नै भए पनि झगडा गर्ने सवालमा भर्खरकालाई पनि पछि पार्दारहेछन् । झगडाको छिनोफानो गर्ने जिम्मा मेरो थाप्लोमा आइलाग्यो । हे ‘भगवान् यसमा मलाई पार लगाइदेऊ’ भन्दै कुदिहालँे । मलाई देखेपछि बुढाबुढी धैर्य भए । मलाई पनि ढाडस मिल्यो । अनि भने हजुरहरूले समाजसेवाको जागिरबाट कति कति चल सम्पत्ति जोड्नुभयो ? एकमुष्ट हरहिसाब मलाई बताउनुप¥यो । श्रीमती समाजसेवीले भनिन्– सुन, चाँदी जोड्ने कि नजोड्ने बाबु ? मैले भनँे– जोड्ने आमा जोड्ने । एकाध घण्टामै हिसाबकिताबको अडिट भयो । सुन, चाँदी जोड्दा पनि श्रीमती समाजसेवी निकै पछाडि परिन् । बुढो श्रीमान समाजसेवीलाई नै ठूलो मान्छे घोषणा गरिदिएँ । बुढी रिसले आगो हुँदै धारे हात लाउँदै थिइन्– असती बुढो समाजसेवाको जागिर भएपछि पाप र धर्मको त अलिकति ख्याल गर्नुपथ्र्यो ?

यो ठूलो बन्ने कुरो पनि अचम्मको हँुदो रहेछ । ठाउँ न ठहर ठूलो हुने रहर कसलाई हुँदैन र ? एकजोडी दम्पति दुवै राजनीतिज्ञ फरक–फरक पार्टीका । मिलीजुली सरकार संयोगले दुवै जना उप–प्रधानमन्त्री भैहालेछन् । दुवै समान भए पछाडि को ठूलो भन्ने प्रतिस्पर्धा त्यहाँ पनि परेछ । देश बनाउने नेतानेत्रीहरू त्यसमा पनि दुवै उप–प्रधानमन्त्री, धेरै दिनसम्म झगडालाई सुचारु राख्न हुन्न भन्ने मनसायले म कुदिहालँे झगडा मिलाउने स्थानतिर । लाजै नमानी तँ भन्दा म ठूलो भन्दै हातै हालेर लडेका गाँठे । बडो अप्ठ्यारो पर्यो मलाई । साना बडाको झगडा त मिलाएकै थिएँ सबै । यी परे ठूलाबडा, फसाद भो, चिट्चिट् पसिना आउन थाल्यो तर पनि हिम्मत हार्न मेरो ब्रह्मले पनि दिएन । अलि अलि डराएको स्वरमा सोधेँ– तपाइँहरू दुवैले आफू उप–प्रधानमन्त्री भएपछि आ –आफ्नो पार्टीका कार्यकर्ता कति जनालाई एक पैसा पनि नलीइकन जागिरमा लगाई दिनुभयो ? दुवैले मुन्टो हल्लाए नेगेटिभ उत्तर आयो । पुनः प्रश्न थपेँ– त्यसो भए पैसो लिएर कति जनालाई लगाई दिनुभयो ? दुवै जनाले एकछिन सोचेजस्तो गरे । श्रीमान उप–प्रधानमन्त्रीले भने पाँच हजार जना हजुर भने । पालो आयो श्रीमती उप–प्रधानमन्त्रीको र भनिन् तीन हजार जना हजुर । मैले फेरि प्रश्न गरँे, श्रीमान् महोदयलाई ती सबैबाट टोटल रकम कति लिनुभयो ? डराई डराई बताए– १० करोड हजुर । अनि पुन श्रीमती उप–प्रधानमन्त्रीलाई सोही प्रश्न सोधेँ । खुसी हुँदै बताइन् १५ करोड हजुर । धन्य छ भन्दै, श्रीमती उप–प्रधानमन्त्रीलाई ठूलो मान्छेको पगरी गुताइदिएँ ।

अरुको कुरा काट्न हुन्न आफूलाई पनि त्यस्तै पर्छ भन्ने गर्थे । हो रहेछ पनि । भनाइको भोगाइ यथार्थ बनेर आउँदो रहेछ । नआओस् पनि कसरी ? मेरो आफ्नै नजिकैका छोरा–बुहारी । दुवै जना डाक्टर विदेशमा पढेर नेपालमा काम गर्ने । दुवै जना सर्जन, बुहारी किड्नीको, छोरो मुटुको । डाक्टर त्यसै त फुर्सद कम हुन्छ, त्यसमा पनि एक दिन दुबै बीच झगडा परेछ, को ठूलो हँ भन्ने । अपरेसन गर्ने डाक्टर नै झगडामा फसेपछाडि सारा बिरामीहरूको चिहिलविहिल भयो । तर पनि उनीहरूले आफ्नो जिद्दी छोडेनन् । यस्ता केसमा अरुका त धेरैको न्यायाधीस बनियो, आफूलाई आफ्नै पर्दा अलि अप्ठ्यारो पर्ने रहेछ तर पनि चुप लागेर बस्ने अवस्था रहेन । अनि दुवैलाई एउटा गोप्य कोठामा बोलाएर भनेँ– तिमीहरू दुबैले आ–आफ्नो एक÷एक जना बिरामी– जो मृत्युको निकै नजिक पुगिसकेको छ, उसलाई बाँच्न सक्छ भनेर झुटो विश्वास दिलाई बढी पैसो कमाउन सक्छौ, उही नै ठूलो ? मेरो कुरामा दुबैको सहमति भयो र त्यही दिनबाट नै प्रयोगात्मक परीक्षा सुरु गरेँ । दिन, महिना बित्दै जान थाल्यो । एक दिन बुहारीको फोन आयो, ससुरा बा बर्बाद भयो । छ महिना एक दिन भन्दा विश्वास नै गरेनन् । उसको शव हिजो नै उसको आफन्तीलाई बुझाइदिएँ । जम्मा–जम्मी औषधी खर्च घटाएर नेट पर्फिट डेढ करोड मात्र हात लाग्यो, बुहारीलाई धन्यवाद दिदैँ– रिजल्टको लागि छोरोको प्यासेन्टको मृत्यु कुर्नको लागि अनुरोध गरँे । बुहारीले फोन गरेको ठीक चार महिनापछि छोरोको फोन आयो, अति नै भो बुवा, मैले बिरामीलाई हिजो मृत्यु भएको घोषणा गरेँ । अलि–अलि मुटु त चल्दै थियो । सबै खर्च घटाएर नेट परफिट पाँच करोड मात्र । मेरो खुशीको सीमा रहेन किनकि यहाँ आफ्नो रगतको सवाल थियो, इज्जतको सवाल थियो । बुहारीलाई भन्दा आफ्नै छोरोलाई ठूलो मान्छे घोषणा गर्न पाउँदा खुशीले उफ्रिएँ म ।

हो, साँच्ची जीवन भोगाइमा ठूला मान्छे धेरैलाई घोषणा गरियो तर पनि यो कामबाट विश्राम पाइएको छैन । एक दिन आफ्नै बाल्यकालको साथीले उसको घर बोलाएको थियो । मनमा खुशी, उमङ्ग बोकेर उसको घरमा पुगिहालँे । दुवै श्रीमान् श्रीमती साहित्यकार, गाउँ, जिल्ला, शहर, देश हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति कमाएका । यी दुई बीच पनि को ठूलो हँ भन्ने विवाद चुलिदै गएको रहेछ । मैले बल्ल बुझेँ मलाई बोलाउनुको चुरो कुरो । समस्या नै प¥यो गाँठे, दुवैले हरिप लेख्छन्, कसलाई ठूलो मान्ने तर पनि हिम्मत हार्नु भएन, बाह्र हात नाघेर बित्तामा छोड्नु पनि त भएन । अनि प्रश्न सोध्न थालें– तिमीहरू दुई बीच पुरस्कार कसले बढी पाएका छौ ? दुवैले पुरस्कार पत्र निकालेर जोड्न थाले । साथीले एक सय बीस वटा, उनकी श्रीमतीले जम्मा नब्बे वटा । साथीको अनुहार चहकिलो देखियो । मैले फेरि सोधँे– तिमीहरूले यो पुरस्कार नै पाउनको लागि भनी कति–कति पैसा भेटी चढायौ हँ ? साथीले जवाफ दियो, यसमा भने मैले त जम्मा असी लाख रुपैया हो, श्रीमतीले भने डेढ करोड नै दिइन् क्या हो । बडो अप्ठ्यारो प¥यो मलाई तर पनि सत्यको धर्म निभाउनु भएन, अनि साथीसँग हात मिलाउँदै भने सरी ल, तिम्री श्रीमती नै ठूली मान्छे हुन् । मेरो घोषणा सुनेर श्रीमतीले हर्षका कविता कोर्दै थिइन् ।

पाठक महाशय, यो को ठूलो भनेर छुट्याइ दिने न्यायाधीसले अहिलेसम्म विश्राम पाएको छैन । विश्राम लिनेवाला पनि छैन, त्यसैले तपाइँहरू मध्ये पनि कसैलाई समस्या प¥यो भने तु खबर गर्नुहोला ल । निःशुल्क घर–घरमा सेवा उपलब्ध हुनेछ, अहिलेलाई बाई बाई ।

स्याङ्जा

रिमिक्स नेपाल

रिमिक्स नेपाल

गायत्री परिरोशनी
टाइम पास

टाइम पास

गायत्री परिरोशनी
रिमिक्स नेपाल

रिमिक्स नेपाल

गायत्री परिरोशनी
चम्चा चिन्तन

चम्चा चिन्तन

नरनाथ लुइँटेल
के रे ? नेतालाई चोर भन्छन् रे ?

के रे ? नेतालाई...

फित्काैली
बूढो नेताको भाषण

बूढो नेताको भाषण

खगेन्द्र नेउपाने