साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई–चार सुझाव

Nepal Telecom ad

म व्यक्तिगत तवरले वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको घनघोर प्रशंसक हुँ । मेरो विचारमा यसको मोटामोटी दुई कारण हुनसक्छ । एक, म एउटा भूतपूर्व एमाले हुँ । अत ममा केही एमालेत्व बाँकी नै रहेको हुनुपर्छ । यही नै जरुर हो कि ! र अर्काे महत्वपूर्ण कारण कमरेड प्रधानमन्त्री ओलीको बेलामौकामा अनायास प्रस्फुटित भइरहने फुक्काफाल वाणीहरू हुन् । यसलाई कतिपय नाक खुम्च्याएर ‘हावागफ’ भन्ने गर्छन् । अब यही हावागफबाट उत्पन्न ऊर्जाको उदात्त मद्दतले उनी मुलुकलाई मजैले हाँकिरहेका छन् भने अरूहरूलाई यस्तो आपत्ति किन ? तर यत्तिकैको भरमा अब उपरान्त यो मुलुक अगाडि बढ्न कठिन हुने भएकोले म कमरेड प्रधानमन्त्री ओलीलाई दुई–चार व्यक्तिगत सुझाव दिन अघि सरेको छु ।

१. म कुनै पाया, तास या कौडा खेल्ने जुवाडे होइन । अँ, एकाध यस्ता जुवा खेल्नेहरूसँग मेरो केही चिनापर्ची अवश्य रहेको छ । यही एकमात्र आधारमा म के भन्छु भने कुनै जुवाको खालबाट ठूलो रकम ‘हात मारेर’ फर्केको विजयी जुवाडेको अनुहारमा जुन भीषण चमक हुन्छ, त्यो अनमोल हुन्छ । अझ सकल नेपालीजनलाई नै बलजफ्ती खालमा थाप्न सक्ने क्षमतावान महाजुवाडेहरूका विद्युतीय व्यक्तित्वको के कुरा गर्ने ? हो, यिनै राष्ट्रिय स्तरका नामचीन जुवाडेहरूका यावत चम्किलोपनलाई एकत्रित गरेर मुलुकलाई किन झलमल्ल नपार्ने त ? यही उज्यालो संकलन क्रियालाई ठूलो पैमानामा व्यावहारिकता प्रदान गर्न म कमरेड प्रधानमन्त्री ओलीसँग विनम्र आग्रह गर्छु ।

२. कुनै जमानामा म एक चर्चित खालको प्रेमी थिएँ । अब मेरो तत्कालीन कलेजस्तरीय प्रेमको के र कस्तो हविगत भयो, यो मेरो नितान्त निजी मामला भएकोले त्यतातिर नजाउँ ! तर यही अतितमुखी विपुल अनुभवले मलाई केही भन्न प्रेरित गरेको छ । मेरो भन्नु के हो भने प्रेमीहरू दुई प्रकारका हुने गर्छन् । एक, सफल प्रेमी र अर्काे असफल प्रेमी । प्रथम कोटीको सफल प्रेमीबारे मलाई केही भन्नु छैन । जहाँसम्म असफल प्रेमीको कुरो छ, यो पर्याप्त मात्रामा लाभप्रद हुनसक्छ । हेर्नाेस्, कुनै पनि असफल प्रेमीको मुखारविन्दमा जुन निराशाको ‘घना बादल’ मडारिरहेको हुन्छ, त्यसको यथेष्ट उपयोग गर्न सकिन्छ । मेरो भनाइको आशय के हो भने त्यही ‘घना बादल’लाई सरकारी सत्प्रयासद्वारा धुमधामको वर्षातमा किन परिणत नगर्ने ? यसले मुलुकको सम्पूर्ण सुख्खा वातावरण सहजै तरल हुनेछ । अनि कुनै पनि खालको अकालबाट एउटा सुखद सहकालमा आउन के बेर ? यही असफल प्रेमीसम्बन्धी सफल सुझाव म कमरेड प्रधानमन्त्री ओलीलाई दिन चाहन्छु ।

३. हामीकहाँ घुस्याहाहरूको कुनै अभाव छैन । यिनीहरूकै साझा परिश्रमले मुलुकको गतिशीलता कायम रहेको छ भन्नेहरू पनि मनग्ये छन् । अब घुसले मुलुक चल्छ अथवा चल्दैन भन्ने निष्कर्षविहीन बहसतिर नगएर म के भन्छु भने वास्तवमा मलाई घुस र घुस्याहासँग कुनै लिनुदिनु छैन । म त फगत एउटा घुस्याहाले घुस लिँंदा जस्तो आत्मशान्ति महसुस गर्छ, त्यतातिर इंगित गर्न चाहिरहेको छु । यस्तो महान आत्मशान्ति कति अपार शक्ति हुने गर्छ, यो समस्त घुस्याहाहरूका अनुभवको पुँजी हो । कतै यही पुँजीको विस्तारीकरण पुँजीवाद त होइन ? जे भए पनि यही पुँजीलाई उधारो लिएर यो मुलुकलाई अग्रगामी उचाइमा किन नपुर्याउने ? हामीलाई कुनै घुस्याहासँग नभएर उसको सञ्चित आत्मशान्तिसँग मतलव छ । यसले आत्मविश्वासमा पनि भरमार बढोत्तरी गर्नेछ । त्यसपछि मुलुकलाई द्रुतगतिले अघि बढ्नबाट कसले रोकछेक गर्न सक्छ ? हो, यही कुरोमा कमरेड प्रधानमन्त्री ओलीको समग्र ध्यान जाओस् ।

४. रत्नपार्कको हुलमुलमा मेरो बगली मारियो । हुन त मेरो बगलीमा कुनै खास मोटो रकम थिएन । तथापि जति रकम थियो, त्यति एक नेपालीको सालाखाला हैसियत बमोजिम पर्याप्त नै थियो । तसर्थ मेरो बगली मार्ने बगलिमारालाई असन्तुष्ट हुने कुनै कारण छैन । यो त परम सन्तुष्टिको क्षण हो । यसमा बगलिमाराको सतत निजी प्रयास पनि अतिरिक्त रूपले सामेल रहेको छ । यसको हाललाई सरकारीकरण नै सम्भव नभए पनि कम्तीमा हामी निशुल्क शिक्षा भने लिन सक्छौं । किनभने अहम् सवाल मेरो एक अदत बगलीको होइन । एउटा निपुण बगलिमाराको निजी प्रयाससँग सम्बन्धित विषय हो यो । यसमा उसको परम सन्तुष्टि बलियो गरी जोडिएको छ । यिनै कुराहरूलाई उपयोग गरेर यो मुलुकलाई अघि किन नबढाउने ? अतएव कमरेड प्रधानमन्त्री ओलीको जिम्मेवार दृष्टि यसतर्फ जानुपर्छ भन्ने मेरो एकल चासो हो ।

मेरो सुझावहरू प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको बहुचर्चित हावा गफबाट प्रभावित महाहावा सुझाव लाग्न सक्छ । यो बेठिक होइन । अर्काे शब्दमा यसलाई एक भूतपूर्व एमालेको अभूतपूर्व सुझाव भने पनि हुन्छ । के फरक पर्छ ? अब यसलाई कमरेड प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक ग्रहण गरे ठिक छ । कदाचित् ग्रहण नगरिएको खण्डमा झन् ठिक । धन्यवाद !

कान्तिपुर, असार ११, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x