वासुदेव पाण्डेयअवसरवाद
फन्को पर्वतको कुमार सजिलै लाएर आए तर
आमाबाबु गरी प्रदक्षिण बसेछन् धूर्त लम्बोदर ।
लाई अक्कल अग्र पूजन भयो खट्ने भए शोषित
जित्ने वास्तव कार्तिकेय, विजयी अर्कै भए घोषित ।।
सच्चा सेवकतुल्य राम पथको चर्चा चलाए पनि
सीता रावणले हरेपछि गई लङ्का जलाए पनि ।
बाँधे सागरमाथि सेतु जसले केही नमानी डर
पाए इज्जत ढेडुले जब बढी, दुस्खी भए वानर ।।
टुप्पातर्फ बसेर फेदतिरको हाँगो छिनाल्थे अरे
नारी शिक्षित सभ्य सौम्य विदुषी देखेर ईर्ष्या गरे ।
गर्छन् यी मुनि मौन ध्यान यिनले गर्छन् कुरा चालमा
भन्दा धूर्तहरू मिलीकन परिन् विद्योत्तमा जालमा ।।
ज्यामीका पसिना कला श्रम मिली अग्ला ठडिन्छन् घर
खट्छन् कालु र खान भालु सजिलै हुन्छन् यहाँ तत्पर ।
लामो शोषण शृङ्खला छ यसको देखेकक जरो वेदमा
चम्चा चुम्दछ चोरतुल्य चुचुरा सोझाहरू फेदमा ।।
लज्जा ढाक्न न सक्छ वस्त्र त्यसको खुस्काइएमा तुनो
सत्ता, शक्ति र स्वार्थ प्रेरित भई सोझो बनाए दुनो ।
धोका घात फरेब गर्छ झुटको खेती गरी बस्दछन्
हो ऐले फलिफाप हुन्छ तिनकै अन्याय जो गर्दछन् ।।
भन्थे सूक्ति सिकौँ हिजो गुरुहरू जो काम देलान् पनि
भन्थे उक्ति विशेष अग्रजहरू आदर्शवादी बनी ।
पैले मुक्ति भनेर गाउँघरमा ढालेर खान्थे खसी
ऐले जुक्ति र डेढ अक्कल भए सम्मान थाप्छन् बसी ।।
लाए जुक्ति जितिन्छ युद्ध छल हो साह्रै ठुलो तागत
एक्लै सारथि धूर्त कृष्ण नभए हुन्थ्यो महाभारत ?
बुझ्छन् साम र दाम, दण्ड जसले ती भेदमा माहिर
गर्ने मर्छ कि पर्छ निश्चय यहाँ षड्यन्त्रमा आखिर ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































