दिव्य गिरीखिचडी
भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन्
ओदानमाथिको हाँडी
अलिकति परम्परा र संस्कृति
अलिकति जाति भाषा अनि भेष
अलिकति क्षेत्रियता र सीमाना पनि
भिजाएर सहिदका रगत र आँसुले
घोलेर सबथोक यौटै हाँडीमा
बसालेर खिचडी अगेनुमा
जनताका भाग्यविधाताहरू
अहम् र अहंकार
रीस राग र द्वेषका चिर्पटहरू बालेर
आगो सल्काइरहेछन्
विडम्बना !
अगेनु चिसिएको छ वर्षौंदेखि
जति आगो फुके पनि बल्दैन
जति अगुल्टो घोचे पनि जल्दैन
खिचडी पकाउने भान्छेहरू
आ–आफ्नै स्वार्थको अगुल्टो समातेर
चीसो अगेनुमा ठोसिरहेछन्
झिलिक्क झिल्का उछिट्टिएर अगेनुको डीलमा
आगोको फिलुङ्गो खस्दा
‘खिचडी पाक्दै छ’ को भ्रममा दङ्ग पर्दै
खुसीले उफ्रिएकाहरूलाई के थाहा
वास्तवमा खिचडीको पीँधमा
आगोको रापले भेटेकै छैन
खिचडीको हाँडी तातेकै छैन
कसरी पाक्छ खिचडी ?
जब कि खिचडी पकाउने भान्छेको
मन शान्त छैन
नियत सफा छैन
भावना निस्वार्थ छैन
उद्देश्य स्पष्ट छैन ।
यता खिचडी पकाउनेहरू
आपस आपसमै झगडा गरिरहेछन्
एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाइरहेछन्
एकले अर्कोमाथि दोष थोपरिरहेछन्
उता पर रुखको कापमा बसेर
टाढैबाट खिचडीको हाँडीमा आँखा गाडेर
यौटा ढेडु बसिरहेछ
मौकाको प्रतीक्षामा ।
ललितपुर
Subscribe
Login
0 Comments
Oldest







































