मुक्तिनाथ शर्माभानुभक्तका डिट्ठा बिचारी
मैले मामा भन्ने गरेका मिश्रमामा धेरै दिनपछि हिजो बिहान टुप्लुक्क देखापर्नुभो । मेरी श्रीमतीजीले कुरा बुझिसकेकी छन– मामा आएपछि नास्तापानी केही नखाई डेग चल्ने होइनन् भन्ने कुरा । उनले केही नास्तासहित चिया टकारेपछि मामा प्रसन्न हुनुभयो टन्न नोट भएको ब्रिफकेस समाएका मन्त्रीजी जस्तै । त्यतिबेलै केही भनूँ भनूँजस्तो हुनुभयो मामा ।
नभन्दै मिश्रमामाले पहिले सानु डकार ओकल्दै भन्नुभयो– “हैन भाञ्जा ती भानुभक्त बुढा कहाँ होलान् हँ अहिले ?”
मैले कुरा बुझ्दै बुझिनँ र लाटाले कसको के हेरेझैँ हेरेकोहेर्यै भएँ एकैछिन् । मेरो अवस्था बुझ्नुभएछ क्यारे मामाले– “तपाईंले बिर्सनुभयो भानुभक्तको क्रन्दन ?–
बिन्ति डिट्ठा बिचारीसित म कति गरूँ चुप रहन्छन् नबोली
बोल्छन् ता ख्याल गरेझैँ तर दिनदिनै भन्दछन् भोलिभोलि ।”
मैले अझै पनि कुरा ठ्याम्मै बुझ्न सकिनँ । मामासँग अनुनय विनय गर्नैप¥यो । मैले भनेँ– “स्पष्टै भन्नु पर्ला मामा !”
मामाले भन्नुभयो– “देख्नुभएन, भानुभक्तका डिट्ठा विचारी अहिले यहीँ रहेछन । तिनीहरू अहिले डिट्ठा बिचारी भने छैनन् । ती त अहिले मन्त्री भएका छन्, मन्त्री । त्यसैले त अहिलेका मन्त्रीहरू जुनसुकै कुरामा पनि भोलिभोलि भन्ने गर्छन् । त्यस्ता भोलि जतिसुकै बिते पनि थाहानै पाउदैनन् । हेर्नुहोस् त यिनीहरूले कुनकुन काम कहिलेकहिले गर्ने भने तर गरेनन् । बहुचर्चित संविधानसभाको निर्वाचनसम्म पनि भनेको समयमा तोकेका छैनन् । अन्य काम कुरामा अब हुन्छ, चाँडै हुन्छ, भैहाल्छ जस्ता गैरजिम्मेवार कुरा मात्रै गरे । त्यस्तो भएको भानुभक्तका पालाका डिट्ठा बिचारी मन्त्री भएर आएकैले हो होइन र ? हो, बरू यहाँ के थाहा हुन सकेको छैन भने भानुभक्तबाजे पनि अवश्य आएका छन पृथ्वीलोकमा । तर अहिले उनी कहाँ छन् पत्ता लाउन सकिएको छैन ।”
मामाले यति भनेपछि मेरो घैँटोमा घाम लागेजस्तै भयो । मैले मामाका कुरामा सहिछाप ठोकेँ र भनेँ– “यो कुरा त मोतिरामसँग सोध्नुपर्ला मामा ।”
मेरा कुरा सुनेर मिश्रमामा फरक्क मतिर फर्कनुभयो र भन्नुभयो– “मोतिराम कहाँ छन् त ?”
मैले भनेँ– “पाटन दरबारमा ।”
मामाले कुरा बुझेझैँ गरेर भन्नुभयो– “ए, आयुमोरा !”
मैले “अँ ” भनेपछि मामा र उनकी बुहारी भनाउँदीसमेत पेट मिचिमिचि हाँस्नथाले । म मुसुक्क मुस्कुराएर आफ्नो बाटो लागेँ ।
वानेश्वर, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































