वाइनाभिषेक
हामीले धेरै मिहिनेत गर्यौँ यो देशको विकासका लागि, जनताको सुख–समृद्धिका लागि । ठूल्ठूला प्रयोग र्गयौँ । भीषण क्रान्तिहरू र्गयौँ– सातमा, सत्रमा, छत्तीसमा, छयालीसमा र त्रिसठ्ठी सालमा । {{read_more}} छयालीसपछिकै हिसाब गर्ने हो भने पनि जनताको समृद्धिका लागि हामीले हड्डी घोट्न थालेको तीन दशक भएछ ।
पुराना परम्परावादी, अध्यात्मवादी, सामन्ती चरित्रका दलहरूलाई छाड्ने हो भने हामी माक्र्सवादी, प्रगतिशील, भौतिकवादी शक्तिले नै पनि दर्जनौँ पटक सरकारमा पुगेर विकासको प्रयास गर्यौँ । प्रगतिशील र आधुनिक समाज निर्माणका लागि थोत्रा र सामन्ती संरचनामाथि पटक–पटक प्रहार गर्यौँ । समाज विकासको मुख्य शत्रुका रुपमा रहेको सामन्तवाद र त्यसलाई बचाइराख्ने अन्धविश्वास, कुरीति, धर्म, अध्यात्म, कर्मकाण्डजस्ता परम्परागत रुढीलाई उखेलेर समूल नष्ट गर्न हामीले जोडदार रुपमा कार्यकर्ताहरूलाई खटायौँ । सामन्तवादलाई ध्वस्त बनाउन हामीले कति मन्दिरहरू भत्कायौँ, कति मूर्तिहरू उखेल्यौँ, कति पुरेतहरूका टुप्पी काट्यौँ, पण्डितहरूका छाला काड्यौँ । अहिले सम्झिँदा आङै जिरिंग हुन्छ, कति देउताका थानहरूमा दिसा दल्यौँ, डराउँदै डराउँदै भए पनि मूर्तिहरूमा पिसाब फेर्यौँ । धर्मको अफिममा फसेका जनतालाई त्यस कुलतबाट मुक्त गर्न बाँधेर सिस्नुपानीले हान्यौँ, हतियारै पनि चलायौँ ।
यस्ता अनेक प्रयासकै बीचमा हामीले देशमा लोकतन्त्र स्थापना गर्यौँ । संविधान बनायौँ, चुनाव गरायौँ । चुनावमा प्रगतिशील शक्तिहरूको स्पष्ट बहुमतको सरकार पनि बनायौँ र मुलुकको विकासका लागि दिनरात काम गर्न थाल्यौँ । तैपनि विकासले गति लिएन । दुई तिहाइको सरकारले गरेका कामका विरुद्ध भित्रबाहिर, तलमाथि चारैतिरबाट आक्रमणै आक्रमण हुन थाले । राम्रै काम गर्दा पनि जस नपाएपछि यो सब कतै अदृष्य शक्तिको खेल त होइन भनेर हामी झस्कियौँ । त्यसैले स्वस्तिशान्तिको उपाय गर्ने टुंगोमा सरकार पुगेको हो । स्वदेशी माता, बाबा, साँढे, भैँसी, शक्तिपीठहरूको दर्शन पूजा त गरिएकै थियो, त्यसले पनि पार नलागेपछि सरकारले अन्तर्राष्ट्रिय माता मगाएको हो । मातामा पनि चानचुनेले पार नलाग्ला भनेर जेससकी एक मात्र छोरीलाई झिकाइएको हो । हामी प्राय सबै शीर्ष कमरेड तथा नन्कमरेड नेतागणले यसअघि नै जेससका एक मात्र ज्वाइँबाट पनि आशीर्वाद ग्रहण गरिसकेकै हो । तर यसपालि सीधै जेससकी छोरीबाटै आशीर्वाद लिने मौका आएको हुँदा सिंगै सरकार यसमा लागिपरेको हो ।
हामीले थाहा पायौँ, हिन्दु धर्ममा गाईको मूत्र आचमन गर्ने र मूत्राभिषेक गर्नेजस्तो अन्धविश्वास छ । तर छोरीज्वाइँवाला क्रिस्चियानिटी धेरै प्रगतिशील छ, यहाँ पवित्र वाइन सेवन गर्ने र वाइनद्वारा नै अभिषेक गरिन्छ । यो वाइन हाम्रो लोकल ठर्राजस्तो परम्परावादी रक्सी होइन । प्रगतिशील रक्सी हो, यसलाई रक्सी भन्दा पाप लाग्छ, यो त होली वाइन हो । यस्तो पवित्र वाइनद्वारा भर्खरै सरकार अभिषिक्त भएको छ, जेससकी एक मात्र छोरीबाट हाम्रा नेताहरू ‘ब्लेस्ड’ भएका छन् । यसको परिणाम देखिन केही समय लाग्न सक्छ । अत केही समय धैर्य गरौँ । धेरै विरोध नगरौँ । त्यसमा पनि सत्ता पक्षकै नेता कार्यकर्ताले त यस्तो पवित्र कार्यको विरोध गरेर पापको भारी बोक्नै हुन्न, मरेपछि सोझै नर्क पुगिन्छ । अत नर्क जाने बाटो नखनौँ । होली वाइनले मुलुकमा छिटोभन्दा छिटो सुख–समृद्धि ल्याओस् । जय माताजी !
नेपाल