माणिकरत्न शाक्यखसी हाकिम
२०४१ सालमा बैंकमा जागिरे भए देखिन् ५ वर्षसम्म जेमसापको कार्यालयमा काम गर्थे म । त्यहाँ रहुन्जेल भित्री बाहिरी सारा दुनियाका नौटंकी चरित्रलाई नजिकबाट नियाल्ने मौका पाए । उल्टासुल्टा, तिकडम, चाकडी लगायतका त्यस्तै त्यस्तै । पंचायतकालमा आफू कार्यरत कार्यालयका शर्मा थरका, पुरानो बानेश्वर राम मन्दिर घर भएका प्रशासन प्रमुख हुनुहुन्थ्यो । उहाँको रूपरङ्ग हेर्दा कहिल्यै खाए जस्तो नदेखिने ख्याउट, कालो वर्णको । उहाँको एउटा अचम्मको बानी के छ भने काम मिलाई दिए वापत खसी खानुपर्ने । त्यो पनि नदेखिने खानेकुराको रूपमा । जतिसुकै नमिलेको, अप्ठयारो, गाह्रो साँगुरो काम फत्ते, फत्ते भएको काम लट्टे परेर बिगे्रको छ । ‘घरमा खसी लगेर बाँधिदिनुस् काम पक्का’ त्यसबेला चलेको गुरुमन्त्र । मै हुँ भन्ने माहिरलालको पनि उहाँले सेखी झारिदिनु भएको कुराले त्यसबेला खुव चर्चा पाएको थियो । उहाँसग मेरो दिनमा सत्रचोटी भेट हुन्थ्यो, भेटमा पनि काम चलाउ कुरा मात्र हुन्थ्यो ।
जेमसाप कार्यालयमा काम गर्छ भन्ने उहाँलाई कण्ठ थियो । एकदिन मौका मिलाएर स्थायीको लागि जेम साहेवलाई विन्ती गरेँ । उहाँले सिकाए वमोजिम गरें र मेरो निवेदनमा ठाडो तोक लगाइदिनु भयो । सो फाइल प्रशासन प्रमुखकहाँ पुर्याएँ । मेरो फाइल हेरेर प्रशासन प्रमुख मुसुक्क हाँस्दैर दराजमा राख्नुभो । भन्ठानेँ– अब त पक्का स्थायी हुने भइयो भनेर मनमनै दङ्ग परें ।
प्रशासन प्रमुखको कोठाबाट एक हप्तापछि मेरो फाइल बाहिर आयो । उल्टो म्याद थप भएको पो देखें । मेरो उत्साह र उमङ्ग सबै पानीमा मिसियो । त्यतिबेला लप्पनछप्पन, चाकडी गर्न नजान्ने सोझो सक्कली बाँडाको छोरा भएर के काम भने जस्तो आफूलाई मनमनै लाग्यो । मनमा नमिठो ईखको झस्को पस्यो । एकदिन पुरानो बानेश्वरमा लखर लखर हिँडिरहेको तिनै हाकिमलाई देखेँ । नछोड भैरे नछोड भने झैं यही मौकामा चौका हान्दै साइकल बेगमा कुदाएर तिनै हाकिमलाई पछाडिबाट देब्रे लात्तले हिर्काएर तीन बल्डयाङ् खुवाइदिए । त्यति बहादुरी गर्न सकेकोमा मनमा एकछिन भए पनि शान्ति मिल्यो । आफू चाहिँ आफ्नै सुरमा हिँडेँ ।
अर्को घटना यस्तो छ– पंचायतकालमा एकचोटी बिभिन्न तहमा थुप्रै सहायक कर्मचारीहरूको आवश्यकता माग भएको थियो । बढुवा भइन्छ भने किन छोड्नु भनेर आफू पनि सहभागी भएँ । दुइ तीनथरी पदमा जाँच दिएँ । परीक्षाको दिन जाँच हलमा जिएम सावले मलाई देखेर राम्ररी लेख्नु भनेर धाप मार्नुभो । साथमा अन्य आउरेबाउरेहरू पनि थिए । जाँच दिएर बाहिर निस्केपछि साथीभाइहरूले तँ त पास भइहाल्छस् भनेर बधाइ दिए । परीक्षाफल प्रकाशित हुँदा मेरो नाम त कता लुकेछ कता पत्तै पाइन । गाँजर मुला खाएको बलले मात्र पुगेन कि भनेर आँखा च्याती च्याती हेरें कहिँ देखिन । बेकारै भो । त्यही जाँचमा ज–जस्ले नाम निकाले, तिनीहरूले एक महिनापछि अन्तर्वार्ता दिए । सो अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गर्न एकदिन वोर्ड मिटिङ बस्यो । आखिरीतिर जेम सापले मलाई बोलाएर टिपेस माग्नु भयो । मैले उहाँले भने जस्तै गरेँ । टिपेस दिएर एकछिन उभिरहेको मात्र के थिएँ खसी हाकिमले एक नम्बरमा नाम निस्केका ब्यक्तिलाई मेटेर अन्य कुनै ब्यक्तिको नाम राखेको देखेँ । अनि सोही कागज बाहिर लगेर टासिदिनु भनेर मलाई दिनुभयो । अनि पो गाँठी कुरो बल्ल थाहा पाएँ । मबाट पनि त्यस्तै खसीको आशा गरेका थिए होलान् मैले त दिन सकिनँ, त्यसैले मेरो नामै हरायो ।
अर्को घटना यस्तो छ– जाँचमा सफल भएकाहरूको मिटिङ बसेर अन्तर्वार्ता लिने काम जारी थियो । जेमसावलाई भित्र बस्दा बस्दा दिक्क लागेर हो कि कुन्नि के भएर हो कोठा बाहिर निस्कनु भो । हामी बाहिर रहेका स्टाफहरूसँग गफिनु भो । त्यहीबेला मलाई जेमसाबले सोध्नुभो– जाँच के भो ? मैले पनि त्यही मौका छोपेर भने– गुल्टिएँ सर ! नाम लिष्टमा त मेरो नामै अटाएनछ ! मेरोे कुरा सुनेर सबैजना हासें । जेमसाव मसँग प्रश्न सोध्नुहुन्थ्योे लगत्तै म जवाफ दिन्थेँ । वीच वीचमा ठट्टाको दोहोरी । अन्तिममा जेमसावले भन्नुभयो– भोलिदेखि सिंहदरवार शाखामा काम सिक्न जाने, राम्ररी काम गर्नु ! हवस् सर भनेर अभिवादन टक्र्याएँ । त्यसपछि उहाँ भित्र कोठामा जानुभयो ।
भोलिपल्ट जेमसापको नाम लिएर सिंहदरवारका प्रवन्धकलाई भेट्न पुगेँ । जेमसापले भन्नु भएको तपाई नै हो, उहाँलाई खजाञ्चीसाप कहाँ पुरयाइदिनु भन्दै प्रवन्धकले पियनलाई अह्राउनु भयो । म लुरुलुरु पियनको पछि लागेँ । खजाञ्चीले पनि प्रवन्धककै भाषा बोले । त्यसदिन देखि १५ दिनसम्म खजाञ्चीको निर्देशन अनुसार दिनभरी नोट गन्ने तालिममा परियो । शुरुको दिन त यस्तो गाह्रो भयो कि कुरै गरी साद्धे छैन । त्यसमाथि नोट गनेको मिलेन कि खजाञ्चीले हातमा हिर्काउनु हुन्थ्यो । यसलाई पनि गुरुमन्त्र मानेर मैले खुरुखुरु काम गरेँ । १५ दिनपछि प्रवन्धकले केन्द्रबाट चिट्ठी ल्याउन भने । सोह्रौँ दिनको दिन बिहान १० बजे म जेमसापको कार्यालयमा आएँ । त्यसदिन बेलुका बोर्ड मिटिङ रहेछ । बेलुका जेमसापसँग भेट भयो । उहाँले भन्नुभयो– काम सिकेर आयौ त ! मैले भने– सिकेँ सर ! त्यहीँ नबसेर किन फिर्ता आएको त ? जेमसापको पुनः प्रश्न । मैले भने– प्रवन्धकले चिट्ठी चाहियो भन्नुभो त्यही लिन आको हजुर ! हजुरले भनेपछि चिट्ठी बिनै गएँ, त्यसैले फर्किनु प¥यो सर ! जेमसापले मलाई प्रशासन प्रमुखलाई बोलाउन भन्नुुभो । मैले पनि त्यसै गरें । जेमसापले मेरै सामुन्नेमा प्रशासन प्रमुखलाई किन सलाई चिट्ठी नदिएको भन्दै केर्नु भयो । प्रशासन प्रमुखले भोलि दिन्छु सर भन्दै आफ्नो काममा लागे । भोलिपल्ट ! जेमसापलाई कुरा लगाउने भन्ठानेर हो कि धेरैबेरको दौडधूपले हैरानी पाएपछि मात्र मैले चिट्ठी पाएँ । मैले त भाको कुरा गरया हो क्यारे, पचेन छ । सबैले बढुवा भएकोमा बधाई दिँदै राम्रोसँग काम गर्न सल्लाह दिए । भोलिदेखि सिहदरवार शाखामा हाजिर हुनु पर्ने भएकाले जेमसापलाई भेट्न उहाँको कोठामा पसेँ र चिट्ठी देखाएँ । ‘अस्तिको जाँचमा तिमीले पास गया थियौ, मैले बाध्य भएर पास गर्न सकिन, त्यसै भएर यसमा गरिदिएको छु, राम्ररी काम गर्नुृ भन्दै जेमसापले आफ्नो साबिती बयान सहित गाँठी कुरा सुनाउनुभयो । मैले एक धार्नीको टाउको हल्लाएर आज्ञापालन गरें । यसरी खसी हाकिमलाई चेपुवामा पारेर भए पनि बढुवाको चिट्ठी लिई छाडेँ । मेरो काम गराइबाट जेमसाप प्रशन्न हुनु भएको कुरा पछि उहाँकै मुखारबृन्दबाट सुनेँ ।
यसरी खसी हाकिमले खसी खान नपाएको झोंकमा के के मात्र गरेनन् त्यसको सफाई दिदा यहाँ लामो हुन्छ । त्यसैले मुख्य मुख्य मात्र पेश गरेको हुँ । यस्तै यस्तै खसी हाकिमहरूले गर्दा त हो नि पढे लेखेकाहरूको नाम हनुमान भएको । धन्य यो दुनियामा अचम्म अचम्म खाले मान्छेले पनि जन्म लिँदा रैछन् । जेमसापले आफ्नै ठानेर त्यति सहयोग नगरेको भए यो माणिकरत्न भन्नेको अस्तित्व पनि हराइसक्थ्यो होला । तर त्यसो हुन पाएन । जय होस् खसी हाकिमको ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































