साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खसी हाकिम

Nepal Telecom ad

२०४१ सालमा बैंकमा जागिरे भए देखिन् ५ वर्षसम्म जेमसापको कार्यालयमा काम गर्थे म । त्यहाँ रहुन्जेल भित्री बाहिरी सारा दुनियाका नौटंकी चरित्रलाई नजिकबाट नियाल्ने मौका पाए । उल्टासुल्टा, तिकडम, चाकडी लगायतका त्यस्तै त्यस्तै । पंचायतकालमा आफू कार्यरत कार्यालयका शर्मा थरका, पुरानो बानेश्वर राम मन्दिर घर भएका प्रशासन प्रमुख हुनुहुन्थ्यो । उहाँको रूपरङ्ग हेर्दा कहिल्यै खाए जस्तो नदेखिने ख्याउट, कालो वर्णको । उहाँको एउटा अचम्मको बानी के छ भने काम मिलाई दिए वापत खसी खानुपर्ने । त्यो पनि नदेखिने खानेकुराको रूपमा । जतिसुकै नमिलेको, अप्ठयारो, गाह्रो साँगुरो काम फत्ते, फत्ते भएको काम लट्टे परेर बिगे्रको छ । ‘घरमा खसी लगेर बाँधिदिनुस् काम पक्का’ त्यसबेला चलेको गुरुमन्त्र । मै हुँ भन्ने माहिरलालको पनि उहाँले सेखी झारिदिनु भएको कुराले त्यसबेला खुव चर्चा पाएको थियो । उहाँसग मेरो दिनमा सत्रचोटी भेट हुन्थ्यो, भेटमा पनि काम चलाउ कुरा मात्र हुन्थ्यो ।
जेमसाप कार्यालयमा काम गर्छ भन्ने उहाँलाई कण्ठ थियो । एकदिन मौका मिलाएर स्थायीको लागि जेम साहेवलाई विन्ती गरेँ । उहाँले सिकाए वमोजिम गरें र मेरो निवेदनमा ठाडो तोक लगाइदिनु भयो । सो फाइल प्रशासन प्रमुखकहाँ पुर्याएँ । मेरो फाइल हेरेर प्रशासन प्रमुख मुसुक्क हाँस्दैर दराजमा राख्नुभो । भन्ठानेँ– अब त पक्का स्थायी हुने भइयो भनेर मनमनै दङ्ग परें ।
प्रशासन प्रमुखको कोठाबाट एक हप्तापछि मेरो फाइल बाहिर आयो । उल्टो म्याद थप भएको पो देखें । मेरो उत्साह र उमङ्ग सबै पानीमा मिसियो । त्यतिबेला लप्पनछप्पन, चाकडी गर्न नजान्ने सोझो सक्कली बाँडाको छोरा भएर के काम भने जस्तो आफूलाई मनमनै लाग्यो । मनमा नमिठो ईखको झस्को पस्यो । एकदिन पुरानो बानेश्वरमा लखर लखर हिँडिरहेको तिनै हाकिमलाई देखेँ । नछोड भैरे नछोड भने झैं यही मौकामा चौका हान्दै साइकल बेगमा कुदाएर तिनै हाकिमलाई पछाडिबाट देब्रे लात्तले हिर्काएर तीन बल्डयाङ् खुवाइदिए । त्यति बहादुरी गर्न सकेकोमा मनमा एकछिन भए पनि शान्ति मिल्यो । आफू चाहिँ आफ्नै सुरमा हिँडेँ ।
अर्को घटना यस्तो छ– पंचायतकालमा एकचोटी बिभिन्न तहमा थुप्रै सहायक कर्मचारीहरूको आवश्यकता माग भएको थियो । बढुवा भइन्छ भने किन छोड्नु भनेर आफू पनि सहभागी भएँ । दुइ तीनथरी पदमा जाँच दिएँ । परीक्षाको दिन जाँच हलमा जिएम सावले मलाई देखेर राम्ररी लेख्नु भनेर धाप मार्नुभो । साथमा अन्य आउरेबाउरेहरू पनि थिए । जाँच दिएर बाहिर निस्केपछि साथीभाइहरूले तँ त पास भइहाल्छस् भनेर बधाइ दिए । परीक्षाफल प्रकाशित हुँदा मेरो नाम त कता लुकेछ कता पत्तै पाइन । गाँजर मुला खाएको बलले मात्र पुगेन कि भनेर आँखा च्याती च्याती हेरें कहिँ देखिन । बेकारै भो । त्यही जाँचमा ज–जस्ले नाम निकाले, तिनीहरूले एक महिनापछि अन्तर्वार्ता दिए । सो अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गर्न एकदिन वोर्ड मिटिङ बस्यो । आखिरीतिर जेम सापले मलाई बोलाएर टिपेस माग्नु भयो । मैले उहाँले भने जस्तै गरेँ । टिपेस दिएर एकछिन उभिरहेको मात्र के थिएँ खसी हाकिमले एक नम्बरमा नाम निस्केका ब्यक्तिलाई मेटेर अन्य कुनै ब्यक्तिको नाम राखेको देखेँ । अनि सोही कागज बाहिर लगेर टासिदिनु भनेर मलाई दिनुभयो । अनि पो गाँठी कुरो बल्ल थाहा पाएँ । मबाट पनि त्यस्तै खसीको आशा गरेका थिए होलान् मैले त दिन सकिनँ, त्यसैले मेरो नामै हरायो ।
अर्को घटना यस्तो छ– जाँचमा सफल भएकाहरूको मिटिङ बसेर अन्तर्वार्ता लिने काम जारी थियो । जेमसावलाई भित्र बस्दा बस्दा दिक्क लागेर हो कि कुन्नि के भएर हो कोठा बाहिर निस्कनु भो । हामी बाहिर रहेका स्टाफहरूसँग गफिनु भो । त्यहीबेला मलाई जेमसाबले सोध्नुभो– जाँच के भो ? मैले पनि त्यही मौका छोपेर भने– गुल्टिएँ सर ! नाम लिष्टमा त मेरो नामै अटाएनछ ! मेरोे कुरा सुनेर सबैजना हासें । जेमसाव मसँग प्रश्न सोध्नुहुन्थ्योे लगत्तै म जवाफ दिन्थेँ । वीच वीचमा ठट्टाको दोहोरी । अन्तिममा जेमसावले भन्नुभयो– भोलिदेखि सिंहदरवार शाखामा काम सिक्न जाने, राम्ररी काम गर्नु ! हवस् सर भनेर अभिवादन टक्र्याएँ । त्यसपछि उहाँ भित्र कोठामा जानुभयो ।
भोलिपल्ट जेमसापको नाम लिएर सिंहदरवारका प्रवन्धकलाई भेट्न पुगेँ । जेमसापले भन्नु भएको तपाई नै हो, उहाँलाई खजाञ्चीसाप कहाँ पुरयाइदिनु भन्दै प्रवन्धकले पियनलाई अह्राउनु भयो । म लुरुलुरु पियनको पछि लागेँ । खजाञ्चीले पनि प्रवन्धककै भाषा बोले । त्यसदिन देखि १५ दिनसम्म खजाञ्चीको निर्देशन अनुसार दिनभरी नोट गन्ने तालिममा परियो । शुरुको दिन त यस्तो गाह्रो भयो कि कुरै गरी साद्धे छैन । त्यसमाथि नोट गनेको मिलेन कि खजाञ्चीले हातमा हिर्काउनु हुन्थ्यो । यसलाई पनि गुरुमन्त्र मानेर मैले खुरुखुरु काम गरेँ । १५ दिनपछि प्रवन्धकले केन्द्रबाट चिट्ठी ल्याउन भने । सोह्रौँ दिनको दिन बिहान १० बजे म जेमसापको कार्यालयमा आएँ । त्यसदिन बेलुका बोर्ड मिटिङ रहेछ । बेलुका जेमसापसँग भेट भयो । उहाँले भन्नुभयो– काम सिकेर आयौ त ! मैले भने– सिकेँ सर ! त्यहीँ नबसेर किन फिर्ता आएको त ? जेमसापको पुनः प्रश्न । मैले भने– प्रवन्धकले चिट्ठी चाहियो भन्नुभो त्यही लिन आको हजुर ! हजुरले भनेपछि चिट्ठी बिनै गएँ, त्यसैले फर्किनु प¥यो सर ! जेमसापले मलाई प्रशासन प्रमुखलाई बोलाउन भन्नुुभो । मैले पनि त्यसै गरें । जेमसापले मेरै सामुन्नेमा प्रशासन प्रमुखलाई किन सलाई चिट्ठी नदिएको भन्दै केर्नु भयो । प्रशासन प्रमुखले भोलि दिन्छु सर भन्दै आफ्नो काममा लागे । भोलिपल्ट ! जेमसापलाई कुरा लगाउने भन्ठानेर हो कि धेरैबेरको दौडधूपले हैरानी पाएपछि मात्र मैले चिट्ठी पाएँ । मैले त भाको कुरा गरया हो क्यारे, पचेन छ । सबैले बढुवा भएकोमा बधाई दिँदै राम्रोसँग काम गर्न सल्लाह दिए । भोलिदेखि सिहदरवार शाखामा हाजिर हुनु पर्ने भएकाले जेमसापलाई भेट्न उहाँको कोठामा पसेँ र चिट्ठी देखाएँ । ‘अस्तिको जाँचमा तिमीले पास गया थियौ, मैले बाध्य भएर पास गर्न सकिन, त्यसै भएर यसमा गरिदिएको छु, राम्ररी काम गर्नुृ भन्दै जेमसापले आफ्नो साबिती बयान सहित गाँठी कुरा सुनाउनुभयो । मैले एक धार्नीको टाउको हल्लाएर आज्ञापालन गरें । यसरी खसी हाकिमलाई चेपुवामा पारेर भए पनि बढुवाको चिट्ठी लिई छाडेँ । मेरो काम गराइबाट जेमसाप प्रशन्न हुनु भएको कुरा पछि उहाँकै मुखारबृन्दबाट सुनेँ ।
यसरी खसी हाकिमले खसी खान नपाएको झोंकमा के के मात्र गरेनन् त्यसको सफाई दिदा यहाँ लामो हुन्छ । त्यसैले मुख्य मुख्य मात्र पेश गरेको हुँ । यस्तै यस्तै खसी हाकिमहरूले गर्दा त हो नि पढे लेखेकाहरूको नाम हनुमान भएको । धन्य यो दुनियामा अचम्म अचम्म खाले मान्छेले पनि जन्म लिँदा रैछन् । जेमसापले आफ्नै ठानेर त्यति सहयोग नगरेको भए यो माणिकरत्न भन्नेको अस्तित्व पनि हराइसक्थ्यो होला । तर त्यसो हुन पाएन । जय होस् खसी हाकिमको ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x