डा. टीकाराम पोखरेलमेरो रामराज्य भ्रमण
त्रेता युगमा यो भूलोकमा रामले राज्य गरेका थिए भन्ने कुरा मैले पुराणहरूमा सुनेको थिएँ । रामराज्य ज्यादै नै आदर्श राज्य थियो रे । आफू त्रेतायुगमा नजन्मेर कलियुगमा जन्मेका कारण रामराज्य हेर्न नपाएकोमा दखित थिएँ । तर यो कलि युगमा पनि राम राज्यका लक्षणहरू भएका धेरै कार्यालयहरू छन् र ती पनि नेपालमै छन् भन्दा चाहिँ फेरि म गौरवान्वित भएँ । नेपालका रामराज्य हेर्ने उत्सुकता जाग्यो । रामराज्य हेर्ने इच्छा सहित म रामराज्यको उपमा पाएका केही कार्यालय हेर्ने अभियानमा लागेँ ।
सर्वप्रथम म आधुनिक कानुनले संवैधानिक मान्यता पाएको र पौराणिक सन्दर्भसँग जोड्दा रामराज्य भनेर दाबी गरिरहेको एउटा कार्यालयमा पुगेँ । त्यस रामराज्यमा सबैभन्दा माथिल्लो ओहोदामा पञ्चरत्न रहेछन् । तर एक रत्नले अर्को रत्नलाई टेर्दै नटेर्ने, गन्दै नगन्ने, अरुले त झन् चलाउनै नसकिने । पाँचरत्न बीच दशरथ रंगशालाको कवर्ड हलको बक्सिङ्ग प्रतियोगितालाई बिर्साउने हिलो छ्यापाछ्याप प्रतियोगिता चलेको रहेछ । तँ रामजस्तो आदर्श कि म रामजस्तो आदर्श भनेर आफूलाई बढी आदर्श देखाउने तँछाड मछाड रहेछ ।
यो गाँड कोराकोर प्रतियोगिता देखेर मलाई अचम्म लाग्यो, भन्न चाहिँ आदर्श रामराज्यको दाबी तर गाँड कोराकार, कसरी रामराज्य हुनसक्तछ भन्ने मलाई खुलदुली जाग्यो । केही नसोधि फर्कनैँ सकिनँ । पञ्चरत्नमध्येका एक रत्नलाई सोधेँ– “तपार्इँ आफ्नो कार्यालयलाई आदर्श रामराज्य भनेर दाबी गर्नुहुन्छ, तर मारामार रहेछ नि त ?¨
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले प्वाक्क बोलिहाले– “राम राज्यमा यस्तै हुन्छ, भाइभाइ नजुधे कसरी रामराज्य हुन्छ ? राम राज्यमा बालि र सुग्रीव दाजुभाइ जुधेको तपाईँलाई थाहा छैन ? बडा गजबको मान्छे हुनुहुँदो रहेछ तपार्इँ त ।” मै माथि पो प्रश्नवाचक उत्तर तेस्र्याए । मेरो चित्त बुझिरहेको थिएन । तर मसँग कुनै उत्तर पनि थिएन । उनका यी पवित्र वाणीसँगै म अक्क न बक्क उनको च्याम्बरबाट बाहिर निस्केँ ।
अक्क न बक्क भए पनि मैले हारेको चाहिँ थिइनँ । रामराज्यका थप लक्षणहरू हेर्ने मेरो रहर पूरा भएको थिएन । त्यसैले पञ्चरत्नमध्येका रत्न नं दुुईकहाँ पसेर रामराज्यका थप लक्षणहरू केलाउने आँट गरेँ । पहिला रत्नलाई झैँ उनलाई पनि प्रश्न तेस्र्याएँ– “तपाईँको कार्यालयलाई रामराज्य भन्ने आधारहरू के के छन् त ?”
जसले जे जानेको छ, जे मा चाख छ र जे चिज आफूसँग छ त्यही तेस्र्याउने र त्यसैमा पण्डित्याइँ छाँट्ने सबैको बानी नै हुन्छ । रत्न नं. दुई महोदयको सरुवा, बढुवा, विदेश भ्रमण हप्काइ दप्काइ र कर्मचारीलाई निरुत्साहित गर्नमा बढी दिलचस्पी रहेछ । तर त्यसलाई उनी आफ्नो विशेष गुण भनेर दाबी गर्दा रहेछन् । उनले पनि आजै पञ्चरत्न बसेर गरेको एउटा निर्णय सुनाइहाले– “हेर्नुहोस् हामीले किन यो कार्यालयलाई रामराज्य भनेर दाबी गरेका छौँ भन्ने कुरा हामीले गरेको कामको एउटा मात्र उदाहरण हेरे तपाईँ थाहा पाइहाल्नुहुन्छ । ल सुन्नुस्, यहाँ हामीकहाँ कसैप्रति असमान व्यवहार हुँदैन । समान व्यवहार कस्तो हुन्छ भन्ने आजैको एउटा निर्णय तपाईँका लागि काफी हुन्छ । म तिर निर्णयको प्रतिलिपी तेस्र्याउँदै उनले थपे, हामीले यी आज दुई जनालाई यो कार्यालयबाट बाहिर पठाउने निधो गरेका छौँ, हेर्नुहोस् एउटालाई जेनेभा र अर्कोलाई जुम्ला । बराबर व्यवहार गर्नका लागि हेर्नुस् त ल दुवै जनालाई हामीले एउटै अक्षरबाट नाम सुरु भएको अर्थात् “ज” अक्षरबाट सुरु हुने स्थानमा पठाउन लागेका छौँ जुम्ला र जेनेभा । त्यसो त एउटालाई पोखरा र अर्कोलाई जेनेभा पठाउने कि भन्ने कुरा पनि हाम्रो वैठकमा छलफल नभएको होइन । तर जुम्ला र पोखरा गर्दा एउटालाई “ज” बाट सुरु हुने ठाउँमा र अर्कोलाई “प” बाट सुरु हुने ठाउँमा पठाउँदा त असमान हन्छ नि भनेर एउटालाई जुम्ला र अर्कोलाई जेनेभा पठाउने निधो गरेका हौँ । त्यसमाथि फेरि यसमा अर्को कुरा पनि बराबरी व्यवहार गरिएको छ, जुम्ला जाने र जेनेभा जाने दुवैलाई हामीले तीन तीन वर्ष याने कि बराबर समयको लागि जुम्ला र जेनेभा पठाउने निर्णय गरेका छौँ । सबैका लागि यस्तो समान निर्णय अरु कुन कार्यालयमा हुन्छ ? राम राज्यमा कसैलाई असमान व्यवहार गरिएको छैन त्यसैले हाम्रो जस्तो सबैका लागि बराबर व्यवहार हुने कार्यालय रामराज्य हो ।”
सबैलाई समान व्यवहार गरेको भन्ने सम्बन्धमा उनी अरु पनि कोनि के के भन्न खोज्दै थिए । ओहो ! मेरो त दिमाग नै रिङ्गियो, एक गिलास पानी पिएँ र सुइँकुच्चा ठोके उनका च्याम्बरबाट । बाहिर निस्केपछि क्या आइडिया मास्टर माइण्डहरूलाई यो रामराज्यमा पठाइएको रहेछ जस्तो लाग्यो, आफू त साह्रै बुद्धु हो कि भने झैँ लाग्यो । यस्तो मास्टर माइण्डका अगाडि परेर किन बुद्धु हुन्छस् केटा भाग भने झैँ लाग्यो । तर फेरि एकैछिनमा नभाग केटा यस्ता माष्टर माइन्डहरूबाट तँ पनि आइडिया सिक भने झैँ लाग्यो र अर्को रत्नकहाँ किन नपस्नु भनेर त्यतैतिर हुइकिएँ । कोही रत्न नमस्कारमा रमाउँदा रहेछन् । उनलाई नमस्कार गरेवापत उनले एकजनालाई अघोषित पुरस्कार दिलाइदिएका रहेछन् । एउटाले हल्ला गरे वापत त्यसलाई दुर्गममा सरुवा गरिदिन आफूले सुटुक्क सल्लाह दिएको भन्न पनि उनले भ्याए । “खाए पनि नखाए पनि खाने, खुवाउने कुराको खुला बहस गर्ने अधिकार सुरक्षित भएकाले नै यो कार्यालयलाई हामीले रामराज्य हो पनि दाबी गरेका हौ”, उनले भने । अनि अन्त्यमा मलाई घुरेर हेर्दै भने– “तपाईँ पनि खानै आएको त होला नि ?” । नखाइ बाँचिन्न भन्न मन लागेको थियो, तर भन्न सकिनँ । लुरुक्क स्याल जस्तो भएर हिँडे ।
जताततै आनन्ददायक निर्णय र गतिविधि देखेर रामराज्य भनेको दाबी गरेको ठीकै हो कि जस्तो लाग्यो, तर रामराज्यमा बलिदानीको कुरा देखिनँ । रामराज्यमा राम–रावण युद्धमा धेरै वानर सेनाको बलिदानी भएको थियो । यो रामराज्यमा पनि यस्तो कुनै बलिदानी छ कि भन्ने जिज्ञासा भयो । पञ्चरत्नमध्येका अन्तिम रत्नकहाँ पुगेर एकपटक बलिदानीको कुरा गर्न मन लाग्यो । उनको च्याम्बरभित्र पसेँ । ठूलै रत्न भएकाले मेरो धनुष्टंकार नमस्कार गइहाल्यो । मेरो नमस्कारसँगै रत्न नं पाँचको घुम्ने कुर्सी मतर्फ घुम्यो । भूमिका नबाँधी सोधिहालेँ– “होइन तपाईँको कार्यालयलाई रामराज्य भन्दा रहेछन् । रामराज्यमा बलिदानीको कथा छ । रावणमाथि विजय प्राप्त गर्न धेरै वानरसेनाले बलिदानी गरेका छन्, तपार्इँको कार्यालयमा रामराज्यको जस्तो त्यस्तो बलिदानी के छ ?”
“छ एकदम छ ।” मैले प्रश्न तेस्र्याउन नपाउँदै उनले फूर्तिसाथ बोले । उनको हाउभाउ देख्दा लाग्थ्यो कि मैले यही प्रश्न गर्छु भन्ने उनलाई पहिले नै थाहा थियो र उत्तरको तयारीका साथ बसेका थिए । उनले थप प्रष्ट पार्दै भने– “हर्नुहोस् जसरी रामले रावणमाथि विजय प्राप्त गर्दा वानर सेनाको बलिदानी गरेका थिए हामीले पनि हामी पाँच जना बीचको यो लडाइँमा हाम्रा कर्मचारीहरूको बलिदानी गर्दैछौँ । हामीले हाम्रा राष्ट्रसेवकहरूलाई भनिसकेका छौँ, अब हाम्रो अन्तिम लडाइँ सुरु हुँदैछ, बलिदान हुनको लागि तयार होओ ।”
“अनि लडाइँ तपार्इँको बलिदानी अरुको, राम राज्यमा पनि यस्तो हुन्छ ?” मैले प्रतिप्रश्न गरेँ । यो सुनेर उनले झन् कड्कँदै भने– “किन हुँदैन, रामराज्यमा रामको बलिदानी भएको थियो र ? वानरको न भएको थियो । हो, त्यस्तै राम राज्यमा रामको नभएर बानरको बलि भए झैँ हामी पनि हाम्रो नभएर कर्मचारीको बलिदानी गर्दैछौँ । हामीले नै बलिदानी गर्ने हो भने त यो हाम्रो रामराज्य कसले चलाउने नि ?”
उनका कुराले मलाई विश्वास भयो । यो रामराज्य नै भएको कुरामा म विश्वस्त भएँ । यो कार्यालयबाट सिकेर देशका अरु कार्यालयले पनि आफ्प्ना गतिविधिहरूलाई यस्तै बनाए सबै कार्यालय रामराज्य हुन थिए भन्ने सोच्दै बाटो लागेँ । फर्कँदा रामराज्यको भ्रमण सार्थक भएकोमा भित्रभित्रै म खुसी थिएँ ।
काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest









































