साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो मान्छे ?

Nepal Telecom ad

एउटा कुराले हैरान पारिसक्यो भनेको के गर्ने होला खै ? जसले पनि देख्यो कि भेट्यो कि खालि ‘कस्तो मान्छे ?’ भन्छन् । अब कस्तो मान्छे भन्ने, मान्छेजस्तो मान्छे भनेर भन्दा नि हुँदै हुँदैन बा ! यही कुराले क्या टेन्सन भै सक्यो भन्या !
जन्मेदेखि आजसम्म कसैले पनि यस्तो मान्छे भनेर पत्ता लगाउन सकेका छैनन् । बुद्धिमा खडेरी प¥याहरू खालि अर्कालाई भन्छन् ‘कस्तो मान्छे ?’
आमाको पेटभित्रै बस्छु, बाहिर आउँदिन नि बाबा भनेर बाहिर आउन नमान्दा नमान्दै जबरजस्ती काँक्रो चिरे जस्तै आमाको पेट चिरेर बाहिर निकाल्ने डाक्टर नर्सले देख्ने बित्तिकै ‘कस्तो मान्छे ?’ भनेर भन्न सुरू भ’को यो ‘कस्तो मान्छे ?’ भन्ने ओलम्पिक म्याराथुनको मिटर चल्याचल्यै चल्याचल्यै छ भन्या ! जबरजस्ती बाहिर निकाल्ने उनीहरूलाई पो थाहा हुनु पर्ने हो आफूले निकालेको मान्छे ‘कस्तो मान्छे ?’ भनेर, उसैलाई सोध्ने हो ? त्यति जाबो कुरो पनि नजान्ने खूब डाक्टर नर्स भैखाका !
यस्तै प्रश्न सुन्दै एक दशक बितेपछि जन्मदाताको घैंटामा घाम लागेर हो वा किन हो कुन्नि पढ्न भनेर दाइदिदी पढ्ने स्कुलमा भर्ना गरिदिए । झन धेरै वर्ष नलगाई एकैचोटि दाइदिदीसँगै बसेर उनीहरू जत्तिकै धेरै पढ्छु नर्सरीमा जान्न भन्दा छुच्चा टिचरले ‘कस्तो मान्छे ?’ भन्दै तान्दै रुवाएँदै सिङाने भुरा पढ्ने नर्सरीमा पो लगेर थचारे बा ! कम्ता रिस उठ्याथ्यो र ! रिसलाई मुस्किलले कन्ट्रोल गरेर लौ भै हाल्यो नि त ठीकै छ भनेर चित्त बुझाएँ ।
अलि ठूलो कक्षामा पुगेपछि गुरु बाउआमाले किताब कापी सफा राख्नुपर्छ केर्नु हुँदैन भनेर सिकाए । आफू परियो गुरुभक्त ! त्यसैले गुरु आज्ञा शिरोपर गरेर किताबलाई जतनसाथ दराजमा राखी ताल्चा मारेर कापीमा पनि केही नलेखी एकदम सफा राखी देखा’को त ‘कस्तो मान्छे ?’ भनेर उनीहरू नै पो भन्छन् ए ! महङ्की छ घरमा बाआमालाई यसो मद्दत पनि हुन्छ, त्यसैले आलु लड्डु लगिदिनु पर्यो भनेर जाँचाँ टन्न ला’र आलु लड्डु ल्या’को त देख्नासाथ उल्टै ‘कस्तो मान्छे ?’ भनेर गाली गर्छन् बाउआमा त, स्याबासी दिनु त काँ हो काँ ? जे गरे पनि सुख छैन हे दैव ! अब के गर्ने होला खै ?
पढेर नखाने मान्छेलाई अब जागिर ख्वाउनु प¥यो भनेर पिताश्रीले धेरै पापड बेलिस्यो । जति बेलेनी जस्ताको तस्तै, ख्वाउन सक्या भए त मरी जानु । कस्तो हाँसो उठ्दो कुरा, पढाइ जागिर पनि खाने कुरा हुन् र खानु, पिज्जा, बर्गर, मम आदि खानेकुरा ख्वा’को भ पो कुुपुकुपु खानु त ! सबैले बुझेको त्यति सानो कुरा पनि नबुझ्नेले अर्कालाई किन ‘कस्तो मान्छे ?’ भन्नु नि !
यति मात्रै कहाँ हो र, नयाँ जिन्स पाइन्ट धारिलो पत्तीले चिरेर धुजाधुजा भएको जस्तै धुजिएको छ बटर केक भन्दा नरम यो दिल ‘कस्तो मान्छे ?’ भन्ने उत्तर विहीन् एउटै प्रश्नले । ल सुन्नुहोस् है, अरू केही धुजा हुँदाको व्यथाको कुरा—
जन्मेदेखि नै आमौरीले ल्याक्टोजिनमै घोलेर ‘पाहुना भनेका देवता हुन् । उनर्को स्वागत् गर्नुपर्छ, राम्ररी ख्वाउनु प्याउनुपर्छ ।’ आदि इत्यादि भनेर घुट्टीमै पिलाएकी थिन् । एक पटक कोही नपा’र घरको गोठालो मैलाई राखेर सबैजना मोज गर्न बाहिर ग’का थे । त्यही टाइममा एकजना नचिनेको मान्छे मम्लाई खोज्दै आयो । गेस्टजीलाई खूब आदर गरेर बैठकमा बसाली ख्वाएँ, प्याएँ, सक्दो सत्कार गरेँ । उसले पनि बडो माया गरेर मिठाई खान दियो । अतिथिदेवको प्रशाद सम्झेर मुखमा हालेको त निद्रा देवीको अँगालोमा पो पुगिएछ । पछि बाउआमाबाट ‘कस्तो मान्छे ?’ भन्दै गालीका साथ चड्कन् चिउरा पाएपछि झल्याँस्स भएर नयन खोलेको त किमती सामान, गहना, पैंसा आदि उपहार सम्झी लिएर पाहुनादेव त अन्तध्र्यान भैसकिसेछ । त्यसपछि मनमा, तनमा गाली र पिटाइका कति असिना बर्सिए, कति पसिनाका साथै अश्रुजल बर्सिए भनेरै साध्य छैन । तर माताश्रीकै उपदेश मानेर ‘अतिथिदेवो भव’ भनेर आदर सत्कार गर्दा के गल्ती भयो आजसम्म मैले बुझ्न सक्या छैन । त्यसपछि अबदेखि नचिनेको मान्छेलाई घरमा आउन नदिनू भनेर पिताजीबाट आज्ञा भयो । ‘हस्’ भनेर आज्ञाको पालना गर्न थालेँ । यो घटना घटेको केही समयपछि आफ्ले नचिनेका केही मान्छेलाई घरभित्र पस्न नदिएको त उल्टै ‘कस्तो मान्छे ?’ तेरी दिदीलाई माग्न आएका केटा पक्षका मानिसलाई किन घरमा आउन नदे’को ? तैँले गरेर कुटुम्ब भड्किए । अब तेरी दिदीको बिहेको कुरो पनि टुट्यो ।’ भनेर पो गाली खानु पर्यो । क्या फसाद ! यसो गर्दा नि हुँदैन उसो गर्दा नि हुँदैन भन्या ! अब के गर्ने होला लौ न बाबा ठाकुरे ! के गरौं ?
एक पटक पिताजीले हजामकहाँ गएर कपाल काटेर आ भनेर अराइस्यो । आज्ञा शिरोपर गर्दै लुरुलुरु गएँ । हजामले कस्तो, कति काटने भनेर सोध्यो । पिताश्रीले यस्तो उस्तो केही भनिस्या थिएन । त्यसैले काट्नै पठाएको हो क्यार ! घरिघरी कति काट्नु एकै पटक काटे पैसा नि जोगिन्छ भन्ने ठानेर जरैदेखि काटेर आज त पक्कै यस्तो दूरदर्शिताको प्रसंशा होला भनेर पकौडे नाकलाई फुलाएँदै मक्ख परेर आ’को त देख्नासाथ आफ्नोे मरुभूमिजस्तो टाउकोमा हात बजार्दै ‘हरे शिव ! कस्तो मान्छे ?’ पो भनिसिन्छ गाँठे पिताश्री त !
एकदिन महातारी बाथरुममा जल विहार गरिरहेको वेला भिक्षुकको आगमन् भयो । घरमा अरू कोही नभएकाले आफ्नोे कार्यमा वाधा नपार्ने मनसायले मम्ले ‘भिक्षुकलाई चामल दे ।’ भन्ने आदेश भयो । सकिनसकी चामलको बोरा घिसार्दै लगेर दिनासाथ आशीर्वाद प्रदान गर्दै भिक्षुक कुलेलम ठोकी अदृश्य भए । आफू भने दङ्क पर्दै आहा ! आज त यस्तो राम्रो काम गरेकाले पक्कै मम्बाट स्याबासी र इनाम पाइने भो भन्ठानेको त कहााँको स्याबासी र इनाम पाउनु नि, उल्टै ‘कस्तो मान्छे ?’ भन्दै मम् ज्वालामुखी बनेर पो फुटिस्यो भन्या ‘कस्तो मान्छे ?’ ल तपैं नै भन्नुस् त, आज्ञाकारी भएर आज्ञाको पालना गर्दा नि यसरी हप्किदप्की गर्नुहुन्छ त कहीं ?
कसैलाई भेट्दा वा कसैकाँ जाँदा खुसी हुनुपर्छ, हाँस्नुपर्छ भनेर घरमा सबैले सिकाएका थे । एकदिन सबैजना मामाघर गएका थ्यौं । त्यहाँ सबैजना रोइर’का थिए । घरमा सधै पाइने अर्ती सम्झिँदै बडो खुसी भएर हाँस्तै ढोकाभित्र छिरेको त ‘हजुरबुबा मर्दा पनि हाँस्ने ‘कस्तो मान्छे ?’ भन्दै गाली गर्छन् बा सबैजना !
सधैं सबैले मलाई बोल्नु अगाडि गम खानुपर्छ अनि मात्र बोल्नुपर्छ भनेर सिकाउथे । तैपनि मैले कहिल्यै गम खाएर बोल्या थिएन । पक्कै पनि मैले बोल्नु अगाडि गम नखाएकाले नै सधैंं गाली खानु परेको होला भन्ने विचार गरेर आज चाहिँ गम खाएर मात्रै बोल्छु भन्ने सोचेर एकपटक एक ट्यूब गम खाएको त मेरी बाबै काँको बोल्न सक्नु नि ! उल्टै दुबै ओठ टाँसिएर क्या आपत् ! घरमा अरूले थाहा पाएपछि झन् बढी गाली गर्दै ‘कस्तो मान्छे ?’ गम पनि खाने हो भन्दै हस्पिटल पो दौडाए भन्या !
जे गर्दा नि जसो गर्दा नि सधैं उनीहरूको कर्कलोबारी फाँडे जसरी गाली मात्र खाएपछि यसै नहुने उसै नहुने लौ त अब झुन्डिएर मर्दिन्छु भन्ने सोचेर पासो लाउनलाई नरम घाँटीमा नबिजाउने आमाको रेशमको सारी खोज्दाखोज्दा नभेटेपछि हत्तु भएर अब भएन आमासँगै माग्नु पर्यो भनेर मागेको त मेरी बाबै आमाले त ‘कस्तो मान्छे ?’ भन्दै झन्डै नमारेको नि ए गाँठे !
हे राम ! जसरी नि सुख भएन, यो ‘कस्तो मान्छे ?’ भन्ने जन्मजात प्रश्नले ज्यान गए छोडेन । अब के गर्ने होला खै ? यदि तपाईंलाई ‘कस्तो मान्छे ?’ भन्ने प्रश्नको गूढ ज्ञान प्राप्त छ भने लौ न दीक्षा दिएर शिष्य बनाउने कृपा गरिबक्सियोस् प्रभु ! कहीँ तपाईं पनि ‘कस्तो मान्छे ?’ पो हो कि ?

‘फित्कौली’ २०६५ भदौको अङ्कबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x