सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पोहोर मरिन सासू अहिले आयो आँसु

Nepal Telecom ad

परेका बेलामा नझरेको आँसुको के अर्थ ? अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको दबाई नाइटामा लाइ भनेको यही होला ।
मान्छेहरू बिब्ल्याँटो सब्ल्याँटो सजिलै बन्न सक्ने प्राणी हो । मनस्थिति ठिक छ र सन्तुलित मानव हो भने असन्तुलित बन्ने स्थितिले हत्तपत्त हात हाल्न सक्दैन । सचेत मानवका यावत क्रियाकलापहरूमा सोच्दा या नसोच्दा पनि फरक स्थिति जन्मिनासाथ ज्ञानेन्द्रिय, कर्मेन्द्रियहरू सक्रिय बनेर आफ्नो लक्षण देखाउन थालि हाल्छन् । अवतरण, अवसान या सिर्जना हरेक कुराले दुःख या खुसी भित्र्याउन सक्छ । दुःखले मन निचोरे पछि मनको भित्तो रित्तो हुने गरी रसाउँदै आँखाको तलाउ छचल्किएर नेत्रको डिल भत्काउँदै समुन्द्र बग्न थाल्छ । चौविस क्यारेटको मोजमस्ती भोज भतेर यस घडीमा विलिनु/फिक्का/खल्लो लाग्छन् । निरास ज्यान, उदास मन र बेचयन तनले लखेटि रहेको मानवको प्रकृतिले र प्रवृत्तिले गलत मार्ग समाउँदा सासू मरेको वर्षदिन पछि बल्ल अक्कल खुल्छ र ठिक बेठिक छुट्याउने सिलसिलामा सासूको कसी लगाउँदा आँसु आउनु स्वभाविकै मानिन्छ । एक अर्थमा अबेला आँसु आउँदा अनर्थ पनि लाग्छ । तैपनि समाजमा राम्रा नराम्रा गतिला अगतिला खल्ला मिठा नाना भाँतिका घटना उपघटना र उदेक लाग्दा उखान टुक्काहरू देखे, सुने, भोगेकै मध्ये एउटा उखान हो ‘पोहोर मरिन सासू अहिले आयो आँसु’ । यहाँ यस मामलामा व्यङ्ग्य भावमा सूक्ष्म विश्लेषण र क्षिद्रान्वेषण गर्नु आफ्नो धर्म ठानेको छु ।
सासूको श्रीसम्पत्तिमा बुहारीको हालिमुहाली एक छत्रले चलेको छ । बुहारीको राइँ दाइँ चल्दा ज्वाइँको पनि राइँ दाइँ चल्नु पर्ने हो तर चल्दैन । किनकि यहाँ समाज तगारो बनेर बसेको हुन्छ । समाजलाई लत्याउन कसले सक्छ ? सासूको अवसानसँगै उनले अधिकार जमाएको दुवै हातले र ह्याकुलाले समाएको जायजेथा पोको पन्तुरो, पेवापात, सबै आफ्नो हात भन्ने सोचेकी बुहारी सासूको मरणले मात्र आँसु झार्न गारो पर्छ । कसले के गर्छ ? रुनु नरुनु स्वतन्त्र नागरिकको आफ्नो अधिकार, स्वविवेकको क्षेत्राधिकार भित्र पर्देन र ? कोही मर्देमा वा विलय हुँदैमा तत्काल आँसु खर्च गरिहाल्नु पर्छ र ? पछि फुर्सदमा सम्झिँदै रुँदै सम्झिँदै रुँदै गरे भई हाल्छ नि । सासूको सम्पत्ति लट्टीपट्टी पार्दे आफू पट्टि सार्दै दुबै हात र ह्याकुलाले लुँड्याउन पाउँछु भन्ने सोचाइका साथ उत्कट खुसीको शिखरमा डुबेकी मेरी बुहारी सासू परलोक भएको वर्ष दिन पछि बल्ल आँखा रसाएका छन् । उनले भरथेग गरेको संसार र इस्टमित्र सम्झिएर बुहारी सारै दुःखी भएकी छन् । अर्काको पौरखमा केही समय मोज र पोज देखाउँदै रमाइएला, ‘मामाको घोडा मेरो हिहि’ गरिएला त्यसपछि आफ्नै दश नङ्ग्रा खियाउनु, हाडमासु घोट्नु परिहाल्छ । चाहे त्यो बुहारीले होस् या छोराले । अर्काको कमाइको रमाइ क्षणिक हुन्छ । आफ्नै श्रम र सिपको मेहनतले मात्र कमाई र रमाइको तालमेल मिलाउन र दिलाउन सक्छ । कालो धन, कपट मन र अल्छि जनले जिन्दगीमा कहिल्यै सुख भित्र्याउन सक्दैन उल्टो दुःखको सागर सिर्जना गर्न सक्छ ।
जेष्ठ नागरिककै कुरा गरौँ न जो कसैले पनि हात मासि चलुन्जेल केही न केही पौरख गर्नै पर्छ । मआफू पनि त्यही दर्जामा दरिएको छु । जेष्ठ नागरिकको भुँडे भाग पाउँछु, मान, भुक्तमान र सम्मानले गलगिद्ध हुन्छु भन्छु छेपाराको कथा जस्तो आफूलाई जहिले पनि बस्त्र हिन र नाङ्गो अनुभूति हुन्छ । पाइलो नसारी पेट भर्न, सुखै सुखमा मर्न खोज्छु तै पनि सधैँ एकनास कहाँ हुन्छ र ? आफ्नै श्रीमती हुँदा पो मोज, मस्ती र ऐस आराम मिल्थ्यो । आधा अङ्गलाई बेढङ्गसँग दैवले थुतेर लगेपछि सुतेर खाने दिन पनि सँगै जाँदो रहेछ ।
मान्छेहरू दैव लागोस् शत्रु नलागोस् भन्थे मलाई त दैव भन्दा शत्रु नै ठिक लाग्छ । शत्रुले श्रीमतीलाई ठहरै त पार्दैन थिए कि ? दुनियाँले रमझम, हिमचिम बढाएर आँखा झिमझिम पारे पनि भातको र रातको अधिपति त हुन पाइन्थ्यो । यस्तो भागको आशेलाई यो कस्तो अभाग ? पहिला छोरा छोरीले के खाए कसो गरे भन्ने चिन्ताले जलिन्थ्यो । आज आधुनिक छोरा बुहारीले तातो पानी पनि समयमा नदिँदा चिसै पानीले देह जलिरहेछ । धिपधिपे जिन्दगी चलिरहेछ । आङमा हुँदैन धजो महिना छ माग । पौष्टिक आहार हुँदैन खानु पर्छ सागको सिकुटी या साग । दिनहुँ छोरा बुहारीको कचकच र ननिको राग । जङ्गली जनावरको के कुरा छोराबुहारी नै भए बाघ । कि सहेरै बस ससुरा नत्र भाग । यस स्थितिमा छोराबुहारी छन् भनेर समाजमा कसरी देखाउनु धाक । अनि अन्तरात्माले भन्छ “के खान बाँचेको छस, चाँडै श्रीमतीको पछि लाग ।”
अर्धाङ्गीनीलाई दैवले चुँडेर लगेपछि म मर्द नामर्दतालमा जुँगा मुडेर बसेको छु । एउटा मरेपछि अर्काको कागताली पर्दाे रहेछ । आज मेरा छोराबुहारी मेरै अगाडि त्यसैको दावेदार र डन बनेका छन् र भनेका छन् “खबरदार ! … अबको जुनी हाम्रो, केही नगरी चुपचाप बसे राम्रो । यसरी भगवान्ले छप्पर फोरेर छोराबुहारीतर्फ चिट्ठा पारिदिएका छन् । त्यही चिट्ठा छोरी ज्वाईतिर परे ज्वाइले ससुराको गालामा म्वाई खान्थे होलान् । तर छोराबुहारी तिर पर्नाले आज चड्कन खान विवश भइसकेको छ । यो कर्तुत सबै छोरा मोराको हो । त्यसमा पनि केही छैन ‘कहाँ पोखियो दुध आफ्नै भागमा’ । ‘बाबु आमाको मन छोरा छोरीमाथि छोराछोरीको मन ढुङ्गामुढा माथि’ भनेको पनि सायद यहि होला ।
छोरा बुहारीको आफ्नै संसार जेष्ठ नागरिकको आफ्नै संसार । संसार, भन्सार र धन्सारको कित्ताकाट भएपछि काटाकाट नहुने कुरै भएन । यस घडीमा बृद्धलाई लुलो खुट्टो चाल्न गारो पर्दाे रहेछ । उर्बर भूमी भएकी बुहारीको पनि यावत समस्याले जीउमा काँडा उम्रिराखेका छन् । बग्रेल्ती बर्सेनी बर्सिने नातिनातिनाको पालन पोषण, लालन पालन जस्ता घरायसी झन्झट ज्यूँका त्यूँ छन् । खाना, नाना र सानाको चित्त बुझाउँदै छोरा बुहारीको समय सखाप भएको देखि देखि म बुढाले पनि म तिर फर्क धेरै न तर्क मेरै सिहार गर्नू पर्छ भनेर कसरी भन्ने ? बेर्ना÷नयाँ विरुवाको सिहार सम्हार गरेर नयाँ फलको ग्यारेन्टी छोडेर पेन्टी सिहार्न नसक्ने बुढो रुखको सिहार कस्ले गर्छ ? जसरी चर्छ चर्छ, जे गर्छ गर्छ, मनले नमानेको कुरा कस्ले गर्छ ? सासूको झिटी गुन्टाले विदा लिए पछि बुहारीको आधुनिक अनुहारको आभा र बैंसको लाभाले चोला फोरेरै होला लाली मुहार काली, चाउरी र दाउरी हुँदै गए पछि सगाउ पगाउ, मगाउ पु¥याउ गर्ने सासू साथी नै माथी गए पछि आज सासूलाई झल्झली आँखामा नचाएर मनको मैदान भिज्ने गरी वर्षदिनपछि बुहारी कंकला हाब्रे स्वरले डाँको छोडेर रुन रुचाउछिन् भने म जेष्ठ नागरिक पनि के कम बर्काेले मुख छोपेर एकान्त बास चर्पी या घरको दैलो बन्द गरेर रुन्छु । मेरो त झन् आफ्नै निजी श्रीमती किन नरुने ? तै पनि ट्वाल्ल, वाल्ल परेर हेर्न शिवाय केही गर्न नसक्दा आफूभन्दा ठूलाले मलाई ‘चिरायू भएस्’ भनेको सम्झिँदै रुष्ठ र क्रोध चेष्ठामा बृद्ध बाबुलाई बृद्धाश्रममा कोच्ने कर्मठ वाणी अनि ‘बुढो गोरु मरे भकारो खाली हुन्छ’ भन्ने आशयपत्र÷पुत्रको पुलिन्दामा आइन्दा घोरिँदै एकोहोरिँदै दिन बिताउँछु एक मनले भन्छ शायद मेरा ज्वाइले पनि ससुरो भएको वर्षदिनपछि चिसा आँखा पुछ्दै भन्छन् ‘पोहोर मरे ससुरो अहिले खाइइो मुसुरो’ र भित्री मनले चिताउँछु ‘जे सुकै खाउँ, जस्तो सुकै लाउँ, तर घरमै मर्न पाउँ, अब कता जाउँ ?

फूलबारी– ११, पोखरा
फोन : ०६१५३०१२२, ५३४७१३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई