हरिकला उप्रेतीम त साहूजी हुँ
काट्छु त हो लुगाको डोरी । अर्काको घरमा बसेर मनपरी गर्ने । खातेको झुपडी जस्तो हो र मेरो घर । चिसो लुगा भुइँभरि भन्दै चर्चरी बाज्छन् ‘जुन गोरुको सिङ छैन उसैको नाम तिखे’ भनेजस्तो । कहाँका हरिकङ्गाल हुन्, खोले खान नपाएर सहर पसेका । लुगामाथिबाट मोटर साइकल कुदायो पो भन्छन् है ! तिनेर्का हिला लुगा हटाएर कुदाउनु त ?
हिलो भए धुनु नि दु–दुई दिनमा, दुई घण्टा पानी आइहाल्छ । पहिला चारैवटा धारामा पानी दिएकै हो । नाथे, मेरै घरमा बसेर मैसँग सिङ जोड्ने । त खाए त ऐले । चारवटै फ्ल्याटमा बस्नेलाई एउटा धारो । गेट बन्द, घुमेर जानुपर्दा देख्याछन् बाउको बिहे । भाडामा बस्नेबस्ने एकजुट भएका होलान् । “दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले” भन्या यही हो ।
पैसा तिरेको छ भन्दैमा पहिले थाप्न दिनु रे † “आफूलाई नभई अर्कालाई, हिउँदलाई नभई बर्खालाई ।” खानेपानी त थाप्न दिनुस् न साहूजी पो भन्छन् है । आफूलाई पुग्दो नथापी धारा सुक्यो भने ? कोठामा बस्नेको पो इज्जत हुँदैन । शरम सकिएका हुन्छन् । बाल्टिन बोकेर जहाँ गए पनि हुन्छ, म त साहूजी हूँ साहूजी, घरको मालिक । काठमाडौंमा पाँचतले घर छ मेरो । पढाइ–लेखाइ जिरै भए पनि इज्जत छ इज्जत । महिना दिन भइसक्यो कोठा छोड भनेको । खोज्दैछौं साहूजी भन्दै ङिच्च गर्दै बस्छन् । इज्जत र बेइज्जतको ख्याल नभएका खातेहरू !
रात–दिन आफूलाई कस्तो टेन्सन छ ! कहिले हारिन्छ । कारखानाको सबै कमाइ स्वाहा हुन्छ । कहिले दुईचार पैसा भइहाल्छ । यसो साथीभाइ बसेर रमाइलो गर्नैप¥यो । त्यही पनि डराउनुपर्छ । अब त स्वास्नी, छोराछोरी नै कहाँ गयो भन्दै छ्याप्छ्याप्ती खोज्छन् । दिनैपिच्छे ठाउँ सर्नुपर्छ । मनोरञ्जन गर्न पनि निक्कै गाह्रो भयो । बाहिरको टेन्सनले रन्थनिदै आयो । ‘कुन्ताकी बुहारी भट्मास खाकी’ भनेजस्तो घरमा स्वास्नी हुप्प फुलेकी हुन्छे । के भो भन्न पा’को छैन मध्यरातमै लट्टे पड्केझैं पड्किन्छे घण्टौंसम्म । धन्न बाहिरका मान्छे हुनाले कुरो बुझ्दैनन् ।
राति एघार–बाह्र बजेसम्म बत्ती बाल्छन् । टिभी हेर्छन् । पढ्छन् । क्यासेट बजाउँछन् । गफ गर्छन् । तिनेर्का नाइट डिउटी छ भन्दैमा मनखुसी बत्ती बाल्न पाइन्छ ? रातभरि बत्ती बाल्छौं, जुनसुकै बेला आउँछौं, जान्छौं, भन्यो कि, सबै फ्ल्याटमा सबमिटर छ । हामीले प्रयोग गरेजति चार्ज हाम्रैमा उठ्छ । बत्तीको, पानीको, कोठाको सबैं पैसा तिरेपछि हामीलाई बढी टेन्सन नदिनुस् है साहूजी रे ! त्यति गरेपछि त घर आफ्नै पो सम्झेछन् है ! के त्यो सबमिटर तिनेर्का बाउको अंश र आमाको दाइजो हो ? मैले नै राखिदिएको त हो नि !
अलेली नापिएका छैनन् । सबै भाडा बस्नेहरू आ–आफ्नो कोठावरिपरि मात्रै सफा गर्छन् । घरमा बसिसकेपछि तलदेखि माथिसम्म नै सिंडीहरू बढार्नुपर्छ, पुस्नुपर्छ, आफूलाई आफ्नै कोठाहरू सफा गर्न कस्तो छ । जेमा पनि निहुँ खोजेर जङ चलाउँछन् ।
यिनेर्काे साह्रै लालोपोतो भयो भनेर दुई–तीनवटा कोठाका मात्रै निकालौं भनेको त, घर छोडेर सबै पो निस्कने भए है । बोलेपछि लर्कोसर्कोमा छिटा अरूलाई पनि पारिहालेछन् । कोही–कोही त ठिकै थिए । सङ्गतले मात्रै बिगारेको हो । यो त काठमाडौं हो । काठमाडौंको जस्तै चाल भएको भए यस्तो हाल हुने थिएन । एकैतिरका परेछन् कि क्या हो ? गाउँघरजस्तै गर्छन् बा ।
पहिले–पहिले त मान्छे धेरै बसेको चारपाँच महिना हो । निस्किहाल्थे । यिनीहरू त बस्न थालेको पनि बाह्र वर्ष भयो । बिहे नगरुन्जेल त ठीकै थिए । जे भने पनि चुइँक्क गर्दैनथे । मान्छे पनि उप्रिमाथि थुप्री छन् । कोठामा बस्ने पनि ब्रह्मचारी आए पो । आफ्नो घर नहुनेले त विचार गर्नुपर्छ नि, अर्काको घरमा स्वास्नी, छोराछोरी डिस्टप हुन्छ भन्ने ।
अरू जे भए पनि भाडाचाहिँ महिनाको सुरुमै दिन्थे । माग्न जानुपर्दैनथ्यो पहिला एकपटक त झण्डै वर्षदिनजस्तो भाडा लागेन । कोही महंगो भो भनेर जान्थे । साँच्चै भन्ने हो भने सोध्नै आउँदैनथे । बल्लबल्ल बसेका तिनै पनि सबै जान्छन् जस्तो छ । उनेरू पनि झगडै भएर गएका । तेरा घरमा कोही आउन दिँदैनौं भन्थे । यिनेरू पनि त्यसै भन्छन् । बिताउ“छन् क्यार … !
जे होस् यो मेरो घर हो । मान्द्रो भएपछि बिस्कुन त पक्कै पर्ला नि । जे हुनु भैगो । अबचाहि मुखमा चाबी लाउनुपर्ला । बोल्यो कि पोल्यो भनेझैं पुलिस पो ल्याउछु भन्दै सात्तो लिन्छन् । गतिछाडासग बोल्नै नहुने भो । ऊ र गोबर नछुट्याउने, साहूजी त साहूजी हो इज्जत राख्नुपर्छ नि । यसरी टोलै थर्कने गरी होहल्ला गर्ने ? आफ्नो बानी नै त्यस्तै छ, नकराई खाएकै पच्दैन । अरिङ्गालको गोलामा ढुङ्गा हान्दाझैं सबै ओइरन पो थाले बा । नसकिने भो … ।
‘गोर्खेलौरी’ बाट
Subscribe
Login
0 Comments
Oldest










































