माणिकरत्न शाक्यनक्कली सालो
चावहिलको गोपीकृण्ण हलबाट बिहान ८ वजे माइक्रोबस चढेर कलङ्की पुगियो । कलङ्कीबाट धादिङको खानीखोला पुग्न जुन गाडी भेट्छु त्यसैमा चढ्यो, कार्यालय पुग्यो । यो हो मेरो जागिरे जिन्दगीको दैनिकी ।
एकदिन कलङ्कीबाट बस चढेर थानकोट छेउ मात्र के पुग्याँथे थानकोट बासीहरूले प्राधिकरणले लोडसेडिङ बढाएको निहुमा चक्का जाम गरेका रैछन् । अव प¥यो फसाद ! १० वजे कुनै हालतमा कार्यालय पुग्नुपर्ने । चक्काजाम भएपछि कंलकीबाट चढेको बस छोडेर फटाफट हिँड्न थालेें । थानकोटदेखि नागढुंगाको वीचमा मात्र के पुग्या थे त्यहीवेला एउटा मोटरसाइकल आएको देखे, हात दिएको रोके । मैले भने– खानीखोला जान लागेको यसो सहयोग पाउँछु कि भनेर हात दिएको भन्दै सफाइ दिएँ । लौ बस्नुस् त भन्दै मलाई पछाडी राखेर दौडाए । म वाणिज्य वैंक खानीखोलामा काम गर्छु, कार्यालय खोल्न जानुपर्ने ढिलो भएर तपाईसँग सहयोग मागेको भन्दै थप सफाई दिए । त्यही क्रममा उसले भन्यो – म सेनामा काम गर्छु, सरुवा भएर धदिङवेंसी जान लागेको । मेरो घर काभ्रे पनौतीको मल्पी स्कूलनिर पर्छ, मेरो नाम गणेश थापा हो भन्दै परिचय दिए । मैले पनि त्यही मौका छोपेर मेरो पनि पुख्यौली घर वनेपा हो, ससुराली पनौती हो, खोपासी जाने पुल छेउको घर हो भन्दै थप परिचय दिए । उसले त्यही मौका छोप्दै भन्यो– त्यसो भए त मैले तपाईलाई भिनाजु भन्नु प¥यो नि त ! तपाईकै गाउँको चेलीबेटी मैले लगेसि तपाईले भिनाजु भन्नै प¥यो नि ! मैले ठट्टा गर्दै भने । एकछिन ऊ मज्जाले हाँस्यो । त्यसपछि उसले बोलेपिच्छे भिनाजु सम्बोधन गर्न थाल्यो । मोटरसाइकल आफ्नै गतिमा कुदिरहेको थियो । मेरो दिमागमा कहिले कार्यालय पुगुला जस्तो भइरहेको थियो । किनभने वेलामा कार्यालय नपुगे खानीखोलाका स्थानियहरूले मेरो टाउकोमा बाँकी कपाल पनि सिध्याउने भो भनेर म त्राहिमाम थिए ।
मैले पनि उसको कुरामा होमा हो मिलाउँदै गए । त्यसपछि मैले पनि तपाई त तीनतिरबाट साइनो पर्ने रहेछ भन्ने ध्वांस दिए । पहिलो जिल्लावासी, दोश्रो ससुरालीवासी, तेश्रो म सवैको भिनाजु । हाहाहाहा । कुराकानीको सिलसिलामा भिनाजु मलाई साह्रै भोक लाग्यो, यता कतै खाने ठाँउ छ भने देखाइदिनु प¥यो भन्दै सहयोग मागे । मैले भने– मेरो कार्यालयको नजिक खुद्रे होटल छ अर्डर दिएपछि बनाएर दिन्छ त्यही खानु अनि जानु भनेर सल्लाह दिए । घडीको सुइले ठीक १०.४५ को संकेत गर्दा खानीखोला कार्यालय पुगें । उसलाई पसल देखाइदिए । माथी मान्छे भीड लागीसक्यो होला म जान्छु भनि उसँग छेट्टिएर बाटो तताए । नभन्दै मान्छे टन्न आएर बसेका रैछन् । सवै काम फत्ते गर्दा दिउसोको ठीक १.३० वजेको होला, पसले साउनी माथी आएर पैसा दिनुप¥यो भन्न आई । के को पैसा साउनी भन्दा अधि तपाई चढेर आएको मोटरसाइकलवालाले टन्न खाजा खाएर गएको छ, भिनाजुले पैसा दिन्छ भनेर गयो त्यही माग्न आएको । साउनीको कुरा सुनेर म दङ्ग मात्र होइन महादङ्ग परे । मैले त उससंग सहयोग मात्र मागेको थिए भुँडी फुट्ने गरी खाएर मरेछ बजियाले भन्दै रुन्चे हाँसो हाँसेर साहुनीको रु.५००÷ दिए । कार्यालयभरी यही कुराले सनसनी फैलियो । साउनी पनि मेरो कुरा सुनेर मुख च्यातेको च्यातै । नहास्ने कोही भएन ।
मैले वेलका घर पुगेपछि घरकीलाई तेरो माइती गाउँको भाईले आज यसो पो ग¥यो भनेर माथीका घटना सुनाउँदा हाँसेर मुख बायेको बायै । मान्छेले मौकाको फाइदा उठाउन जानेको देखेर म अचम्ममा परेको छु । होशियार ! मैले जस्तै तपाईहरूले पनि बाटोमा हिँड्दा नक्कली सालोको फेला पर्नुहोला नि !
सरस्वतीनगर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































