रमेश विकलप्रजातन्त्र : बडा नेता र रक्सी
पारदर्शिता, स्पष्टवादिताका नाउँमा महिलाले धोती, पुरुषले सुरुवाल फुकालेर सार्वजनिक प्रदर्शन गर्नु कति सामाजिक नैतिकताभित्र पर्छ, त्यो सोच्नुपर्छ । कसैले पारदर्शी भएर धोती-सुरुवाल नफुकाले पनि त्यसभित्र के छ भन्ने कुरा त सबैले स्वभावैले जानेको कुरा हुन्छ ।

रमेश विकल :
हाम्रो देशका प्रजातन्त्र र यसका बडा नेताहरूको महिमा पनि अपरम्पार छ बा । यो प्रजातन्त्रमा एकातिर पीडितहरू ठाउँठाउँमा सङ्गठित भएर रक्सी निषेध अभियानहरू चलाइरहेछन् । बडेबडे राजनीतिक भाषणहरूमा पनि रक्सीनिषेधका भीषण गर्जन गर्छन् नेताहरू । अनि अर्कोतिर देशका एकमात्र शक्तिशाली प्रभावशाली प्रचार माध्यम नेपाल टेलिभिजन, रेडियो नेपालहरू रातदिन जनता भड्काउने लोभ्याउने, रक्सी-जाँडका विज्ञापनहरू फुकिरहन्छन् जाँडका बोतलका साथमा आफ्ना नग्न शरीर मर्काउने नेपाल सुन्दरी अभिनेत्रीहरूको छवि प्रदर्शन गरेर किशोर-युवा पुस्ताको मन भाँड्छन् । त्यति मात्र होइन । यिनै छाया-छवि माध्यमबाट देशको प्रजातन्त्रका बडेबडे नेताहरू आफूले नियमित रक्सी सेवन गरेको ‘वीरगाथा’ ‘स्वपुरुषार्थ गाथा’ गाउँछन् ।
धेरै अगाडिको कुरा होइन, अस्ति भर्खरैको (यही चैत्र महिना, २०५२ को) कुरा हो, एउटा बडे प्रजातान्त्रिक पार्टीका बडा नेताजीले रक्सीको बोतल टेबिलमा र गिलास हातमा लिएरै आफ्नो महान् अन्तर्वार्ताद्वारा नेपाल टेलिभिजनका मूर्ख दर्शकहरूलाई कृत-कृत्य गरे “मलाई हप्ताको … बोतल स्कच ह्विस्की चाहिन्छ । त्यसैले मैले संसद् सदस्य बन्नु अनिवार्य छ । त्यसैले म चुनाव लड्छु – राजनीति गर्छु । नत्र म जस्तो नाँगो सन्त, गीताध्यायी, महापुरुष, ईश्वरसँग साक्षात्कार गरिसकेको साधकलाई राजनीतिसँग के सरोकार ? होइन त ? मैले एक्लै मात्र होइन यस देशका बडेबडे मै हुँ भन्ने नारी-पुरुष हस्तिनी-हस्तीहरूसँग बसेर सुरा (सुन्दरी पनि) सेवन गरिसकेको छु -भोग गरिसकेको छु ।”
उनको यस पुरुषार्थ गाथालाई लिएर देशको राजनीतिक बौद्धिक क्षेत्रमा महान् हल्ला मच्चियो – स्तुति र आलोचनाको बजार तात्यो । आलोचकहरूले भने – बूढो नेता सड्केछ, प्रजातन्त्रलाई हिल्याएछ, तर यसको बचाउमा बडा नेताका प्रजातन्त्रे हनुमान्हरूले एक स्वरमा विरुदावली गाए “वा ः क्या ः नेता ! क्या सरल व्यक्तित्व । क्या सफा दिलका सत्यवादी सन्त नेता ! नेता हुनु त यस्तो !.. कति पारदर्शी !… यस्तै नेताका कारणले त प्रजातन्त्र पारदर्शी बन्न सकेको ! हाम्रा महान् नेता विरोधीका संसारी आलोचनादेखि कति माथि उठिसक्नु भो !… धन्य ! धन्य ! सन्त नेताज्यू !”
सन्त नेताका भक्त हनुमानहरूको यस्ता भक्ति विभोर स्तुतिगानका साथै एक जना अर्को छोटे नेताले पनि एउटा राष्ट्रिय पत्रिकामार्फत आफ्नो अन्तर्वार्ता दिए । यी छोटे नेता राजनीतिक बौद्धिक क्षेत्रमा, एक प्रखर समाजवादी चिन्तक मानिन्छन् । साथै अझ विरोधीका मात्र होइन, आफ्नै पार्टी र आफ्नै बडे नेताहरूका पनि प्रखर, निर्भीक र इमानदार आलोचक मानिन्छन् । यी दोस्रो पुस्ताका प्रखर बौद्धिक नेताले आफ्नो अन्तर्वार्ताका माध्यमबाट आफ्नै पार्टीका बडे नेताहरू राजनीतिक अदूरदर्शिता, चारित्रिक फितलोपना र त्यसबाट देश – पार्टी र जनताले वर्तमानमा भोग्नुपरेको परिणाम र भविष्यमा हुन सक्ने परिणाम – कष्ट, दुःख र अन्यौलका बारेमा आफ्नो प्रखर चिन्तनद्वारा निकालेको निष्कर्ष निर्भीक र तर्कयुक्त भाषामा प्रस्तुत गरे । तर रक्सी खान संसद् सदस्य बन्ने बडा नेताको अभिव्यक्तिका बारेमा बोल्दा भने उनी पनि लकपकाए । त्यतिखेर उनी नेताप्रतिको अन्धभक्तिमा अनि विवेकहीन भए । उनले भने – “उहाँको कुरा जनताले बुझ्दैन, भने म के भन्न सक्छु ?”
यी दुई किसिमका नेताहरूको अन्तर्वार्ता र यसबाट फैलिएका हनुमान् धारणाहरूलाई सुनेपछि र पढेपछि मलाई एउटा बितेको प्रसङ्ग सम्झना आयो- एउटा सामाजिक भनौँ या सन्त प्रसङ्ग निक्कै वर्ष अगाडिको कुरा हो। पशुपति मन्दिर परिसरमा एक जना जडभरत खालको सिल्लड घुम्ने गर्थ्यो । विभत्स भ्यटूँ, छ्याकटे – भैरव अनुहार; ठाडा ठाडा कडा फलामे तारको बुरुश जस्ता – कपालका रौं उन्मादपूणर् र रक्तवणर्ी भयावह आँखा- हामी केटाकेटी छँदा, त्यहाँका टोले तन्नेरीहरू ‘लुरीको पोई’ भनेर जिस्क्याउँथे र उसको उन्मादी क्रियाकलापबाट बडो मनोरञ्जन लिन्थे । मनोरञ्जनकै खातिर उसलाई खाना ख्वाएर रक्सी पियाएर उसलाई उन्मादग्रस्त तुल्याउँथे र उन्मादमा ऊ कहिले निर्वस्त्र भएर नाँच्न थाल्थ्यो, कहिले क्रोधोन्मत्त नजिक परेका भलो भलाद्मीलाई मनपरी गाली गर्न थाल्थ्यो, कहिले पशुपतिमा दर्शन गर्न आउने तरुनीहरूलाई लखेट्न जान्थ्यो । क्रोधको आधिक्य भयो भने ऊ राल, सिगान, आँसु बगाउँदै आफैलाई भुत्ल्याउन थाल्थ्यो; फहराउन थाल्थ्यो र टोक्न थाल्थ्यो । उसको यो क्रियाकलाप देखेर तन्नेरी ठिटाहरू र किशोरहरू त मनोरञ्जन लिन्थे नै, हामी पाठशाला पढ्ने केटाहरू पनि रमाएर ताली पिट्दै उसको पछि दौडन्थ्यौं – “हा : लुरीको पोइ …हा : लुरीको पोइ ।….
उसलाई ब्रह्मचारी पनि भन्थे र सिद्ध पनि भनेर जिस्क्याउँथे । किनभने ‘सिद्ध’ भन्दा पनि ऊ रिसाउँथ्यो र विभत्स भएर केटाकटीलाई लखेट्न थाल्थ्यो ।
यसरी समय कति बित्यो – बित्यो ! यस अन्तरालमा मैले पनि किशोरवय, युवावय पार गर्दै पौढताको शिखर छुन पुगेँ । अनि एक दिन मैले पाएँ । लुरीको पोइ, त्यो स्थानीय धनी बाबुका बिग्रिएका आवारा छोराहरूको मनोरञ्जनको पात्र सिल्लड, सिद्ध त साँच्चैको सिद्धको हैसियतमा पो पुजिन थालेछ । देशका ठूलठूला हस्ती – धनकुवेर मारवाडीहरू, श्री ५ को सरकारका बडेबडे ओहदामा रहेका प्रभावशाली पुरुषहरू, देशी-विदेशी (खास गरी भारतीय) उद्योगपतिहरू उसले आफ्नो हातबाट केही ग्रहण गरिदेवसु, मेवा मिष्ठान्न, पकवान्न खाइदेवस् र आफ्नो अमूल्य आशीर्वादद्वारा उनीहरूको अभीष्ट सिद्ध गरिदेवस् भन्ने उत्कृट अभिलाषा मनमा लिएर उसको पछि लाग्न थालेका रहेछन् । त्यस अभीष्ट सिद्धका लागि उनीहरू उसको तिघ्रा पिँडौलामा तैलमर्दन गर्न अघि सर्दारहेछन् । “सिद्ध महाराज ! यति त खाइदिनोस् !… भक्तको श्रद्धा यति त ग्रहण गरिदिनोस् !”
तर सिद्ध महाराजको विचित्र स्वभाव, ऊ ती अभीष्ट सिद्धिको कामना लिएर सेवा गर्ने महान् प्रभावशाली हस्तीहरूको पोल्टामा आफ्नो आशीषरूपी वचन खन्याउनु त परै जावस् त्यस महत्त्वाकांक्षी भक्तको हातबाट एक टुक्रा नैवेद्य पनि ग्रहण गरिदिंदैनथ्यो । बरू त्यही नजिकै हिँड्ने (वा बसिरहेको) कुनै मामुली मानिससँग चार पैसा माग्थ्यो वा केही खानेकुरा किनिदिने माग गर्थ्यो। अनि जसको मेवा मिष्ठान्नलाई लत्याएर सिद्ध हिँड्थ्यो, त्यो प्रभावशाली भक्त दुर्योधनौँ दुःखी (र शायद भित्रबाट अपमानित पनि) अनुभव गर्थ्यो भने जससँग चार पैसा मागेर खानेकुरा खान्थ्यो ऊ स्वर्ग पाएको विदुरौँ कृतकृत्य हुन्थ्यो – “दूर्योधनको मेवा त्यागी सागरविदुर घर खाए ।”
त यसरी हाम्म्रो केटाकेटी अवस्थाको एउटा खेलौना तन्नेरी आवाराहरूको एउटा सस्तो मनोरञ्जनको साधन, लुरीको पोइ, त्यो जडभरतको सिद्धिको ख्याति यसरी फैलँदोरहेछ । तर उसको उस ख्यातिको पछाडि कुरो के रहेछ भने, उसको जडभरत स्वभाव र अस्पष्ट बोली अर्थात् सर्वसाधरणले नबुझ्ने भुतभुत रहेछ । वास्तवमा ऊ विवेकरहित (साँच्चै भन्दा सामान्य चेतनारहित) जडभरत नै थियो । उसलाई कर्तव्याकर्तव्यको विवेक थिएन भक्षा-भक्षको ज्ञान थिएन यतिसम्म कि उसलाई आफ्नो सुख, दुःख, कष्ट, आरामको पनि हेक्का थिएन । ऊ जहाँ पनि खाइदिन्थ्यो वा खाइदिँदैनथ्यो, जहाँ पनि सुतिदिन्थ्यो, लडिदिन्थ्यो । यसैगरी उसको जडजीवन घिस्रिरहेको थियो ।
त एकपल्ट यस्तै अर्ध जडावस्थामा लुरीको पोइले एक जना आर्थिक तोडले रन्थनिएर पशुपति बाबालाई गुहार्न आएको भारतीय उद्योगपति भक्तसँग केही किनेर ख्वाउने आग्रह राखेछ । भारतीय भक्तले पनि उसलाई हलवाई पसलमा लगेर भरपेट ख्वाएछ । अनि परितृप्तिको मस्तीमा लुरीको पोइको मुखबाट अस्पष्ट शब्द निस्केछ – तेरो… बन्छ… बन्छ… जा, बन्छ । … ठीक । … सूर्य उदाएको छ… बन्छ… उज्यालो हुन्छ ।
त्यतिबेला त भारतीय सेठले उसको कुराको जिलीगाँठी केही बुझेनछ – एउटा सिल्लडको प्रलाप नै ठानेछ । (हुन पनि त्यसमा बुझ्ने कुरै के थियो र? जसले जे बुझेर अर्थ लाउँथ्यो त्यसबाट त्यही अर्थ लाग्थ्यो ।) तर भारत फर्कनेबित्तिकै त्यस सेठको ठूलो आर्थिक कारोबार सुल्झिएछ । अनि त उसलाई लागेछ -यो सबै चमत्कार भएकाले पशुपतिमा खाने कुरो ख्वाएको त्यही जडभरतौँ लाग्ने सिल्लडको अस्पष्ट आशीर्वादको कारणले हो । अनि त के थियो र ? … समाजद्वारा अवहेलित, सिल्ड लुरीको पोइ उसको धारणामा सिद्ध बनेर विराजमान भएछ । र सेठ तत्काल नेपाल आएर उसलाई खोज्न थालेछ र भेटेपछि उसले हजारौंको धनराशी उसलाई अर्पण गर्ने इच्छा गरेछ ।
… तर अचम्म ! लुरीको पोइले यसपल्ट पनि अनौठो स्वभावको प्रदर्शन गरेर त्यो धनराशीलाई छिःछिः गर्दै लत्याएछ जाः जाः रगतको धन, पीपको धन, …जा…. जा… छिः छिः…”
बस् यो खबर डढेलोको आगोझै धनी र प्रभावशाली अभिजात समाजमा फैलिएछ । अनि तिनै अभिजात वर्गको सामाजिक प्रतिष्ठा र पैसको जोरले लुरीको पोइ रातारात सिद्ध – महान् सिद्ध बन्न पुगेछ । र उसका पछि लागेर आफ्नो अभीष्ट सिद्धि गर्न चाहनेले अनेक तिकडमबाट उसलाई हतियारका रूपमा प्रयोग गरिरहेका रहेछन् ।
त अहिले हाम्रा बडा प्रजातान्त्रिक पार्टीका बडा प्रजातान्त्रिक नेताले आफ्नो टेलिभिजन अन्तर्वार्तामा अभिव्यक्त गरेको “आफूलाई हप्ताको …. बोतल स्कच ह्विस्की चाहिने हुनाले आफू सांसद बन्नुपरेको” भन्ने भनाइलाई लिएर उनका मारवाडीहरू (भक्तहनुमानहरू) ले त्यसलाई रहस्यमय वाणीका रूपमा ‘जनताले उनको भनाइको मर्म बुझ्न नसकेको’ भनेर प्रचार गर्नु र उनलाई जीवन मुक्त सिद्ध, ईश्वरसँग साक्षात्कारको स्थितिमा पुगेको साधक सन्त सिद्ध गर्न जतिसुकै तौल मर्दन गरून्, जनताले त जे बुझ्नु थियो, बुझिसकेको छ । किनभने जनता आफ्नो सीधा सरल स्वभावको कारणले जसको जे बोल्छ र त्यसबाट जुन सरल अर्थ निस्कन्छ, त्यही बुझ्दछ र त्यसै अनुरूप नेताको मूल्याङ्कन, त्यो नेताले नेतृत्व गरेको पार्टीको मूल्याङ्कन गर्छ । उसलाई नेताको अस्पष्ट होइन स्पष्ट अभिव्यक्तिमा अस्पष्टता खोज्नु, त्यसको अर्थमा गूढता र रहस्यमयता खोज्ने केको कपाल दुखाइ छ ?
त्यसैले नेताले आफ्नो अभिव्यक्तिमा चमत्कारिता – चटकीपना होइन, त्यसबाट सर्वसाधारण जनतामा पर्ने प्रभावको ख्याल गर्नुपर्छ । आफ्नो अभिव्यक्तिबाट समाजमा, राजनीतिमा, प्रजातन्त्रमा सोझो प्रभाव के पर्छ र आफूलाई आदर्श रूपमा पुज्दै आइरहेका आफ्ना अनुयायीहरूको चरित्रमा यसले के असर पार्छ, त्यो सोच्नुपर्छ । पारदर्शिता, स्पष्टवादिताका नाउँमा महिलाले धोती, पुरुषले सुरुवाल फुकालेर सार्वजनिक प्रदर्शन गर्नु कति सामाजिक नैतिकताभित्र पर्छ, त्यो सोच्नुपर्छ । कसैले पारदर्शी भएर धोती-सुरुवाल नफुकाले पनि त्यसभित्र के छ भन्ने कुरा त सबैले स्वभावैले जानेको कुरा हुन्छ । ठूलो प्रजातान्त्रिक पार्टीका बडा नेताहरूले आफूलाई त्यसरी निर्वस्त्र गराउँदा सर्वसाधारण जनता त यही बुझ्न विवश हुन्छ कि प्रजातन्त्र भनेको त केवल मद्यपानको नौटङ्की मात्र रहेछ ! नेताहरूले त्यसलाई बहाली गर्न जनतालाई उकास्नुको पछाडि त उनीहरूको मद्यपानको तलतल मेटाउनु मात्र पो रहेछ ! … अस्तु ।
०००
‘श्रीमानजी भन्नुहुन्छ’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































