साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्यमा दृष्टिकोण’ विषयक गोष्ठीसहित ४२३ औँ सन्ध्या

Nepal Telecom ad

साहित्य सन्ध्याको अझै पनि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक ४२३ औँ शृङ्खला पुस ३ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, अतिथिका रूपमा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, डा.रमेश शुभेच्छु, वयोवृद्ध स्रष्टा बेनीबहादुर थापा, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका सल्लाहकार प्रा.डा.बद्रीविशाल पोखरेल, ऐरावती प्रकाशनका अध्यक्ष एवम् साहित्यकार रामदेव पाण्डेय, अग्रज स्रष्टाहरू डिल्लीराज अर्याल र तारक धिताल, डा.सावित्री श्रेष्ठ, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य उपस्थित हुनुहुन्थ्यो ।

साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा सदस्य देबु लुइटेलको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि प्रा.जगत्प्रसाद उपाध्यायले ‘साहित्यमा दृष्टिकोण’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२३ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन गरेको साहित्य सन्ध्या नेपालका प्रगतिशील स्रष्टाको शिक्षालय हो । यसले धेरै स्रष्टा जन्माएको मात्र छैन स्थापितसमेत गरेको हुँदा आफैँमा इतिहास नै बनेको छ । यसले पुराना पुस्तासँगको समन्वयका माध्यमबाट नयाँ पुस्तालाई उत्प्रेरणा प्रदान गरिरहेको छ । आज निकै गहन विषयमा हामी बहस गरिरहेका छौँ । साहित्य भनेको हरेक युगका मानवले भोगेका ऐतिहासिक विषयवस्तुलाई उपजीव्य विषयवस्तु बनाएर रसात्मक, लयात्मक, यथार्थपरक एवम् कल्पनाशील लेखन हो । अङ्ग्रेजीमा लिटरेचर भनिने यो शब्द ल्याटिन भाषाको लिटेराबाट आएको मानिन्छ । संसारमा मौखिक वा श्रुति साहित्य र लेख्य साहित्य गरी साहित्यका दुई भेद पाइन्छन् र संसारकै ज्येष्ठ साहित्यमा ऋग्वेदलाई मानिन्छ । साहित्यको श्रुतिपरम्परा मानवसभ्यताको प्रारम्भदेखि नै आएको हो र अहिले हामी लोक साहित्यका रूपमा स्थापित भएको पाउँछौँ ।

लिखित साहित्यअन्तर्गत विभिन्न विधाहरू छन् । ती सबैमा कुनै न कुनै दृष्टिकोण आउँछ र यो आफैँमा एउटा मत हो, दर्शन हो । बाहिरी ज्ञानेन्द्रियबाट प्राप्त हुने ज्ञानलाई अन्तरइन्द्रियसँग जोडेर भौतिकवादी धारले यो संसारको सृष्टि गतिशील प्राकृतिक नियमानुसार भएको हो, चेतनाले आत्माको रूप धारण गर्दछ । पदार्थ जेठो हो, यसैबाट चेतना विकसित हुन्छ भन्ने दृष्टिकोण प्रतिपादन गरेको छ र यो विज्ञानको कसीमा घोटिएर आएको हुँदा प्रामाणिक पनि छ तर भाववादीहरू संसारको सृष्टि ईश्वरबाट भएको हो, ईश्वरले नै जगत्को निर्माण गरेको हो भन्ने मान्यता राख्दछन् तर यो मान्यता प्रयोगशालामा खारिएको र प्रामाणिक होइन । कुनै पनि कुरालाई अध्ययन वा विशलेषण गर्दा कुन कोणबाट हेरिएको छ त्यही दृष्टिकोण हो । जबसम्म चारैतिरबाट हेर्ने दृष्टिकोण बन्दैन तबसम्म प्रामाणिकताको अवस्थामा पुग्दैन । दृष्टिकोण आफैँमा पूणर् दर्शन होइन, दर्शनले साङ्गोपाङ्गो विश्लेषण गर्दछ, दर्शन भनेको समग्र अवलोकन हो । ज्ञानवत्ता र बुद्धिमत्ताको समष्टि नै दर्शन हो भनेर पाश्चात्य विद्वानले समेत स्विकारेका छन् । कौटिल्यले कुनै पनि कुरालाई बुझ्न पटक पटक अध्ययन-अवलोकन गरेर प्रमाणित गरेपछि मात्र दर्शन बन्छ भनेका छन् र विभिन्न क्षेत्रमध्ये जीवन र जगत्लाई विभिन्न कोणबाट बुझ्नुपर्छ, यही नै दर्शन हो भन्ने मान्यता अघि सारेका छन् ।

वास्तवमा चिन्तनशीलता नै दर्शन हो । मनमा पैदा भएका कौतुहलतालाई प्रामाणिकरूपमा केलाउने र विश्लेषण गर्ने काम दर्शनले गर्दछ । दृष्टिकोणविनाको अध्ययनले सुस्पष्टता होइन अलमल पैदा गर्दछ । मानवको अन्तस्चेतना स्वस्थ भयो भने मात्र स्वस्थ दृष्टिकोण विकसित हुन्छ । आनन्द व्यक्तिगत मात्र होइन समाजका लागि हुनुपर्दछ । धर्म, अर्थ, काम, मोक्ष पनि प्रयोजनपरक हुनुपर्दछ । कला कलाका लागि हो भन्ने मान्यता नै आफैँमा सत्य होइन । शून्यको वकालत गर्नेले वस्तुको द्वन्द्वात्मक अवस्थालाई बुझेको हुँदैन । स्रष्टाले जीवन र जगत्लाई बुझेको हुन्छ तर उसले समाजप्रतिको दायित्वबोध गर्नुपर्दछ । मान्छेको ध्यानलाई भक्तिमा केन्द्रित गर्ने र अन्धविश्वासको पक्षमा उभ्याउने मात्र काम गर्यो भने अध्यात्मवाद सही हुनसक्तैन । समन्वयवाद पनि अवस्था हेरेर मात्र काम लाग्छ । स्रष्टाले सिर्जनामा वस्तुयथार्थका अलावा मानवीय आवश्यकता र चाहनासमेत समेटिनेगरी स्पष्ट दृष्टिकोणका साथ आपूmलाई प्रस्तुत गर्नु आवश्यक छ । स्रष्टा आफैँमा दार्शनिक हो तर पूmल पूmलै हो, काँडा काँडै हो, एउटै होइन भन्ने स्पष्टता आवश्यक छ; भ्रान्ति सत्य हुनसक्तैन । जीवन र जगत्को साक्षात्कार गर्ने अनि त्यसलाई अन्तरघुलन गरेर अभिव्यक्त गरिने सिर्जना मात्र उत्कृष्ट हुन्छ । विभेद र हेलाँहोचो जनाउने शब्दचयन पनि गरिनुहुन्न, अध्यात्मवादका राम्रा कुरालाई ग्रहण पनि गर्नुपर्दछ र समाज बदल्न राम्रो चरित्रको प्रदर्शन गर्दै नकारात्मक कुराको विरोध गर्नुपर्दछ । दृष्टिकोण निर्माणका लागि स्रष्टाले दर्शन पढ्नु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।

गोष्ठीमा तारा गाउँले, बेनीबहाुर थापा, डम्बर पहाडी, गोपालकुमार मैनाली, महेशराज खरेल, डिल्लीराज अर्याल, खेमराज निरौला, रामदेव पाण्डेय, खगेन्द्र दाहाल, दिव्यलक्ष्मी पोखरेल, विन्दु अधिकारी, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, तारक धिताल, विधान आचार्य, डा.भीम खतिवडा, स्नेह सायमि, गीता सापकोटा, दुर्गा नेपाली मोरङ, गोमा कटुवाल सङ्खुवासभा, गणेश मार्मिक घिमिरे, यशोदाकुमारी दाहाल इलाम र राम विनयले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि डा.रमेश शुभेचछुले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा सुदूर पूर्वको इलामदेखि मोरङ हुँदै काठमाडौँसम्मबाट स्रष्टाहरू जोडिएर कवितावाचन गरिएको छ । यो साहित्य सन्ध्या प्रगतिशील लेखक सङ्घको अर्को संस्करण बनेको छ । यसले सर्जक जन्माइरहेको छ । समाजमा शोषणका रूप फेरिएका छन्, समावेशी स्वरूपको दुरूपयोग गरिएको छ । माक्र्सवाद र पूर्वीय दर्शनलाई साम्राज्यवादीहरूले गम्भीरताका साथ अध्ययन गरे तर हामी भने अध्ययनमा चुकेका छौँ भन्ने सङ्केत गर्नुका साथै आज वाचित कवितामा खानैका लागि बसाइँ सर्नुपर्ने बाध्यता उजागर गरिएको छ, नेतृत्व स्वार्थी र अवसरवादी बनेकोमा चिन्ता व्यक्त गरिएको छ; सामाजिक, आर्थिक, सांस्कृतिक भाइरसबाट आक्रान्त हुनुपरेकोमा आक्रोश व्यक्त भएको छ, समानता र स्वतन्त्रताको आबाज बुलन्द गरिएको छ, सशक्त लयचेतनाका माध्यमबाट कलात्मकता भर्ने प्रयत्न भएको छ, कवितामा राष्ट्रियताको बखान गरिएको छ, एकताको आह्वान गर्दै एउटै कुरालाई फरक दृष्टिले हेर्ने र अनुकूलको व्याख्या गर्ने प्रवृत्ति उजागर गरिएको छ, कवितामा पसिनाको मूल्यको खोजी गरिएको छ, आमाले पनि जन्म मात्र होइन कर्म पनि दिनुपर्ने सचेतनाको आग्रह गरिएको छ, ग्लोबल वार्मिङ कविताको विषय बनेको छ र वर्तमान विकृत नेपाली राजनीतिको चित्र खिच्ने काम गरिएको छ, एकताको सन्देश सम्प्रेषण गर्दै विचारविहीनहरू र घर डढाउनेहरूप्रति आक्रोश व्यक्त गरिएको छ ।

कवितामा सामाजिक विभेदको चित्र उतार्दै मानवताका पक्षमा वकालत गरिएको छ । घाम परिवर्तन र उज्यालोको प्रतीक हो भन्ने शाश्वतताको चित्रण गर्दै कवितामा गहिरो राष्ट्रवादी सन्देश दिने र सांस्कृतिक चेतना भर्ने कविता आज वाचित भएका छन् । अध्ययनको सीमा फराकिलो पारेर समयसापेक्ष विम्बको प्रयोग गर्दै सिर्जना गरिनु भने अझै पनि आवश्यक रहेको छ तापनि आजको गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायज्यू, विशेष अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । यी गोष्ठीले नयाँ स्रष्टा जन्माउन र लेखनलार्य परिस्कृत पार्न योगदान गरेका छन् । अन्धविश्वासले, रहस्यवादले गाँजेको वर्तमानमा भौतिकवादी दृटिकोण आवश्यक छ, सम्पूणर् कुराहरू जीवनका लागि हुनुपर्दछ । दलाल, नोकरशाही पुँजीवाद मौलाएको वर्तमान बेथितिका विरुद्धमा आजका कविताले हुङ्कार गरेका छन् ।

हामी स्रष्टाले जहिले पनि कला र विचारको तालमेल गरेर जनपक्षीय सिर्जना गर्नुपर्दछ, सत्यको पक्ष लिनुपर्छ र दासत्वको विरोध गर्नुपर्छ, सांस्कृतिक रूपान्तरणविना समाज रूपान्तरण हुनसक्तैन भन्ने मान्यता साहित्य सन्ध्याले राखेको छ । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ । फेरि हामी अर्को समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नु हुँदै गोष्ठीको समापन गर्नुभयो ।

– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x