सुलसुलेक्यानडाको कवितावाचन शृङ्खला २८ औँ भाग सम्पन्न
अध्यक्ष खेम गुरागाईंको अध्यक्षता र महासचिव मोहन खरेलको संचालनमा सम्पन्न यस कार्यक्रममा क्यानडा लगायत विभिन्न ठाउँबाट बाइस जना स्रष्टाहरूले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।

नेपाली साहित्य समाज क्यानडाद्वारा हरेक महिनाको अन्तिम आइतबार आयोजना हुँदै आएको भर्चुअल कविता वाचन श्रृङ्खलाको २८औं भाग यही मार्च २६, २०२३ मा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष खेम गुरागाईंको अध्यक्षता र महासचिव मोहन खरेलको संचालनमा सम्पन्न यस कार्यक्रममा क्यानडाका अल्बर्टा, न्यु ब्रन्ज्विक, अन्टेरियोका टोरन्टो, क्याम्ब्रिज, औरोरा लगायत विभिन्न ठाउँबाट बाइस जना स्रष्टाहरूले आ-आफ्ना कविता, गजल एवम् मुक्तक वाचन गरेका थिए भने अन्य केही साहित्यानुरागीहरू श्रोताको रुपमा सहभागी भए ।
कार्यक्रम संचालक मोहन खरेलको ‘उछिट्टिएको पुल’ शीर्षकको छन्दोबद्ध कविता वाचनबाट शुरु भएको यो वाचन क्रममा पुण्यसागर मरहट्टाले ‘म र मेरा पात्रहरू’ शीर्षकको कविता, देवी घिमिरेले ‘कथा’ शीर्षकमा गजल एवं कवि दिनेश धरेलले ‘गीत’ शीर्षकको कविता सुनाएका थिए । त्यसैगरी कुसुमाकर शर्माका दुई टुक्रा मुक्तक ‘प्रेम’ र ‘पीडा’, रबिन्द्र लम्सालको ‘मकैका ठेट्नाहरू’, युवराज भण्डारीको ‘म को हुँ ?’, माधब बरालको ‘भुत्ते समय’, रविन थपलियाको ‘चराको गुँड’, रुद्र अधिकारीको ‘म पलायन भएको मान्छे’ सुनिए ।
वाचनको सिलसिला जारी राख्दै खेम गुरागाईंले ‘भूलभुलैया’, सशि तिमल्सिनाले ‘गर्नु त कति छ कति’, ओम पोख्रेल र गोपीकृष्ण काफ्लेले आ-आफ्ना गजल, मुक्ति गौतमले ‘जीवन एक रहस्य’, रमेश पोखरेलले ‘म किन कवि बन्न सकिन ?’ भानु ढुँगानाले ‘मित्र’ शीर्षकमा भुजंगप्रयात छन्दको कविता वाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यतिर रोनभ, निभान र गोपाल काफ्लेले तीनवटा गजल सुनाएपछि राजनप्रसाद पोखरेलको ‘आमा मुस्कुराइरहनु भयो’ शीर्षकको कविता वाचन भएपछि वाचनको सिलसिला सकिएको थियो ।
प्रवासमा बसेर कलम चलाई नेपाली भाषा साहित्यको संरक्षण सम्वर्द्धनमा निरन्तर लागिरहेको समाजको यो भागमा नेपालबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यकारी सदस्य सचिव डा. धनप्रसाद सुवेदी समेतले सहभागिता जनाई आगामी दिनमा एकेडेमी र विदेशमा रहेर निरन्तर भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने ने सा स क्यानडा जस्ता संस्थाका बीच के कस्तो आपसी सहयोगको वातावरण बनाउन सकिन्छ त्यतातिर सोच्न र पहल गर्न सकिने बताउनु भयो ।
ने सा स क्यानडाले यसरी भर्चुअल प्लेटफर्ममा सुनाइएका प्रस्तुतिहरू सँगालेर हरेक तीन महिनामा समाजको वेबसाइट nepalisahityasamajanada.com मा ‘साहित्य सुसेली’ प्रकाशन गर्दै आएको छ, र सुसेलीको छैटौं अङ्क यही अप्रिलमा आउँदैछ ।
०००
– क्यानाडाबाट मोहन खरेल
Subscribe
Login
0 Comments
Oldest












































