कृष्णशरण उपाध्याय पाैडेलमुख थुन्नुपर्छ
ल्याएको ‘गणतन्त्र’ नेतृ दलका, डोलेहरू निम्ति हो ल्याएको ‘गणतन्त्र’ मात्र तिनका, झोलेहरू निम्ति हो केही गर्न अभाव हर्न अथवा, हीरा - मुँगा आर्जन ल्याएको ‘गणतन्त्र’ होइन यहाँ, नौला कुरा सिर्जन ।

यो हाम्रो ‘गणतन्त्र’ नेतृगणका, गोडाहरू मल्न हो
जे भन्छन् उनले सबै अँ अँ भनी, ज्यू माथि ज्यू गर्न हो
द्रोही बन्न विरोध गर्न अहिले, कोही नखोजून् यहाँ
मुर्दावाद भनी विरुद्ध बल को, बाटो नरोजून् यहाँ ।१
जो बोल्छन् मुख थुन्नुपर्छ तिनको, निर्देश हो माथिको
काँडाले मुख उन्नुपर्छ तिनको, आदेश हो माथिको
विद्रोही हुन छूट छैन अहिले, स्वामीहरू भन्दछन्
हो एस्तै गणतन्त्रका अधमरा, धामीहरू भन्दछन् ।२
घोक्र्याई कन कोच्नु पर्दछ सबै, ल्याई छिटो वाहन
मुन्ट्याई कन जाक्नु पर्दछ सबै, ल्याई कुनै साधन
बोली मत्थर पार्नुपर्छ तिनको, घाँटी अँठ्याएर होस्
फुर्ती जत्ति निकाल्नु पर्दछ युवा, डाँडा कटाएर होस् ।३
ल्याएको ‘गणतन्त्र’ नेतृ दलका, डोलेहरू निम्ति हो
ल्याएको ‘गणतन्त्र’ मात्र तिनका, झोलेहरू निम्ति हो
केही गर्न अभाव हर्न अथवा, हीरा – मुँगा आर्जन
ल्याएको ‘गणतन्त्र’ होइन यहाँ, नौला कुरा सिर्जन ।४
दायाँ देश विरोधका स्वर झिकी, बोल्छन् सबै मानिस
बायाँ देश अभावका घुर टिपी, पोल्छन् सबै मानिस
छन् सम्पन्न उनीहरू गजब ले, हामी भने दीन छौँ
छौँ दुःखी र दरिद्र विश्व भरिमै, ऐश्वर्यले हीन छौँ ।५
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest









































