सुलसुलेसाहित्यकार पेशल आचार्य गम्भीर रूपमा अस्वस्थ, सहयोगको अपिल
परिवारबाट जानकारी प्राप्त भएअनुसार उहाँको सो न्युरो हस्पिटलमा चार पटक शल्यक्रिया भइसकेको छ र अहिले सोही हस्पिटलको सल्लाहमा आचार्यलाई ललितपुरको नेपाल मेडिसिटी हस्पिटलमा सारिएको छ ।

काठमाडौं, ०८० असार २८ । “टोटल्ली बेड रेष्ट !!” भनेर गत महिना फेसबुकमा स्टाटस राखेर काठमाडौँको अन्नपूणर् न्यूरो हस्पिटल भर्ना हुन पुग्नुभएका साहित्यकार पेशल आचार्य अहिलेसम्म अस्पतालमै उपचाररत हुनुहुन्छ ।
आचार्यको टाउकोमा ट्युमर भएको भनेर अन्नपूर्ण न्यूरो हस्पिटलले शल्यक्रिया गरेको थियो । त्यो समयदेखि हालसम्म उहाँ बेहोसकै स्थितिमा हुनुहुन्छ । परिवारबाट जानकारी प्राप्त भएअनुसार उहाँको सो न्युरो हस्पिटलमा चार पटक शल्यक्रिया भइसकेको छ र अहिले सोही हस्पिटलको सल्लाहमा आचार्यलाई ललितपुरको नेपाल मेडिसिटी हस्पिटलमा सारिएको छ ।
२०३६ सालको ‘सडक कविताक्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुनुहुन्छ ।
आचार्यले त्रिविबाट नेपालीमा एम्.ए. र बीएड्को उपाधि प्राप्त आचार्यको लेखन २०३६ सालबाट आरम्भ भए पनि प्रकाशनचाहिँ २०४० सालबाट भएको हो । स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका स्रष्टा हुन्छ उहाँ । जमानामा लेटरप्रेसका ग्लाली प्रुफमा काम गर्नुभएका पेशललाई युवाहरूसँग घुलमिल हुन सक्ने खुबी भएका सिर्जनशील लेखक पनि भनिन्छ ।
२०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा कृति प्रकाशित भैसकेका छन् । उहाँका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दशक अघिदेखि पाठयक्रममा पढाइ हुँदै आएका छन् ।
नेपाली भाषाशिक्षक समाज रअनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहनु भएका आचार्यले परिवेश पुरस्कार-२०५१, उत्कृष्ठ कवि, बीबीसी, लण्डन-२०५४, कविता महोत्सव पुरस्कार, धरान-२०५५ र राष्ट्रिय शिक्षा पदक-२०६८ समेतका पदक र पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।
फित्कौली डटकमको आरम्भ चरण २०७० देखि २०७३ सम्म पेशल आचार्य हास्यव्यङ्ग्यत्मक भावका चोटिला मुक्तक लेखनमा सक्रिय हुनुहुन्थ्यो । त्यो समयमा लेखिएका उहाँका दर्जनौं मुक्तक सिर्जनाहरू फित्कौली डटकमको आर्काइभमा अझैसम्म सुरक्षित छन् ।
फित्कौली डटकम हजारौँ छात्राछाका प्रिय शिक्षक, युवा र नवागत स्रष्टाहरूका प्रेरक, ‘व्याकबेञ्चर’ जस्तो प्रभावपूर्ण निबन्ध कृतिका लेखक पेशल आचार्यको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछ र उहाँको स्वास्थ्योपचारमा उहाँ सम्बद्ध कलेज, रामेछापको स्थानीय सरकार, संघीय सरकार एवम सरोकारवाला निकायहरूको शीघ्र ध्यानाकृष्ट होस् भनि अपिल पनि गर्न चाहन्छ ।
एक महिनादेखि चलिरहेको उपचार प्रक्रियाको खर्च धान्नै नसकिने भएपछि परिवारले आर्थिक सहयोगको आशा गरेका छन् ।
ईच्छुक दाताहरूले उहाँकी धर्मपत्नी Gita Kumari Dahal को नाममा रहेको निम्न खातामा स्वईच्छाले सहयाेग रकम जम्मा गरिदिनु भै उपचारलाई सहज बनाइदिन फित्काैली डटकम हार्दिक अनुरोध गर्दछ।
नाम : Gita Kumari Dahal
एकाउन्ट : A/C 1420100035128010
बैंक : Rastriya Banijya Bank
शाखा : New Baneshwar Branch
०००
-तस्विर श्रोत : शब्दपथ
(याे जानकारी यथासक्य शेयर गरी मनकारी मित्रहरूसम्म पुर्याउन सादर अनुराेध ।)
Subscribe
Login
0 Comments
Oldest












































