सुलसुलेडा. पोखरेलको ‘अटोग्राफ’बारे अन्तरक्रिया
पोखरेलले यसबाट प्राप्त सुझावलाई मनन गर्ने बताउँदै आफूले अटोग्राफ एउटा लामो समयको अनुभव र प्रयत्न हो, यसको नाम आफूले ‘समयको अटोग्राफ’ राख्न लागेको बताउनुभयो ।

भक्तपुर, ०८० साउन ५ । सिर्जनाशील लेखन समाजका अध्यक्ष, वरिष्ठ स्रष्टा तथा प्रा.डा राजनप्रसाद पोखरेलद्वारा रचित उपन्यास ‘अटोग्राफ’को प्रकाशन पूर्व भक्तपुरको बालकोटस्थित पानीटयाङ्कीमा एक अन्तरक्रियाको आयोजना गरियो । पोखरेलले यसबाट प्राप्त सुझावलाई मनन गर्ने बताउँदै आफूले अटोग्राफ एउटा लामो समयको अनुभव र प्रयत्न हो, यसको नाम आफूले ‘समयको अटोग्राफ’ राख्न लागेको बताउनुभयो ।
यसअवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यासको नयाँ आयाम र सिर्जनशीलताबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो । यस्तै नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचक डा. कृष्णराज अधिकारीले प्रकाशन पूर्व अटोग्राफ उपन्यासको आख्यानात्मक पक्ष, कथानक, अन्तरवस्तु र लेखनशैलीको सबल र निर्बल पक्षलाई औँल्याउनुभयो ।
यसैगरी भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले समाजको बोधका विषयमा उपन्यासले बोल्न सक्नुपर्ने बताउनुभयो ।
यसैक्रममा अटोग्राफमाथि नेपाल प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य अगिव बनेपालीले नयाँ शैली अपनाए तापनि जनहितको विपरीत हुन नहुने विचार व्यक्त गर्नुभयो । साथै, प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्यद्वय बाबा बस्नेत र हंसावती कुर्मी भने अन्तरक्रियामा सहभागी हुन आए पनि आकस्मिक कार्य सम्पादनका कारण फर्किनुपर्यो ।
नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ सभासदस्यद्वय चेतनाथ धमला र उपप्राध्यापक डा.बालाकृष्ण अधिकारीले उपन्यासमा समाज र विचारको प्रतिबिम्बनबारे धारणा राख्नुभयो ।
अन्तरक्रियामा स्रष्टा-द्रष्टाहरू प्राध्यापक भरत पराजुली, उपप्राध्यापक शारदा लामिछाने, उपप्राध्यापक डा.यादेवी ढकाल, नेपाल सरकारका उपसचिव सुमा श्रेष्ठ, सिर्जनशील लेखन समाजका उपाध्यक्ष शान्ति सापकोटा, समाजका सदस्य तथा उपप्राध्यापक डा.जीवन श्रेष्ठ, समाजका सदस्य तथा उपप्राध्यापक डा. तिलक केसी तथा कथाकार मन्दिरा मधुश्री लगायतले प्रकाशोन्मुख अटोग्राफबारे आ-आफ्नो सुझाव तथा धारणा प्रस्तुत गर्नुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































