साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल प्रज्ञा-प्रतिष्ठानमा ‘नेपालभाषाका प्रगतिवादी कविता’ चर्चा

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दरले नेपालभाषामाथि गरिएको अन्याय, भेदभाव, शोषणका कारण कविहरूमा स्वतः प्रगतिशील चेतना उत्पन्न भएको कुरा उल्लेख गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा, कोश र व्याकरण विभागको आयोजनामा ‘नेपालभाषाका प्रगतिवादी कविता’बारे समालोचक पूर्ण ताम्राकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा वि.सं. २०२२ सालको समाचार काण्डले नेवारहरूमा व्यापक असन्तुष्टि बढेर टोलटोलमा युवाहरूले साहित्यिक कार्यक्रम गरेर विरोधको स्वर घन्काएको सन्दर्भ जोडिएको थियो।

नेपालभाषामा प्रगतिवादी स्वर उराल्नेहरूमा जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ कवि पूर्ण वैद्य, सुन्दर मधिकर्मि, योगेन्द्र प्रधान, बुद्ध सायमि गिरिजाप्रसाद जोशी र शान्तदास मानन्धर आदि कविहरूले समाजका विकृति, विसङ्गति, अन्याय र अत्याचारलाई विरोध गर्दै निरङ्कुशताको धज्जी उजाएको उल्लेख गर्नुभएको थियो । दुर्गालाल श्रेष्ठको ‘जनयुद्धको गीत’ कविता, पूर्ण वैद्यको ‘लः लः खः’ कवितासङ्ग्रह, योगेन्द्र प्रधानको ‘प्रशान्त महासागरया लबु’, सुन्दर मधिकर्मिको ‘हावा’, गिरिजाप्रसाद जोशीको ‘जनताया म्ये’ आदिबारे चर्चा गरिएको थियो ।

साथै केही विरोध, समसामयिक, विसङ्गतका कुरा खोतल्दै आनन्द जोशी, त्रिरत्न शाक्य, पुष्पराज राजकर्णिकार, नर्मदेश्वर प्रधान, अगिब बनेपाली आदि कविहरू सक्रिय रहेको चर्चा गरिएको थियोे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दरले नेपालभाषामाथि गरिएको अन्याय, भेदभाव, शोषणका कारण कविहरूमा स्वतः प्रगतिशील चेतना उत्पन्न भएको कुरा उल्लेख गर्नुभएको थियोे । नेपालभाषाका कविहरूमा कतिपय कविहरूको व्यवहार र जीवनपद्धति गैरप्रगतिशील, राजावादी भइकन पनि लेखनचाहिँ वामपन्थी प्रगतिवादी कविता लेखिएको कुरालाई सङ्केत गर्नुभएको थियोे। त्यसो हुनुको कारण राज्यले निरन्तर रूपमा नेपालभाषालाई विभेद र थिचोमिचो गरिएकाले नेपालभाषाका कविमा प्रगतिवादी चेत उब्जेर प्रगतिवादी कविता फुरेको हो भन्ने फरक मत मल्ल के सुन्दरले राख्नुभएको थियो ।

पञ्चायतको ‘एक भाषा एक देश ‘जस्तो राजाको निरङ्कुश भाषिक नीतिको निहुँ र अवस्थाले दुर्गालाल श्रेष्ठ, शान्तदास मानन्धर, हितवीर कंसाकार, ईश्वरानन्द आदि युवाहरू कवितामार्फत जुर्मुराएको इतिहास प्रतीकात्मक रूपमा असन्तोष, विद्रोह, आक्रोश व्यक्त गर्दै परिवर्तनका स्वर उरालेको इतिहास उप्काउनु भएको थियो ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा -प्रतिष्ठान’ नीतिअन्तर्गत मातृभाषाका कार्यक्रमलाई विशेष महत्त्व दिएर यस्ता मातृभाषासम्बन्धी कार्यक्रमलाई अभियानका रूपमा बढाउँदै गएको कुरा राख्नुभएको थियोे । साथै नेपाली साहित्यसँग केही हदसम्म समकक्षमा उठ्न सक्ने क्षमता नेपालभाषाको साहित्यमात्र रहेकाले नेपालभाषाप्रति गर्व गर्न सकिने कुरा चर्चा गर्नुभएको थियोे । समालोचक पुष्पराज राजकर्णिकारले नेपालभाषामा हाल प्रगतिवादी साहित्यमा गिरावट आइरहेकाले चिन्ताको विषय रहेको र कार्यपत्रमा निष्कर्ष अनि यस्तो हुनुपर्छ भन्ने कुरा नआएको बताउनुभएको थियो।

प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्य तथा कार्यक्रमको ओौचित्यमाथि प्रकाश पार्दै नेपाल भाषाको साहित्य समृद्ध रहेको चर्चा गर्नु भएको थियोे ।उहाँले नेपाल भाषाका प्रगतिवादी कविहरूको विद्रोहचेतले महत्त्वपूर्ण कार्य गरेको बताउनुभएको थियो।

नेपालभाषाको साहित्यमा प्रगतिवादी आवाज उराल्ने विराट नेपालभाषा साहित्य सम्मेलन, नेपालभाषा तःमुञ्ज्या मात्र होइन इन्द्रेणी साहित्य समाज र बालसाहित्य मण्डल जस्ता संस्थाले पनि गहन योगदान दिएकोले ती कुरा छुट्न गएको कार्यपत्रमा थप गर्न सभाका अध्यक्ष त्रैलोक्यमान बनेपाली (अगिब)ले राख्नुभएको थियोे । विभिन्न मातृभाषामा यस्ता विशिष्ट कार्यपत्र लेखाएर विमर्श गर्ने जानकारी प्राज्ञ बनेपालीले गराउनुभएको थियो।

कार्यक्रमको उद्घोषण भने भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियो।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x