लक्ष्मण गाम्नागेगायत्री लम्सालका नाउँमा भरपाई
पुरुष लेखक बनेर गायत्रीले व्यङ्ग्य झटाराहरू हाने पनि उनका व्यङ्ग्यका पात्र भने पुरुष र महिला दुवै छन् । झ्याम्मै सिस्नु हान्ने खाले नभई मर्ममा छुने र गहिरो चोट पुर्याउने खाले यिनको प्रस्तुति छ ।

भरपाई दादै गण्डकी अञ्चल, स्याङ्जा जिल्ला साविक चिन्नेबास गाउँ विकास समिति वडा नं. २, पछि संघीय नेपाल राज्यको चार नम्बर प्रदेश अन्तरगत बिरुवा गाउँपालिका वडा नम्बर ६ हुन पुगेको रमणीय पहाडी गाउँमा बुबा नुवादत्त लम्साल तथा आमा टाँकामायाको कोखलाई धन्य बनाउँदै यस धर्तीमा अवतरण गरी पछिल्लो समय स्याङ्जाको स्वच्छ हावा र चिसो पानी खाएर मात्रै प्रगति गर्न नसकिने ठहर गरी हाल हामीले खाइपाइ आएको धुवाँ धुलो खोस्न धुलीमाडौँमा धुर पसी, यतै पलेँटी कसी बसेकी वर्ष दुईकोरी पुग्न दुई वर्ष बाँकी रहेकी आफैँलाई कहिले परिरोशनी, कहिले स्याङ्जाली बोक्सी, कहिले निशा शर्मा, कहिले पतिलाई जोडेर लुइँटेल र कहिले पतिलाई छोडेर लम्साल बताउने गायत्रीले आफ्ना गायत्रे प्रेमराज लुइँटेल तथा दुवैका साझा सम्पत्ति भल्ट्याङभुल्टुङ समेतलाई साक्षी किनारामा राखी सिस्नुपानी नेपालको अड्डामै आई एक बिटो हास्यव्यङ्ग्यका झटारा केलाइकुलाइ गरी सुझाव सल्लाहसहित एक हजार शब्द बराबरको शुभकामना मन्तव्य भुक्तानी गर्ने शर्तमा छाडी गएको हुँदा शर्त बमोजिम यो भरपाई लिखत तयार गरी उनै गायत्रीका मेलभाँडामा खसालिदियाको छु । निज गायत्रीका व्यङ्ग्य रचना पढ्दै जाँदा मेरा मनमा उत्पन्न खुशी र तरङ्ग झुसी भएर दुईहजार शव्द नाघेको र बढी भएको खुशी पनि राजीखुशी उनैका खातामा जम्मा गरी डब्बल भुक्तानी गरिदियाको व्यहोरा पनि जानकारी गराउँछु ।
भरपाईकोे पेटबोली
नेपाली हास्यव्यङ्ग्य साहित्य लेखनीमा नारी हस्ताक्षर एउटै हातका औँलामा गन्न पनि नपुग्ने अवस्था रहेको सबैमा विदितै छ । हुन त समग्र साहित्यमै संख्यात्मक हिसावले महिला लेखकहरूको उपस्थिति कमजोर नै छ । त्यसमाथि हास्यव्यङ्ग्य क्षेत्रमा त झण्डै शून्य नै भने पनि हुने अवस्थाबाट बिस्तारै फाट्टफुट्ट आशालाग्दा लेखकहरू भेट्टाउन थालिएको छ । हरिकला उप्रेती, डा. सुधा त्रिपाठी, सुमी लोहनी मध्ये डा. त्रिपाठीले एउटा पुस्तक दिएर चुपचाप अन्यत्रै लागेको गुनासो पनि यसै लिखतबाट व्यक्त गरिन्छ । हरिकलाको सकृयता पनि केही घटेको हो कि भन्ने शङ्का भइरहेको छ । सुमीको सकृयता निकै देखिन्छ । उनको अर्को कृति पनि निस्कन लागेकोे कुराले हास्यव्यङ्ग्य जगत गद्गद् छ । हरिमाया भेटुवाल, जयन्ता पोखरेल, ललिता दोषी र अरु केही लेखकहरू खुद्रा व्यङ्ग्यकारको रूपमा मात्रै उपलव्ध भएकोमा खुशी पनि खुद्रा नै प्रकट गरिन्छ । यस बीचमा सबैमध्येकी कान्छी भएर पनि सबैभन्दा सकृय व्यङ्ग्यकारको रूपमा गायत्री लम्साल देखा परेको मेरो ठहर सम्पूणर् हास्यव्यङ्ग्य साहित्यप्रेमी दुनियाँलाई जानकारी गराउँछु । गायत्री लम्सालका यो समेत पाँचवटा हास्यव्यङ्ग्यका कृतिहरू प्र्रकाशित भइसक्नु नै एउटा रेकर्ड बनिसक्यो । अरु नेपाली महिला लेखकबाट अधिकतम दुईवटा भन्दा बढी हाव्य कृति आएका छैनन् जस्तो लाग्छ । सङ्ख्याको मात्र कुरा होइन गुणका हिसावले पनि गायत्रीले एकपछि अर्को कृतिमा फड्को मारेकी छन् । मेरो पाठकीय अनुभवमा यस कृतिभित्रका कतिपय रचना स्तरीयताका हिसाबले नेपाली हास्यव्यङ्ग्य साहित्यमा स्थापित र चर्चित व्यक्तित्वहरूका रचनाका हाराहारीमा पुगेका छन् ।
यी स्याङ्जाली गायत्रीका कतिपय रचना पढेर यो झापालीलाई जागेको इष्र्या म भित्रभित्रै दवाउँछु र लागेकोे कुरा भने जस्ताको तस्तै लिखत गरिदिन्छु ।
गायत्रीप्रसाद लम्साल !
गायत्री लम्साललाई नचिनीकनै यिनका व्यङ्ग्य रचनाहरू पढ्ने हो भने पाठकले यिनलाई गायत्रीप्रसाद लम्साल भन्ठान्नेछन् । मैले भेट्टाएसम्म यस पुस्तकभित्र एउटा रचनामा यिनले जानीजानी हो वा झुक्किएर महिला पात्र बनेर एउटा वाक्य फुत्काएकी छन्, नत्र सबै रचनामा पुरुष पात्रको रूपमा आफूलाई कडा रूपमा खडा गरेकी छन् । पुरुष लेखक बनेर गायत्रीले व्यङ्ग्य झटाराहरू हाने पनि उनका व्यङ्ग्यका पात्र भने पुरुष र महिला दुवै छन् । महिला लेखकहरू प्रायःले महिलाका पीडाहरू वा समस्याहरू प्रस्तुत गर्ने, महिला मुक्तिका आवाजहरूलाई प्रखर रूपमा उठाउने गर्छन् तर गायत्रीकोे तरिका अलि फरक छ । उनका रचनामा महिलाका, पुरुषका र अरु समुदायका पीडाहरू, विद्रोहहरू अलि भद्र तरिकाले रचनाभित्रभित्र घुलेर आउँछन् । झ्याम्मै सिस्नु हान्ने खाले नभई मर्ममा छुने र गहिरो चोट पुर्याउने खाले यिनको प्रस्तुति छ ।
व्यङ्ग्यका निसाना
जीवनभरि सरकारी जागिर खाएर, सचिव, मुख्यसचिवसम्मका पदमा पुगेर अवकास पाएको भोलिपल्टदेखि सरकार र कर्मचारीतन्त्रलाई नै गाली गर्न थाल्ने ढोँगीहरू देखेर गायत्रीलाई कुरीकुरी लाग्छ र उनी व्यङ्ग्य लेख्छिन् । सिरकले छोपेर घिउ खाने भलाद्मीहरूका अनेक कर्तुत देख्छिन् गायत्री र व्यङ्ग्य लेख्छिन् । शिक्षाका नाममा खुलेका बोर्डिङ स्कूलहरूले अविभावकहरूलाई चुसेको देखेर गायत्री घाइते हुन्छिन् र व्यङ्ग्य लेख्छिन् । च्याउसरी उम्रेका दल र झ्याऊ सरी फैलिएका नेताका कर्तुतहरू देख्दा रिस उठ्छ र उनी व्यङ्ग्य लेख्छिन् । आफ्ना वरिपरि कुइरीमण्डल धुलो, दबदबे हिलो, सडकका खाडल, दुष्ट नेता, भ्रष्ट कर्मचारी आदि अनेक विकृति र विसङ्गतिको जालोले गायत्रीलाई चल्नसम्म झोँक चल्छ र उनी व्यङ्ग्य ठोक्छिन् र अलिकति भए पनि मन शान्त बनाउँछिन् ।
यसरी गायत्रीले यस कृतिभित्र सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक, वैयक्तिक लगायत विविध जगतका विकृति र विसङ्गतिहरूलाई छताछुल्लै पारेकी छन् । नेतालाई ठाडो गाली नगरी, कसैलाई नसरापी, बरु आफैँलाई हलुका हलुका लोप्पा खुवाउँदै, बाङ्गाबाङ्गा कुरा गर्दै, मिलाई मिलाई व्यङ्ग्य हान्नमा गायत्री खप्पिस छन् ।
बिब्ल्याँटो बाटो
हास्यव्यङ्ग्य लेखनको मुख्य विशेषता उल्टा कुरा गर्ने हो । सोझो कुरा गरेर व्यङ्ग्य हुँदैन । कतिपय व्यङ्ग्यकारहरू नेतालाई गाली गर्छन्, भ्रष्टहरूलाई सराप्छन् । त्यो कसरी व्यङ्ग्य भयो र ? हास्यव्यङ्ग्यमा त दुर्जनलाई सज्जन, भलाद्मीलाई दुष्ट, भ्रष्टलाई सदाचारी, इमान्दारलाई बेबकुफ, हो लाई हैन, छैनलाई छ, दुःखलाई आनन्द भनेर उडाउने कलाको प्रयोग गरिन्छ । यसरी अरु लेखनभन्दा भिन्न बिब्ल्याँटो बाटो हिँड्ने कुरामा गायत्री कहीँ कतै चुकेकी छैनन् ।
नमूनाका लागि हाम्रो मुलुकको विकासको गतिलाई गायत्रीले गरेको ‘प्रशंसा’ हेर्नुहोस्ः
-फाइदा व्यापारले मुलुक आर्थिक उन्नतिको शिखरमा दौडिरहेको छ । प्रतिव्यक्ति आय पैतालीस हजार डलर, जी.डी.पी. विश्वकै टप टेनभित्र । सुचना र सञ्चारमा भएको उन्नति र प्रगतिले सगरमाथालाई टपेर ध्रुवतारालाई छुन लागिसकेको छ । राजधानीका धारामा मात्र होइन सुक्का फाँटहरूमा पनि पानी फालाफाल छ ।
(रिमिक्स नेपाल)
अर्को एक बान्की यस्तो छः
-अब त विवाह आफ्नै जातसँग गरेपनि बच्चाबच्ची चाहिँ इन्टरकास्ट जन्माउनुपर्छ । मानिस सचेत प्राणी हो, उसलाई कानूनको जंजीरले बाँध्नु हुँदैन । जीवन जिउनुका कुनै सीमा र नियमहरूको उल्लेख गर्नु आवश्यक छैन ।
(नयाँ बहस)
रासका रास अनुप्राश
धेरैजसो हास्यव्यङ््ग्य लख्नेहरूले अनुप्राशको उपद्रै उपयोग गर्ने गर्छन् । अनुप्राशको उपयुक्त प्रयोेगले वाक्यहरू आकर्षक बन्छन् । तिनले पाठकलाई एकप्रकारको मनोरञ्जन दिन्छन्, तान्छन् । यस मानेमा यी स्याङ्जाली परीले पाठकलाई हाराबारा नै खेलाएकी छन् । एउटै वाक्यमा दर्जनौँ अनुप्राशयुक्त शब्दहरू भरेकी छन् । अनुप्राश उपयोग नगरेको कुनै एउटा अनुच्छेद भेट्टाउन गाह्रो छ । उनको पहिलो लेखको पहिलो वाक्य छ, कहिल्यै पनि फेल नहुने खेलको नाम हो, टाइम पास ।फेल र खेलको अनुप्राशयुक्त मेलबाट निवन्ध लेखनकोे रेल कुदाउन शुरु गरेकी लम्सालले साँच्चै भनौँ भने हरेक रचनामा अनुप्राशको खेला नै देखाएकी छन्, शब्दहरूको मेला नै चलाएकी छन् । दुईचार ठाउँमा अलिकति ठेलठाल गरेर नयाँ नयाँ शब्दहरूको घुसपैठद्वारा पनि अनुप्राश मिलाएकी छन् । तर पनि ती अस्वाभाविक लाग्दैनन् ।
-सन्डे ड्रेस, मन्डे ड्रेस, स्काउट ड्रेस, डान्स ड्रेस, जाउस ड्रेस, आउस ड्रेस, माउस ड्रेस, खेल्ने ड्रेस, हेर्ने ड्रेस, फेर्ने ड्रेस, रकिङ ड्रेस, हकिङ डे्रस, सुटिङ ड्रेस, भुटिङ डे्रस, उठिङ डे्रस, भ्रमण डे्रस, हर्मण डे्रस, पढ्ने ड्रेस, सड्ने डे्रस, लर्ने डे्रस आदि आदि डे्रस नै डे्रस बाबै चिन्नै गार्हो, किन्नै गार्हो ।
(दाम बोर्डिङ स्कूल)
-चर्को बोलेर हुन्छ कि, मुसो बनी दूलोमा छिरेर हुन्छ कि, आफ्नो थुक आफैंले चाट्ने काम गरी गिरेर हुन्छ कि, दुईचार वटाका दुईचार वटी श्रीमती भिरेर हुन्छ कि, गाली गरेर हुन्छ कि, फकाएर हुन्छ कि, चटाएर हुन्छ कि, कुटेर हुन्छ कि, भुटेर हुन्छ कि …
( भलाद्मी)
कथा उपकथाको सिँगारपेटार
निवन्ध लेखनमा सरल निवन्धभन्दा हास्यव्यङ्ग्य निवन्धमा कथा, उपकथाहरूको प्रयोग धेरै हुन्छ । निवन्धभित्र अनेक कथा उपकथाका फुलबुट्टाहरू भरेर निवन्धलाई रोचक र आकर्षक बनाइन्छ । गायत्री यस मामिलामा पनि खरो उत्रिएकी छन् । धेरै छन्, तर उदाहरणका लागि एउटा उपकथाः
एक समयको कुरा हो, रामले आफ्नै हितैषी साथी श्यामलाई विश्वास मानेर भरपाई नबनाइकन पाँच लाख रूपैया सापटी दिएछ । केही वर्ष पछाडि अप्ठ्यारो पर्दा राम श्यामसँग आफूले दिएको पैसा फिर्ता माग्न गएछ । अफसोच ! श्यामले भनेछ, तिमीले पैसा दिएकै छैनौँ, खै पैसा दिएको भरपाई ? विचरो राम भरपाईको महत्व बुझेर लुरुलुरु घरतिर फर्केछ । आजभोलि त रामले आफ्नी श्रीमतीलाई माया गरेको पनि भरपाई बनाउँछ रे ।
(भरपाई)
तुलना शैली
सैद्धान्तिक रूपमा यसप्रकारका भाषिक कलालाई के भनिन्छ मलाई थाहा छैन, तर हास्यव्यङ्ग्य रचना गर्नेहरूले प्रयोग गर्ने एउटा भिन्न र गज्जवको शैली छ, यसलाई तुलना शैली भनेर काम चलाउँछु । एउटा चिजसँग अर्को चिजको तुलना, एउटा विषयसँग अर्को विषयको तुलना । यसैभित्र शब्दजालहरूमा पाठकलाई रुमल्याएर चकित पार्ने, हँसाउने, काउकुती लगाउने, शब्दहरूको खेला देखाउने, जादू देखाउने गर्छन् व्यङ्ग्यकारहरूले । भैरव अर्यालले असाध्यै प्रयोग गरेको यो शैलीलाई पछिका प्रायः सबैले अनुशरण गरेको पाइन्छ ।
यहाँदेखि त्यहाँसम्म, उतादेखि त्यतासम्म, यो होस् कि त्योे होस्, ऊ होस् कि जो होस्, यसोे गरेर हुन्छ कि उसो गरेर हुन्छ भन्ने किसिमका विभिन्न कुरासँग तुलना गरेर वाक्यहरू गठन गर्ने यो शैलीलाई व्यङ्ग्य रचनाको निजी शैली भन्छु म । गायत्री यसप्रकारको विधि बढी प्रयोग गर्नेमा पहिलो हुनसक्छिन् भन्ने मलाई लाग्छ । केही नमूनाः
-पानी बेचेर हुन्छ कि नानी बेचेर, मिठो भाषणमा हुन्छ कि बलको शासनमा, संसदमै लडेर हुन्छ कि विपक्षीको टाउको फोरेर, चोरेर हुन्छ कि ठगेर, नेपाल बन्द गरेर हुन्छ कि अनशनको धन्दा गरेर….
(प्रतिस्पर्धा)
-मास्क र मुखुण्डो लगाएर आफ्नै प्रियसीको गलाको गहना ताने पनि भयो, आफ्नै मन नपरेकाहरूलाई गोली हाने पनि भयो । चिनीपानी खोलेर भिरमौरीको मह हो भनेर बेचेपनि भयो, म त सार्है असक्त मान्छे हुँ भन्दै झुत्रा कपडा लगाएर बह बेचे पनि भयो ।
(बरोजगार बन्नका लागि खुला विज्ञापन)
हास्यरसको वर्षा
अहिलेको हास्यव्यङ्ग्य साहित्यमा हास्यको ठूलो खडेरी छ । यो खडेरीलाई मज्जैले चिर्ने काम गायत्रीले गरेकी छन् । गायत्रीबाट प्रायः हरेक रचनामा हास्यरसको वर्षा भएको छ । शब्द चयन, वाक्य गठन, घटना परिस्थिति मिलाएर एकदमै सहज तरिकाले हँसाउने क्षमता गायत्रीसँग छ । हास्यव्यङग्य रचनाहरूबाट हराउँदै गएको हास्य रसलाई गायत्रीले फर्काएकी छन्् । केही उदाहरण पेश गर्छुः
-छोरोले विदेशी बुहारी बनाएको धेरै भएको छैन । सासूलाई उसले ढोग होइन सधँै हग गर्छे । अचम्म छ , त्यो ढोग र हग भन्ने कुरोमा कुन चाहिँ ठूलो हो, मलाई त शंका नै लाग्छ ।
(शङ्का लाग्छ)
हामी कहाँ सबै कुराको प्रविधि नयाँ छ । अरुको जस्तो सन्तान जन्मान्तरको लागि प्रयोग गर्ने संगिनी सूई यहाँ प्रधानमन्त्रीले लगाएर आउँछन् । कम्तीमा तीन महिने, बढीमा नौ महिने ।
(कामकाजी कर्मचारी)
भाले पार्टीले एउटा जापनीज फरिया दियो रे, पोथी पार्टीले एक क्विन्टल चामल, झारे पार्टीले एउटा तिलहरी, पाले पार्टीले एक बोरा तरकारी, हारे पार्टीले बोइलर कुखुराको एक किलो मासु….
(महान् चाड चुनाव)
मेरो घरकै कुरा सुन्नुहुन्छ भनेपनि म, मेरी, छोरो, छोरी, बाबा-आमा, हजुरबुवा हजुरआमा त नाम चलेकै फेसबुक साहित्यकार हौँ, त्यसमा पनि बुहारीको पेटमा आठ महिना लागेको नाति केटो छ, उसलाई सोध्दा पनि मेरो नाम पनि निकट भविष्यका फेसबुक साहित्यकारमा नछुटाउनुहोला भन्दै थियो ।
(फेसबुक साहित्य)
नयाँ शब्द उत्पादन
गायत्रीले निबन्धहरू लेख्दैै जाँदा थुप्रै नयाँ नयाँ शब्दहरू पनि जन्माएकी छन् । निवन्धका वाक्यहरूमा ठाउँठाउँमा घुसेका ती शब्दहरू अनौठा लाग्छन् । जस्तै मानन्दित, मुन्छिनी, दण्डचिला, हिडिया, खाइखाना, लुरस्कार, मान्छालय, खामकाजी, दामकाजी, खायोग, महाउपर आदि । शब्द मात्र पढ्दा अर्थ न बर्थका लाग्ने तिनीहरू वाक्यहरूमा सहज ढङ्गले आएका छन् । वाक्यमा तिनीहरू सजिलै बुझिने, स्वाभाविक लाग्ने र अर्थपूणर् पनि छन् ।
स्याङ्जाली झापाली गठबन्धन
स्याङ्जाली र झापालीहरूका विषयमा अनेक चुट्किलाहरू बनाएका छन् इष्र्यालुहरूले । प्रतिस्पर्धामा नसकेर अनेक अफवाहहरू फैलाएका छन् । आज यो झापाली सगौरव घोषणा गर्न चाहन्छ युवा उमेरमै झण्डै आधा दर्जन हास्यव्यङ्ग्यका कृति प्रकाशन गरिसकेकी स्याङ्जाली प्रतिभा गायत्रीको लगनशीलता, समर्पण र लेखनको स्तर हरेक दृष्टिकोणले हेर्दा यिनी हास्यव्यङ्ग्य लेख्नकै लागि यो धर्तीमा आएकी हुन्् । नेपाली हास्यव्यङ्ग्य साहित्यको इतिहासमा गायत्रीको नाम अब लेखियो । नपत्याए म पाठकहरूलाई एकपटक गायत्रीको यो भरपाई पढ्नुस् र मलाई भन्नुस् भन्छु । भैरव अर्याल, केशवराज पिँडालीहरू पछि एउटा पनि राम्रा हास्यव्यङ्ग्यकार जन्मिएनन्, गतिला रचना आएनन् भन्ने आलोचकहरूलाई गायत्रीले गतिलो जवाफ दिनेछिन भन्ने विश्वास गर्छु । हास्यव्यङ्ग्यमा खोई महिला भनेर प्रश्न गर्नेहरूलाई गायत्री एउटा स्पष्ट जवाफ हुनेछिन् भन्ने आशा गर्छु ।
अन्तमा
भरपाईमा कतै केही खोटै छैन भनेर म गायत्रीलाई मात्तिन किन दिन्थेँ । अलिकति खोट देखाएर उनलाई हिस्रिक्क पार्न र आफू गजक्क पर्न चाहन्छु । गायत्रीको लेखनमा कतै अतुलनीय क्षमता र कतै कतै अलिक हलुकापन देखापर्छ । परिपक्वताको अझै खाँचो छ । कतिपय स्थानमा अनुप्राशहरूको आवश्यकताभन्दा अधिक प्रयोगले पाठकलाई दिक्क लाग्न सक्छ भनेर सचेत गराउन चाहन्छु । अनुप्राश मिलाउँदा एकैखाले शब्दहरू बारम्बार दोहोरिनु राम्रो होइन । अनि कतिपय ठाउँमा अलिक हल्काफुल्का शब्दहरू र प्रसङ्गहरूको प्रयोग पनि घटाउँदा वा हटाउँदा राम्रो हुन्थ्यो भन्ने लाग्छ । मैले सर्सर्ती हेर्दा गायत्रीका व्यङ्ग्यहरूले सम्पादनको माग गर्छन् । त्यो पनि हुन सकेको भए अझै यो कस्तो बन्थ्यो होेला भन्ने म कल्पना गर्छु ।
अहिलेसम्म हामीले फेला पारेकी प्रतिभाशाली कान्छी हास्यव्यङ्ग्यकार गायत्री चुलोचौको, पैसा, ऐशआरामहरूमा रुमल्लिइनन् र लेखनलाई जारी राख्दै सम्पादनका लागि समेत तत्पर भइन् भने यिनको नाम भैरव अर्याल, केशवराज पिँडाली, नरेन्द्रराज पौडेल, मोहनराज शर्मा, श्याम गोतामे, चट्याङ मास्टरहरूको टोली सँगसँगै लिन थालियो भने पनि हामीले डाह नगरे हुन्छ । यति कुरा म ठोकुवा गर्न सक्छु । आगे गायत्री लम्सालको जो बिचार ।
भरपाईको बिट बोली
उपर्युक्त सम्पूणर् व्यहोरा मैले पूणर् होशहवासमा कुनै नातावाद, कृपावाद वा लोभलालचमा नपरी आफ्नै ल्यापटपे भाँडोको किबोर्डमा दुवै हातका दसै औँठाका छाप लगाई हाम्रो समयकी एक होनहार हास्यव्यङ्ग्यकार गायत्री लम्सालको पाँचौँ कृति भरपाईका लागि राजीखुशी यो लिखत तयार गरी निज गायत्रीलाई जिम्मा लगाएको ठिक साँचो हो । यस भरपाईको व्यहोरा फरक परी त्यसबाट निज लेखक गायत्री लम्साललाई कुनै असर परेमा त्यसको जिम्मेवारी निजकै हुनेछ । बाँकी फरक परे सहुँला बुझाउँला ।
इति सम्वत् २०७४ साल साउन २२ गते रोज १ शुभम् ।
‘भरपाई‘को भूमिकाबाट
Subscribe
Login
0 Comments
Oldest






































