साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रपत्रिकामा हास्यव्यङ्ग्य सिर्जना

यस पर्यावलोकनले के देखाउँछ भने विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यलाई पर्याप्त स्थान दिए पनि यति लामो कालखण्डमा दिगो भएर हास्यव्यङ्ग्य प्रधान पत्रिका भने निस्किएको पाइँदैन ।

Nepal Telecom ad

हास्यको मूल श्रोतको उठान विकृतिबाट र व्यङ्ग्यको मूल स्रोतको उठान विसङ्गतिबाट हुन्छ । यस सन्दर्भमा नेपाली समाजमा विकसित विकृति र विसङ्गतिको स्वरुपलाई देख्ने प्रथम सचेत द्रष्टा भानुभक्त आचार्य नै हुन् । सामाजिक जीवनमा देखिने विकृतिलाई र विसङ्गतिलाई आफैंले भोगेका विषम परिस्थितिजन्य अनुभवबाट सचेततापूर्वक साहित्यिक परिधान र आवरण दिने काम भानुभक्तले नै गरे । यसरी जीवनका परिवारिक, सामाजिक, प्रशासनिक विसङ्गतिलाई भानुभक्तले साधारणीकरण गरेर थोरै मात्रै रचना दिए पनि नेपाली हास्यव्यङ्ग्य ढुकुटीका अमूल्य निधि सावित भएका छन् । यसरी हेर्दा नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रारम्भिक उठान भानुभक्तको लेखनसँगै भएको हो भन्ने तथ्य स्पष्ट रुपमा देख्न सकिन्छ ।

भानुभक्तद्वारा माझिएको नेपाली हास्यव्यङ्ग्य उनीपछिको श्रृङ्गारकालसम्म टाक्सिएरै रहनु पर्‍यो । श्रृङ्गारकालको उत्कर्षबिन्दु सूक्तिसिन्धुको विरोध र त्यसमाथि प्रतिबन्ध लागेपछि नेपाली साहित्यमा रतिरागको श्रृङ्गार युग समाप्त भयो । यसको लगत्तै १९७७ सालमा मकैपर्वको घटना हुनपुग्यो । कृष्णलाल अधिकारीद्वारा लिखित मकैको खेती साहित्यिक कृति नभएता पनि “हामी आफ्ना देशी कुकुरभन्दा विदेशी कुकुरको धेरै मान गर्दछौं” जस्ता व्यङ्ग्यले ठूलै खैलाबैला मच्चायो । कृष्णलाल अधिकारीलगायत थुप्रै अरु कविहरू पनि दण्डित भए । राणा शासनको यो जगजगीले नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा मात्रै होइन सिङ्गै नेपाली साहित्यको अग्रगतिमा पनि नकारात्मक असर पार्नु स्वाभाविक थियो ।

त्यसपछि लामो समयसम्म हास-परिहासको पीडा देखिएन । व्यङ्ग्यको सातोपुत्लो गएछ । ठीक दुई दशकपछि अर्को राजनीतिक घटना घट्यो १९९७ सालको काण्ड । यसले पनि हास्यव्यङ््ग्यको डँडाल्नु सेकेछ । यसरी राजनीतिक घटनाक्रमले सातोपुत्लो उडाउँदाउडाउँदै र डँडाल्नो सेक्दासेक्दै पनि हास्यव्यङ्ग्य हर बाङ्गो परेरै भए पनि देखिन र लेखिन भने छोडेको पाइँदैन । यही समयअवधिमा शारदामा प्रकाशित सिलवाल पण्डितको “वेदान्त विवादको मिसिल” गद्य हास्यव्यङ्ग्यको पहिलो प्रयोग थियो । यसै परम्पराको आधारभूमि मानिन सक्ने गोर्खा संसारमा प्रकाशित “जातीय रोगको अचूक औषधि” (वि.सं.१९८३), शारदामा प्रकाशित प्रेमराज शर्माको “भुँडे पण्डितजीको चिठी” (वि.सं.१९९२) जस्ता हास्यव्यङ्ग्य रचना यसै समयावधिका उपलब्धि र प्राप्तिहरू हुन् । वि.सं.१९९१ सालमा प्रकाशन प्रारम्भ भएको शारदा पत्रिकामा हास्यव्यङ्ग्य रचना प्रस्तुत गर्ने उद्देश्यले “हाँसी दिल्लगी” स्तम्भको व्यवस्था गरियो । त्यही स्तम्भअन्तर्गत प्रेमराज शर्मा र सिलवाल पण्डितका माथि उल्लेखित रचनाका साथै अरु ज्ञात अज्ञातका हास्यव्यङ्ग्य रचनाहरूको प्रकाशन भयो ।

नेपाली समाजले २००७ सालपछि नवीन, स्वतन्त्र र खुल्ला परिवेशमा पदार्पण गर्‍यो । २००७ सालपछिको अवस्थामा हास्यव्यङ्ग्य शब्दजनित हास्य मिश्रणबाट मुक्त भएर हास्यहीन वैचारिक व्यङ्ग्यका तहमा पुगेर व्यक्त हुन थाल्यो । यस परिस्थितिमा स्रष्टाहरू मनोरञ्जन र मनोविनोदका सीमारेखालाई नाघेर राजनीतिक, सांस्कृतिक विसङ्गतिलाई स्रष्टाहरूले देख्न र लेख्न थाले । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषम परिस्थितिलाई नाङ्गो रुपमा राखिदिने तत्वका रुपमा हास्यव्यङ्ग्यलाई प्रस्तुत गर्न प्रयत्नरत रहे । कतिपय ठाउँमा व्यक्तिगत निराशा, पलायन र वितृष्णाका भावहरू हास्यव्यङ्ग्यले त्याग्न सकेको थिएन । तर २००७ सालपछि आएर बिस्तारै व्यक्तिगत निराशा र पलायनका भावहरू, रतिराग र श्रृङ्गारमा पाइने झल्काहरू र आक्रोश र प्रतिशोधका घेराबाट मुक्त भएर जीवन, समाज र परिवेशका समष्टि वातावरणका प्रतिकात्मक बिम्बविधान एवम् रुपमा र उत्प्रेक्षाहरूका उपकरणहरूलाई हास्यव्यङ्ग्यले आत्मसात गर्न भने क्रमशः सक्षम हुँदै गएको छ ।

यस्तो परिस्थितिमा सर्जकका हृदयले विसङ्गतिको सृजना गर्ने कारणभूत तत्वलाई नै उन्मूलन गर्नुपर्ने स्थितिको अनुभव गर्दछ । अनि स्रष्टा त्यस्ता कारणभूत तत्वमाथि व्यङ्ग्यात्मक रुपमा आक्रमण गर्न थाल्छ । उसले सरकार तथा शासन सत्ताको इकाइलाई, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका धार्मिक, साँस्कृतिक, राजनीतिक प्रभावलाई विसङ्गतिका कारणका रुपमा पाउँछ । उसले राष्ट्रिय र अन्तर्राष्ट्रिय मूल्यमा थपिन आउने मानवीय गतिका अवरोधक तत्वलाई निर्मूल गर्नुपर्ने र मानवीय मूल्यको संरक्षण गर्नुपर्ने गुणहरूको जगेर्ना गर्नुपर्ने कुरा आफ्नै रचनाका माध्यमबाट सन्देश दिन थाल्दछ ।

२००७ सालपछि उपलब्ध प्रजातान्त्रिक वातावरणले लेखन तथा प्रकाशनका निम्ति अनुकूल परिस्थिति दियो । राणाहरूको निरङ्कुश शासनको आतङ्कबाट त्रस्त र ग्रस्त रहने स्थिति अब रहेन । लेखन तथा प्रकाशनमा केही अनुकूल परिस्थितिको सृजना भैदिएकाले पत्रपत्रिका प्रकाशनको सुविधा बढ्नु स्वभाविकै थियो । पत्रपत्रिकामा हास्यव्यङ्ग्य स्तम्भहरूको व्यवस्था हुन थाल्यो । “हालखवर”मा “हाँस्नु हुन्छ भने”, “नयाँ समाज”मा “बाउँठे बाजेको चिठी”, “नेपाल समाचार”मा “यो हो उपत्यका”, “गोरखापत्र”मा “जुँगे दाइको चिठी” र पछि “व्यङ्ग्य विनोद”, “साप्ताहिक समाचार”मा “तितोमीठो”, “समीक्षा”मा “झर्रोटर्रो” जस्ता हास्यव्यङ्ग्य स्तम्भमार्फत् हास्यव्यङ्ग्यमुलक रचनाहरूको प्रकाशन बढ्दै गयो ।

यसका अतिरिक्त पुस्तकाकार कृतिकै रुपमा कृष्णप्रसाद चापागाईंको रसभरी चमचम (२००८), हृदयचन्द्रसिंह प्रधानको जुँगा (२००९), रुद्रराज पाण्डेको नेपाल आजाद संघ (२००९), लिलाध्वज थापाको दाह्री (२००९), मुरलीधरको सोते थापा एण्ड लवर पाण्डे र पुङमाङ पुरोहित (२०१०) केशवलाल कर्माचार्यको महिला संघको आमसभा (२०१०) आदि उल्लेखनीय छन् । सिङ्गो कृति नदिए पनि यो चरणका थप हास्यव्यङ्ग्य स्रष्टामा केशवराज पिंडाली, दाताराम शर्मा, लक्ष्मीप्रसाद देवकोटा, अच्छा राई रसिक, प्रेमराज शर्मा, पूणर्प्रसाद ब्राम्हण, श्यामदास वैष्णव, आदि सार्थक नामहरू हाम्रो अगाडि आउँछन् । यिनीहरूमध्ये प्रायःजसो सबै गद्य र पद्यमा ओर्लिएका छन् भने केही गद्यमा मात्रै वा केही पद्यमा मात्रै पनि भेटिन्छन् ।

नेपाली हास्यव्यङ्ग्यको सबैभन्दा उर्वर समय अवधि नै २०१७ सालदेखि २०३० सालसम्मको समयअवधि हो । यसै चरणमा संख्यात्मक र गुणात्मक हिसावले पनि सबैभन्दा धेरै हास्यव्यङ्ग्य कृति लेखिएका र प्रकाशित भएका छन् । अघिल्लो पुस्ताका स्रष्टाहरूको क्रियाशीलता यो बेला पनि कायम थियो भने यसै चरणमा नयाँ तर अत्यन्तै बलिया स्रष्टाहरूले यस क्षेत्रमा पदार्पण गरेको देखिन्छ । यस चरणको प्रारम्भ नै केशवराज पिंडालीको खैखै (२०१७) जस्तो सशक्त कृतिबाट भएको छ । खैखै आफैंमा एउटा मानक स्तम्भ हो ।

यसै चरणको सुरुतिर भैरव अर्याल अत्यन्तै बलियो प्रतिभा लिएर देखापरेका छन् । अर्यालका काउकुती (२०१९), जय भूँडी (२०२०), गलबन्दी (२०२६), इतिश्री (२०२८) जस्ता हास्यव्यङ्ग्यका मानक कृतिहरू यसै चरणका प्राप्ति हुन् । धनुषचन्द्र गौतमका स्फुट निबन्धहरू, श्रीधर खनालको नमरी संसार देखिन्न (२०२०), वासुदेव लुइँटेलको चिठी चपेटा (२०२२) रामकुमार पाँडेको ख्यालख्याल (२०२५), खप्पर (२०२६), मोज गर्नोस् (२०२७) र बाह्रमज्जा (२०३०) विष्णु नवीनको श्रीमतीसित एक दिन (२०२२), भीमप्रसाद लामिछानेको घुँएत्रो (२०२४) ओमकुमार झाको जय फेशन, जय मदिरा (२०२६), मोहनराज शर्माको च्याँखे धर्ना (२०२४), घटोत्कच शर्माको दमाहा (२०२४), श्याम गोतामेको जदौ (२०२६), मपाईं (२०२७), गोपालराज पन्तको सेतो शालिग्राम (२०२६), कर्के आँखा (२०२८), कुलमणि देवकोटाको गाईजात्रा (२०२९) र मुडुली बज्यै (२०३०) कृतिहरू यस चरणका उपलब्धिका रुपमा रहेका छन् ।

हास्यव्यङ्ग्यात्मक कार्यक्रम तथा गोष्ठीहरूको आयोजना गरी हास्यव्यङ्ग्य रचना सिर्जनातर्फ आकर्षित र प्रेरित गर्ने कार्यको थालनीसमेत यसै अवधिबाट भयो । हास्यव्यङ्ग्य कृतिहरू खोजिखोजी र लेखाई-लेखाई प्रकाशन गर्ने कौवा प्रकाशनको स्थापना यसै समयमा भयो । माथि उल्लेखित भएकामध्ये धेरैजसो हास्यव्यङ्ग्य कृतिहरू कौवा प्रकाशनद्वारा प्रकाशित भएका हुन् । हास्यव्यङ्ग्यका बहुचर्चित र उत्कृष्ट कृतिहरूको प्रकाशनमा कौवा प्रकाशनको योगदान यो समयको उल्लेख्य पक्ष हो । छ्याकन, भालु पुराण, सेलको माला, डाढो, उल्लीविल्ली, जस्तातस्तैजस्ता उत्कृष्ट सङ्कलनहरू कौवा प्रकाशनकै प्रयत्नका राम्रा कडीहरू हुन् । प्राय यी सबै यही समयअवधिमा प्रकाशित भए । कौवा प्रकाशनको चाँजोपाँजोमा भैरव अर्याल र वासुदेव लुइटेलको श्रम र शिप लागेको थियो ।

यसै अवधिमा साहित्यिक पत्रपत्रिकाले हास्यव्यङ्ग्य अङ्क र विशेषाङ्क निकाल्ने क्रम शुरु हुन्छ । “रचना” को हास्यव्यङ्ग्य अङ्क (२०२०) यसतर्फको पहिलो पाइलो हो । यहीँदेखि गाईजात्रालाई हास्यव्यङ्ग्यको साँस्कृतिक प्रतीक मानेर गाईजात्राको अवसरमा पत्रपत्रिकाहरूले गाईजात्रा विशेषाङ्क निकाल्ने परम्परा शुरु हुन्छ । “रचना” (मासिक)ले २०२० सालमा प्रारम्भ गरेको गाईजात्रा विशेषाङ्कको परम्परालाई पच्छ्याउँदै मासिक, द्वैमासिक, पाक्षिक र साप्ताहिक पत्रपत्रिकाहरूको ताँती लाग्न थाल्यो । यसरी समसामयिक विसङ्गतिलाई निशाना बनाएर २०२९ सालमा मात्र गाईजात्रा विशेषाङ्क प्रकाशित गर्ने पत्रपत्रिकाहरूमा रहस्य (सं. मुरारिप्रसाद गौतम), तमासा (सं. टपरटुइयाँ काजी), अर्पण (सं. मञ्जुरत्न शाक्य), नकच्चरो (सं. ज्वाइँनारायण जेठो कान्छो), गुरुमापा (सं. विन्दु बैंसपुजारी), रत्नदीप (सं. गंगाबहादुर मानन्धर दीप), नौलो नेपाली (सं. खेम कोइराला), नयाँ सन्देश (सं. पुष्प थपलिया), प्रिया (सं. हिमालय भक्त), खासखुस (सं. लक्कडबहादुर सिं), नयाँ समाज (सं. पशुपतिदेव पाण्डे), गाईजात्रा (सं. औतारी काका), कलियुग (सं. रामकुमार पाँडे), हलचल (सं. कृष्णप्रसाद बाँस्कोटा), साँढे (सं. स्वराजमान बनिया), गोरेटो (सं. रामकृष्ण कर्माचार्य), तन्नेरी (सं. मोक्ष ब. अमात्य), रमिता (सं. विश्वमित्र), फेशन (सं. वि.एम. शाक्य), समीक्षा (सं. मदनमणि दीक्षित) आदि रहेका छन् ।

२०३०, ०३१ सालमा पनि माथि नामोल्लेखित पत्रिकाहरूले निरन्तरता दिएको देखिन्छ भने थप अरु पत्रिकाहरूले यसै साल गाईजात्रा विशेषाङ्क निकालेका थिए । ती थप पत्रिकाहरू हुन्- ज्वाला (संं. कृष्णप्रसाद सिवाकोटी), गोरुजात्रा (सं. कनकदीप व.आ.), हिमाली हुलाक (सं. रामहरि भण्डारी), प्रतिध्वनि (सं. गोकणर्देव पाण्डे), जन्मभूमि, (?) उपहार (सं. रामशरण बस्नेत), जनजागृति (सं. नीरमान नेवा), साहित्य श्रृङ्गार (सं. हिमालभक्त प्रधानाङ), नवरञ्जन (सं. राजाराम अमात्य), नयाँ आवाज (सं. वी.आर.एस.), हलचल (सं. नरेश श्रेष्ठ), स्पार्क (कार्टुन विशेषाङ्क), हिमदूत (सं. चित्राङ्गत सिग्देल), विहान (सं. कमलप्रसाद घिमिरे), तर्क (सं. कृष्णप्रसाद बाँस्कोटा), संरक्षक (सं. श्रीधर खनाल), जागृति (सं. शक्तिराम भण्डारी) आदि ।

यसै अवधिमा निस्किएका हालखवर र अर्पणका हास्यव्यङ्ग्य विशेषाङ्क र हास्यव्यङ्ग्य प्रधान खित्का, कलियुग र शिवलिङ्ग पत्रिकाहरू पनि स्मरणीय छन् ।

यो अवधिका केन्द्रीय व्यक्तित्व भरैव अर्याल नै हुन् । हास्यव्यङ्ग्यका शाश्वत शिल्पी अर्यालको शीप र सशक्त क्षमताले नेपाली हास्यव्यङ्ग्यलाई माथिल्लो सिंढी चढाउन राम्रैसँग काँध थापेको छ । उनको लेखन प्रारम्भ अलिक अगाडि भए पनि यही अवधिको शुरुदेखि उनका हाँसोको उखरमाउलो उमार्ने र व्यङ्ग्यले बङ्गारा झार्ने रचनाहरू प्रकाशित भएका छन् । समकालीन र आफू अघिको पुस्तालाईसमेत निकै पछि छोडेर लगभग उनी एक्लै सगरमाथा चढे । हास्यव्यङ्ग्यको एउटा सगरमाथा उनी आफैं बने । विसङ्गत स्थितिमाथि पौंठेजोरी खेल्दाखेल्दै, उनी स्वयमले आत्महत्या जस्तो विसङ्गत मृत्युवरण गरे । संख्याको हिसावले पाँचवटा कृति केही होइनन् तर गुणको हिसावले तिनै पाँचवटा कृति नेपाली हास्यव्यङ्ग्यका मानक कृति बन्न पुगेका छन् । तिनै कृतिमार्फत भैरव अर्यालले हास्यव्यङ्ग्यको सर्वाधिक उचाइ प्राप्त गरेका हुन् । उनको यो उचाइलाई नाघ्ने गरेर अर्को हास्यव्यङ्ग्यकार व्यक्तित्व उभ्भिन नसकेको यथार्थलाई कसैले नकारेको पनि देखिन्न । यद्यपि यस क्षेत्रमा केशवराज पिंडाली, श्याम गोतामे, रामकुमार पाँडे, वासुदेव शर्माहरूको लगानी कम रहेको छैन । अहिलेका प्रखर एवम् चर्चित कतिपय हास्यव्यङ्ग्यकारहरूले लेखन प्रारम्भ गरेको समयअवधि पनि यही हो । भैरव अर्यालका कृतिहरूको प्रकाशन, कौवा प्रकाशनको स्थापना र त्यस प्रकाशनले प्रकाशित गरेका नमुनालायक हास्यव्यङ्ग्य कृतिहरूको प्रकाशन, हास्यव्यङ्ग्य महोत्सवको आयोजना, गाईजात्राको अवसर पारेर पत्रपत्रिकाका हास्यव्यङ्ग्य विशेषाङ्कहरूको व्यापक प्रकाशन, र पहुँच उपलब्धताका कारण र वस्तुस्थितिले पनि यो काल खण्डलाई नेपाली हास्यव्यङ्ग्यले उत्कर्षता प्राप्त गरेको स्वणर्काल भन्न सकिन्छ ।

गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यात्मक सामग्री प्रस्तुत गरी विशेषाङ्क निकाल्ने परम्परा यस अवधिमा पनि अझ मौलाएको देखिन्छ । २०३१ सालमा गाईजात्रा विशेषाङ्क प्रस्तुत गर्ने पत्रपत्रिकाहरूमा नयाँ समाज (?), रहस्य (सं. मुरारि गौतम), हिमदूत (सं. चित्राङ्गत सिग्देल), गोरेटो (सं. धर्मरत्न यले), विहान (सं. कमलप्रसाद घिमिरे), तर्क (सं. कृष्णप्रसाद बाँस्कोटा), ज्वाला (सं. कृष्णप्रसाद सिवाकोटी), संरक्षक (सं. श्रीधर खनाल), जागृति (सं. शक्तिराम भण्डारी), समीक्षा (सं. मदनमणि दीक्षित) आदि रहेका छन् । यो क्रम अझै बढेर गयो । ०३८ सालमा आइपुग्दा यसरी विशेषाङ्क प्रस्त्ुत गर्ने पत्रपत्रिकाहरूमा नौलो डाँको (सं. उमाकान्त शर्मा), रहस्य (सं. मुरारि प्र. गौतम), मायालु (सं. शम्भु श्रेष्ठ), सागर (सं. अशोक श्रेष्ठ), छानवीन (सं. माधव शर्मा), साँघु (सं. गोपाल बुढाथोकी), रत्नदीप (सं. गंगाबहादुर मानन्धर), अर्पण (?) स्मरण (?), चर्चा (सं. नेपालभूषण न्यौपाने), तर्क (सं. कृष्ण बाँस्कोटा), वकँफुस्लु (सं. एच.जी.एम.), जन्मभूमि (सं. गणेशबल्लभ प्रधान), कामिनी (सं. व.अ. कनकदीप), अचेल (सं. श्यामकृष्ण महर्जन), राजमति (?), युगवाणी (?) गाईजात्रा (सं. आर.वी. याक), कञ्चनजङ्घा (सं. वी.वी. क्षेत्री) ब्रम्हाण्ड (सं. श्रीधर खनाल) आदि प्रमुख देखिन्छन् ।

यसबीच धरा (सं. दिपक सोती, रविन्द्र जोशी), अन्तर्वार्ता (सं. विश्वजीत किराँती), प्रिया (सं. राजभक्त हिमालय), अस्तित्व (सं. युद्धप्रसाद गौतम), सिम्रिक (सं. आशासिंह शाह), समीक्षा (मदनमणि दीक्षित), जरुरी (सं. भीमनारायण शर्मा), क्षितिज (सं. विजय रत्न), नेपाल पोष्ट (सं. देवेन्द्र गौतम), नयाँ किरण (सं. नरेन्द्रविलास पाण्डे) आदि पत्रपत्रिकाहरूले प्रायः हरेक वर्ष गाईजात्रा विशेषाङ्क निकाली तत्कालीन परिस्थितिमा देखिएका विसङ्गति र विकृतिको हाँसोमय ढङ्गले पर्दाफास गरेको देखिन्छ ।

यसै अवधिमा हास्यव्यङ्ग्य प्रधान मुस्कान मासिक (सं. धर्मराज वराल), रकेट द्वैमासिक, (सं. पहिले आर.पी. भट्टराई, पछि लक्ष्मण गाम्नागे), चड्कन द्वैमासिक (सं. लक्ष्मण गाम्नागे), झ्याँइकुटी त्रैमासिक (सं. माणिकरत्न शाक्य) आदि पत्रिकाहरूको प्रकाशन प्रारम्भ भएको देखिन्छ । मुस्कान केही अङ्क र झ्याइँकुटी ६ अङ्क अनि चड्कन ८ अङ्क निस्किएर बन्द भए ।

२०४६ सालको जनआन्दोलनले ३० वर्षीय पञ्चायती निरंकुशता समाप्त भएपछि नेपाली हास्यव्यङ्ग्यले अर्को कोल्टो फेर्न पुग्यो । विसङ्गति र विकृतिको एउटा डुङ्गुर सत्ताबाट ओर्लियो । साह्रै ठूलो बलिदानपछि प्राप्त प्रजातन्त्र नेपाली जनमनमा थुप्रै आशा आकाङ्क्षा र आस्थाको घाम बनेर उदायो । चेतना र चिन्तनले नवीन पखेटा फटफटाए । पत्रपत्रिकाको बाढी नै ओइरियो । प्रायः हरेक पत्रपत्रिकामा विभिन्न नाम र रुपमा हास्यव्यङ्ग्य र व्यङ्ग्य स्तम्भहरूको व्यवस्था गरियो । राजनीतिक परिवर्तन भए पनि जनताको जीवन दशामा कुनै परिवर्तनको लक्षण देखिएन- देखिएको छैन । आस्था र आदर्शका धरोहरहरू गल्र्यामगुर्लुम ढल्न थाले ।

प्रजातान्त्रिक मूल्य र मान्यतामा अकल्पनातीत ढङ्गले ह्रास आयो । केवल सत्ता र कुर्सी प्राप्तिका निम्ति भीषण छिनाझप्टी, किनबेच, स्वार्थका निम्ति तानातान र हानाहान, नयाँ खाले जटिलता र नयाँ खाले समस्या । अतुलनीय त्यागको वलिवेदी चढेर आएकाहरूबाटै स्वार्थलम्पट प्रवृत्तिको प्रदर्शन । एक खालको जर्जरता समाप्त भएको थियो, अर्को खालको जर्जरताले प्रजातन्त्रको खास्टो या बर्को ओढेर राईंदाईं गर्न थाल्यो । यस्तै जर्जर परिस्थिति हास्यव्यङ्ग्यको निम्ति उर्वर विषयवस्तु बन्ने गर्छ । ०४६ सालपछिको प्रजातान्त्रिक वातावरणमा पनि सत्ता, राजनीति, दल बदल, महङ्गी, अभाव, घूस, भ्रष्टाचार, सामाजिक दुराचार आदि विसङ्गतिको लेथ्नु काड्ने काममा हास्यव्यङ्ग्यकारहरू अठोट र प्रतिबद्धतासाथ लेखनमा देखापरे । पाका पुरानाहरू पनि जुटिरहे । नयाँ नौला र यस क्षेत्रमा पाइला हाल्ने नवागतहरू र अगाडिदेखि व्यङ्ग्यलाई आत्मसात गरेर सिर्जनामा संलग्न स्रष्टाहरू यो बेला पनि क्रियाशील देखिन्छन् ।

यताको यो अवधिमा पत्रपत्रिकाले गाईजात्रे विशेषाङ्क प्रस्तुत गर्ने क्रम केही घटेको देखिन्छ तर पनि भाँडभैलो (प्रमुख संयोजक, धीरेशकुमार दहाल (डिकेड)), कामना (सं.?) भुँडी पुराण (सं. अर्जुन पराजुली), सिस्नुपानी (सं. लक्ष्मण गाम्नागे) आदि पत्रपत्रिकाले यो धर्म निर्बाह गरे पनि निरन्तरता कायम राख्न सकेनन् ।

यसै चरणमा आएर हास्यव्यङ्ग्यको उत्थान निम्ति थप संगठित र सामूहिक प्रयत्नहरू भएका छन् । हास्यव्यङ्ग्य समाज नेपाल (हासने) को स्थापना र यसले आयोजना गर्ने गरेको हुस्सु दिवस, लगायतका हास्यव्यङ्ग्य कवि गोष्ठीहरू र हासने पुरपुरो पुरस्कार, विरसा हास्य लेखन पुरस्कार आदिको व्यवस्था, भैरव पुरस्कार गुठीको स्थापना र यसले प्रदान गर्न थालेको भैरव पुरस्कार र भैरव (नव)प्रतिभा पुरस्कारको व्यवस्था, वासुदेव लुइँटेलद्वारा स्थापित वासुदेव विद्यादेव लुइँटेल गुठी र यसद्वारा प्रदान गरिन थालिएको वासुदेव लुइँटेल पुरस्कार (२०५१) जस्ता पुरस्कार र सम्मानले हास्यव्यङ्ग्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । हास्यव्यङ्ग्यका अविभावक मानिने वासुदेव शर्माद्वारा स्थापित नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँको उक्त पुरस्कार भौतिक र नैतिक दुवैरुपले पनि एकदम बलियो मानिन्छ । हास्यव्यङ्ग्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याइआएका हास्यव्यङ्ग्य लेखक, अभिनय कलाकार तथा व्यङ्ग्य चित्रकारहरूमध्येबाट हरेक वर्ष एक जनाको छनौट गरी (अहिले २ वर्षमा १ जनालाई) उक्त पुरस्कारले सम्मानित गर्ने गरिएको छ ।

सामूहिक प्रयत्नकै परिणाम स्वरुप हास्यव्यङ्ग्य साहित्यिक गतिविधि एवम् हास्यव्यङ्ग्यात्मक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य र धेय राखेर ०५५ साल बैशाख १९ गते काठमाडौंमा सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) नामको अर्को संस्था स्थापना भएको देखिन्छ । पछिल्लो पिंढीका उत्साही हास्यव्यङ्ग्यकर्मीहरूको क्रियाशीलता तथा संलग्नतामा स्थापित उक्त संस्थाद्वारा हास्यव्यङ्ग्य लेखन र प्रस्तुतिका अतिरिक्त हास्य जुलुस, हास्यव्यङ्ग्यात्मक द्यौसी, खित्का गोष्ठी, कुर्सीमाथि फर्सी, उपत्यकाव्यापी हास्यव्यङ्ग्य कविता महोत्सव, दहीच्युरा काव्य गोष्ठी, वाइ-टु-के सिस्नुपानी जस्ता हाँसो र व्यङ्ग्यमय कार्यक्रमहरूको सफल आयोजना सम्पन्न गरेको छ । सिस्नुपानी हास्यव्यङ्ग्य पत्रिका, सोही नामको चुटकिला सङ्ग्रहको प्रकाशन र साहित्यकार उपचार कोष खडा गर्नेसम्मका काममा यसको सक्रियताले यस क्षेत्रमा सिस्नुपानीको उपस्थिति सार्थक देखिएको छ ।

पछिल्ला वर्षहरूमा तिहारको अवसर पारी आयोजना गर्ने गरिएको सिस्नुपानी नेपालको हास्यव्यङ्ग्य द्यौसी अत्यन्त लोकप्रिय बनेको छ । यद्यपि व्यवस्थित किसिमले हास्यव्यङ्ग्य सामग्रीहरूको प्रकाशनतर्फ भने यो संस्थाको ध्यान पर्याप्त नपुगेको महसुस हुन्छ । वासुदेव लुइँटेल गुठीद्वारा २०५६ सालमा स्थापित नेपालकै पहिलो हास्यव्यङ्ग्य पुस्तकालयको व्यवस्थापन र सञ्चालनमा पनि यो संस्था जुटेको देखिन्छ ।

२०४२ र २०५४ साल भदौमा प्रकाशित ‘मधुपर्क’ का हास्यव्यङ्ग्य अङ्क पनि यहाँ स्मरणीय छन् । ०५४ को हास्यव्यङ्ग्य अङ्कमा प्रस्तुत कृष्णचन्द्रसिंह प्रधानको ‘नेपाली साहित्यमा हास्यव्यङ्ग्य : प्राप्ति र पर्यवेक्षण’ ले ऐतिहासिक दिग्दर्शन गराउँदै आधुनिक कालको पछिल्लो चरणसम्मका प्राप्तिहरूको पर्यवेक्षण गरेको पाइन्छ भने कृष्ण गौतमको ‘नेपाली कवितामा हास्यव्यङ्ग्य’, शिव रेग्मीको ‘हास्यव्यङ्ग्य चेतनाका युवक कवि मोतिराम’, विष्णु प्रभातको ‘कला साहित्यमा हास्यव्यङ्ग्य शैली’, वासु रिमाल यात्रीको ‘केही आधुनिक हास्यव्यङ्ग्य निबन्धकारहरू’ लगायत रघु घिमिरे, रोचक घिमिरे, घटराज भट्टराई, ज्ञानेन्द्र विवश, भोजराज भट्ट, चन्द्रमणि अधिकारी, लक्ष्मणप्रसाद गौतम आदिका हास्यव्यङ्ग्यसम्बन्धी समीक्षा समालोचना र टिप्पणीहरूले नेपाली हास्यव्यङ्ग्य सिर्जनाको पर्याप्त अवलोकन गरेको देखिन्छ ।

उपर्युक्त पर्यावलोकनले के देखाउँछ भने विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यलाई पर्याप्त स्थान दिए पनि यति लामो कालखण्डमा दिगो भएर हास्यव्यङ्ग्य प्रधान पत्रिका भने निस्किएको पाइँदैन । वासुदेव शर्मा लुइटेलको उत्प्रेरणाले साठीको दशकमा ‘फित्कौली’ मासिक (२०६२) प्रकाशन आरम्भ भए पनि मुस्कान केही अङ्क र फित्कौली ४० अङ्कसम्म निस्किएर बन्द भयो । वर्तमान पाठकहरूमा सर्बाधिक पढिने हास्यव्यङ्ग्यीय सामग्री लिएर किन कुनै पत्रिका प्रकाशन हुँदैन अथवा भइरहेको छैन ? यो प्रश्नले अहिले पनि सार्थक जवाफ खोजिरहेको छ ।

(‘मञ्जुषा‘ का निम्ति २०५९ मा लेखिएको यो आलेख थप परिष्कार सहित ।)

 

सन्दर्भ सामग्री

पुस्तक एवम् शोधपत्रहरू-
अर्याल, भैरव (२०४९) : साझा निबन्ध, राझा प्रकाशन, पुलचोक, ललितपुर ।
अर्याल, भैरव, वासुदेव शर्मा (२०३८) : छ्याकन (हास्यव्यङ्ग्य संग्रह), कौवा प्रकाशन, ढुङ्गाअड्डा, काठमाडाैं ।
पाँडे, रामकुमार (२०५१) : १०१ हास्यव्यङ्ग्य, रत्न पुस्तक भण्डार, काठमाडौं ।

लुइटेल, नरनाथ (२०५८) : नेपाली हास्यव्यङ्ग्य, सिस्नुपानी नेपाल, काठमाडौं ।
लुइटेल, नरनाथ (२०५४) : हास्यव्यङ्ग्यकार श्याम गोतामे, स्नातकोत्तर तहको अप्रकाशित शोधपत्र, त्रि.वि.कीर्तिपुर ।
सुवेदी, राजेन्द्र र हीरामणि शर्मा (२०५१), नेपाली हास्यव्यङ्ग्य निबन्ध, साझा प्रकाशन, पुलचोक, ललितपुर ।
शाक्य, माणिक रत्न (२०५६) : हास्यव्यङ्ग्यकार नालीबेली, सिस्नुपानी नेपाल, काठमाडौं ।

पत्रिकाहरू-
मधुपर्क, हास्यव्यङ्ग्य अङ्क (२०५४), गोरखापत्र संस्थान, काठमाडौं ।
‘रचना’ र ‘श्रृङ्खला’का हास्यव्यङ्ग्य विशेषाङ्क ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x