साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँच्चै को वरिष्ठ ?

के आफैँले आफैँलाई वरिष्ठ भन्नुभएको हो र आर.सी. दाजु ? यी निबन्धहरूले धर्म, संस्कृति, संस्कार, राजनीति, व्यापार, शिक्षा, साहित्य, आपसी सम्बन्धजस्ता फरक फरक कुरामाथि व्यङ्ग्य गरेका छन् ।

Nepal Telecom ad

यो नाटक होइन !

पात्रहरू : भीडमा हराएका साहित्यसेवीहरू
मिति : सम्झने बानी छैन मेरो
स्थान : अहिले नबताऊँ क्यारे
समय : साँझ पर्दै थियो सायद
बाँकी कुरा यहाँलाई अनुमान गर्ने पूरा छुट छ,
मौसम जाडो हटेर गर्मी पूरा नचढिसकेको हुनसक्छ,
अन्दाज गर्नका लागि चितवनको कुनै ठाउँ
भन्ने सङ्केत दिन सकिन्छ
जहाँ
साहित्यिक कार्यक्रम चलिरहेको होस् !

(स्टेजमा धूमधामका साथ सम्मान कार्यक्रम चलिरहेको छ । सम्मानित हुनेहरू गला तेस्र्याइरहेका छन् । सम्मान दिनेहरू तिनका गलामा माला, दोसल्ला र खादा ओढाइरहेछन् । हातमा खाम पनि थमाइएको छ, दिइएको खाम खाली छ कि भरि उनीहरू नै जानून् । स्टेजदेखि तल केही कुनाजस्तोमा आफूलाई स्वघोषित साहित्यसेवी ठान्नेहरू गफगाफमा व्यस्त छन् । तिनको काम बेलाबेलामा थपडी बजाउनु हो बस् । राजधानीमा के हुन्छ ? मोफसल बेखबर छ । राजधानी बाहिरको साहित्य गोष्ठीको ‘एस्थेटिक’ भनेको यही हो सायद । यस्तैमा आर.सी. रिजाल आफ्नो झोला खोतलेर उनको ‘को वरिष्ठ ?’ भन्ने कृति थमाउँदै गफको पेटारो ‘म’ पात्रतिर फ्याँक्छन् ।)

आर.सी. : ए कविज्यू यता हेर्नुस् त ।
म : ए, आर.सी. सर नमस्कार ।
आर.सी. : नमस्कार, नमस्कार ।
म : म स्टेजतिर हेर्दैै छु क्या ।
निमेष निखिल : के छ त्यो स्टेजमा ?
म : रमिता ।
आर.सी. : मेरो किताबतिर हेर्नुस् न एक फेर ।
म : हवस्, धन्यवाद दाजु ।
आर.सी. : यो किताब पढेर एउटा समीक्षा लेखिदिनुस् है ।
म : हुन्छ दाजु, फुर्सद मिले लेखौँला ।
निमेष निखिल : हैन ए तँलाई फुर्सद हुन्छ कहिले ?
म : होला नि कुनै दिन ।
आर.सी. : म प्रतीक्षा गर्ने छु यहाँको समीक्षाको ।
म : हवस् दाजु ।
सुवास खनाल : किताबको शीर्षक हेर्नुभयो दाइ ?
म : हेरेँ भाइ ।
सुवास खनाल : यसमा दाइको धारणा ?
म : खोल हेरेर के धारणा बनाऊँ म ?
सुवास खनाल : तैपनि ?
सम्प्रास पौडेल : म पनि यहाँहरूको कुरा केही बुझूँ कि ?
म : पछि बुझौँला भाइ, अहिलेलाई खाने बेला भएजस्तो छ । लागौँ त्यतातिर ।
सहभागी सबै : हवस् लागौँ त पेटपूजा गर्न, नत्र खाना सेलाउला ।

(यस्तो अनौपचारिक कुराकानी बीचमै समाप्त हुन्छ । सबै जना प्लेट र चम्चा बजाउनतिर लाग्छन् । अचेल केही साहित्यकारले तडकभडकमा विश्वास गर्न थालेका छन् । त्यस्ता केही साहित्यिक कार्यक्रमको रौनक भनेकै कार्यक्रम सकिएपछिको डिनरमा हुन थालेको छ । डिनर खाएपछि सबैलाई फर्किनकै हतारो हुन्छ । त्यसमा पनि आज त झमक्कै साँझ जो परिसकेको छ ।)

०००

अलिकति मपाईंत्वका कुरा

अरुको कुना किन गर्नु ? आज म अलिकति आफ्नै कुरा गर्छु । म त जन्मेदेखि नै वरिष्ठबाट थिचिएको कनिष्ठ पात्र हुँ । मेरो बुबा पाँच दाजुभाइ र दुई दिदीबहिनीमध्ये सबैभन्दा कान्छो । मेरी आमा पनि चार दाजुभाइ र तीन दिदीबहिनीमध्येकै सबैभन्दा कान्छी । कान्छा कान्छीको सन्तान भएपछि त्यसै कनिष्ठ भइँदो रहेछ । हुन त म मेरा आमाबाबुको जेठो सन्तान भए पनि आफूलाई कहिल्यै वरिष्ठ ठान्न पाइनँ मैले । अरुलाई मान मर्यादा पुर्‍याउँदैमा बाल्यकाल बितिगयो मेरो ।

स्कुल कलेज पढ्दा पनि सधैँको फुच्चे सर्धैको कनिष्ठ नै भइयो । हिजोआज जागीरको सिलसिलामा पनि सधैँ कनिष्ठ नै भइएको छ । आफूभन्दा ठूला प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका सामु आफूलाई सधैँ फुच्चे देख्ने गरेको छु मैले आज पनि । त्रि.वि.का भी.सी., रजिस्ट्रार, रेक्टर, डीन आदिले त मलाई फिटिक्कै चिन्दैनन्, म गुलामी गर्न जान्दिनँ । आफ्नै क्याम्पसको क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखहरूको अगाडि समेत आफ्नो स्थान नै पाउन्नँ म । अब कसरी पत्ता लगाऊँ म वरिष्ठ कसरी हुने ?

०००

थोरै समीक्षाका कुरा

प्रसङ्ग अन्तै गएकोमा क्षमा माग्छु । अब अलिकति समीक्षाको कुरा गरौँ न है । जाने पनि नजाने पनि “समीक्षा लेख ।” भनेर आदेश दिने वयोवृद्ध दाजु आर.सी. रिजालको मान त राख्नै पर्‍यो नि हैन र ?

आर.सी. रिजाल (२००९) नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा चिनाइहनुपर्ने नाम हो जस्तो मलाई लाग्दैन । उनका हालसम्म पाँच वटा हास्यव्यङ्ग्य निबन्ध र एउटा अनुवादको कृति प्रकाशित भइसकेको हुनाले पनि यो कुराको सजिलै पुष्टि गर्दैन र ? उनको पछिल्लो साहित्यिक सन्तानका रूपमा ‘को वरिष्ठ ?’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, २०७७ हामी कथित ठुला पाठकसामु आएको छ । साहित्य सङ्गम मकवानपुरले यो कृति हामी पाठकका माझमा ल्याएको हो । यसमा साना ठूला गरी कूल ३६ वटा हास्यव्यङ्ग्य निबन्ध समेटिएका छन् ।

‘को वरिष्ठ ?’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहभित्र समेटिएका निबन्धहरू घटीमा दुई पृष्ठदेखि बढीमा छ पृष्ठसम्म फैलिएका छन् । यस कृतिमा समाविष्ट कूल ३६ वटा हास्यव्यङ्ग्य निबन्धले जम्मा ११० पृष्ठको आकार लिएको छ । यी निबन्धहरू हास्य र व्यङ्ग्यका विविध भावमा उनिएका छन् । यी निबन्धहरूले धर्म, संस्कृति, संस्कार, राजनीति, व्यापार, शिक्षा, साहित्य, आपसी सम्बन्धजस्ता फरक फरक कुरामाथि व्यङ्ग्य गरेका छन् । यसभित्र मान्छेलाई मात्र नभएर जनावरलाई पनि व्यङ्ग्य गरिएको छ । त्यति मात्र नभई देशभित्र र देशबाहिर बसेका विभिन्न मानवीय पात्रलाई पनि यसभित्र व्यङ्ग्य प्रहार गरिएको छ । यसर्थ यो हास्यव्यङ्ग्य कृति विश्वजनीन बनेको छ । यति धेरै विषयवस्तु समेटिएका यी निबन्ध यति सरल छन् कि पाठकले पढ्नका लागि थप मेहनत गर्नुपर्दैैन, बस् पाना पल्टाए  पुग्छ । यति सरलताभित्र गहन तरिकाले समाजको चित्रण गर्नसक्नु नै निबन्धकार आर.सी. रिजालको प्राप्ति हो कि वरिष्ठता पाठकले बुझ्ने कुरा हो ।
०००
अरु के भन्छन् थाहा छैन, तर स्वयम् निबन्धकार आर.सी. रिजालले आफ्नो कृतिमा नेपाली साहित्यमा भेटिएका स्वघोषित ‘वरिष्ठ’को शल्यक्रिया गरेका यसरी गरेका छन् :

हाम्रा माझमा तालतालका ‘वरिष्ठ’ फेला पर्छन् । कसैको पुस्तकमा लेखभन्दा तारिफको भूमिका बढी पेजको हुन्छ । कोही आफ्नो तारिफ गराएर ग्रन्थ निकाल्छन् । कोही आफ्नो जीवनका नराम्रा पाटो छेक्छन् र जीवनी लेख्छन् । कोही ५०० थान पुस्तकलाई ५००० थान लेखाउने र एक वर्षमा तीन संस्करण देखाउने । कोही ठूलो पुरस्कार जिप्ट्याएका, कोही गतिलो उपाधि पड्काएका, कोही भागबन्डामा परेकाहरूकै नाम ‘वरिष्ठ’ मा दरेका देखिन्छ । यस्तो छ हाम्रो ज्ञान मापनको तरिका । (को वरिष्ठ ?, पृ. ६-७)

निबन्धकारका विचारसँग तपाईं पाठक के भन्नु हुन्छ ? मलाई बाल मतलव छैन । म चाहिँ शतप्रतिशत सहमत छु । यति हुँदाहुँदै पनि लेखकसँग मेरो गुनासो छ, नेपाली समाजमा साहित्य मात्र छैन । यो समाजका हरेक क्षेत्रमा ‘वरिष्ठ’को बिगबिगी छ । देशबाट राजा हटाएर गणतन्त्र ल्याए पनि यो गणतन्त्रमा यति धेरै राजाहरू जन्मिएका छन् । तिनका अगाडि नतमस्तक हुनुबाहेक म बबुरोले केही गर्न सकेको छैन । ‘मान नमान मैँ तेरा मेहमान’ भन्ने त उखानै छ नि । यस्तो जमातमा खाँटी ‘वरिष्ठ’ कसरी बन्ने ? साँच्चैको ‘वरिष्ठ’ कसकसलाई मान्ने ? स्वघोषित ‘वरिष्ठ’को सम्मान कसरी गर्ने ? मैले अहिलेसम्म यकिन गर्न सकेको छैन । हो, म यतिबेला पुरै रनभुल्लमा परेको छु ।

०००

टुङ्ग्याउनीमा भलाकुसारी

आदणीय आर.सी. दाजु,
जम्ला हात जोडेर नमस्कार ।

मैले यहाँलाई सम्बोधन गरेर एउटा पत्र नलेखी बस्नै सकिनँ । यहाँले सोचजस्तो म त्यस्तो वरिष्ठ र विशिष्ट समालोचक हुँदै होइन । साँच्चै भनूँ ? म समीक्षा लेख्न पटक्कै जान्दिनँ दाजु । किनकि मैले आजसम्म कसैको अनावश्यक रुपमा बढाइँचढाइँ गर्न जानिनँ । खासमा म एउटा विशुद्ध पाठक चाहिँ पक्कै हुँ । मलाई चितवनको परिस्थितिले समीक्षक बनायो त म के गरुँ ? उच्च शिक्षामा नेपाली भाषा साहित्य पढेँ र अचेल त्यही पढाएर जीविका चलाउँदै छु । त्यसो भएर पनि यो समाजले मलाई समीक्षकमा दर्‍याउन खोजेको होला । तर मैले दरो पाइला टेके पो ? वरिष्ठको भीडमा सधैँ कनिष्ठ बनेको म बबुरोले आजसम्म वरिष्ठताको मापन गर्न सकेको छैन । खुसुक्क मेरो कानमा भनिदिनुहुन्छ कि, साँच्चै ‘वरिष्ठ’ भनेको के हो ? यही प्रश्न यहाँलाई तेर्स्याउँदै यो छोटो पत्र विसर्जन गर्छु ।

उही तपाईंको कनिष्ठ भाइ
रमेश प्रभात

०००

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x