ठाकुर शर्मा भण्डारीसम्झनामा हास्यव्यङ्ग्यकार भैरव अर्याल
नेपाली साहित्यको हास्यव्यङ्ग्य निबन्धको फाँटमा पाठकलाई घत पर्ने भाषिक अभिव्यक्तिको प्रयोग गरेर समाजका विसङ्गति, अन्धविश्वास, भ्रष्टाचार र अनैतिक गतिविधिलाई चिरफार गर्ने सशक्त व्यक्ति हुन् भैरव अर्याल ।
नेपाली साहित्यको हास्यव्यङ्ग्य-निबन्धक्षेत्रमा दृढताका साथ उभिएका हास्यनिबन्धकार भैरव अर्याल लेखनकलाका सिद्धहस्त व्यक्तित्व हुन् । सामाजिक चेतनाका सन्दर्भमा सशक्त साहित्यिक व्यक्तित्वका रूपमा नेपाली समाजमा चिनिन्छ उनलाई । निबन्धलेखनमा लक्षणा-व्यञ्जना शक्तिको प्रयोगमा प्रबलता पाइन्छ । हास्यव्यङ्ग्य मार्फत पाठकलाई जुरुक्क उठाउन सक्ने क्षमता छ भैरव अर्यालमा । विम्ब र प्रतीकको प्रचुर प्रयोगले समाजको सङ्गत-विसङ्गत अवस्थालाई यथार्थ रूपमा प्रस्तुत गर्ने अर्यालका लेखनमा समाज बोलेको हुन्छ, मानवता बोलेको हुन्छ, मानवीय वेदनाको यथार्थ चित्र कोरिएको हुन्छ र समाजमा दिनानुदिन भोग्नुपर्ने यथार्थस्थितिको अनुभूति हुन्छ सम्पूणर् निबन्ध वा कविताहरूमा । विषयवस्तुलाई कलात्मकताका साथ प्रस्तुत गरी समाज निर्माण गर्न सजग तुल्याउने सामथ्र्य रहेको छ भैरव अर्यालका लेखनमा ।
नेपाली साहित्यको हास्यव्यङ्ग्य निबन्धको फाँटमा पाठकलाई घत पर्ने भाषिक अभिव्यक्तिको प्रयोग गरेर समाजका विसङ्गति, अन्धविश्वास, भ्रष्टाचार र अनैतिक गतिविधिलाई चिरफार गर्ने सशक्त व्यक्ति हुन् भैरव अर्याल ।
विचार प्रधान, चिन्तनशील एवं कारुणिक प्रस्तुति उनको विशेषता हो । नेपाली भाषा-साहित्यको क्षेत्रमा अनेक विम्ब-प्रतीकको प्रयोगद्वारा नवीनतम प्रस्तुति दिने सामाजिक धरातलको अवस्था एवं मानवीय प्रवृत्तिलाई सूक्ष्मतया अध्ययन गर्ने निबन्धकार हुन् भैरव अर्याल ।
स्पष्ट एवं प्रभावकारी लेखनशैलीका कारण नेपाली समाजका उदाहरणीय व्यक्तित्वका रूपमा लिइन्छ । आफूले देखे/भोगेका विषयवस्तुलाई आत्मसात गरी निबन्धको स्वरूप प्रदान गर्ने गर्छन् र उनमा प्रत्येक निबन्धहरूमा प्रतीकात्मक शीर्षक दिने क्षमता छ, त्यसैले पनि उनका निबन्धहरूले जीवन्तता प्राप्त गरेका छन्, निबन्धहरू साहित्यका सम्पत्ति बनेका छन्, नेपाली हास्यव्यङ्ग्य निबन्धक्षेत्रको उचाइ बढेको छ, तसर्थ सबैको मन-मनमा स्थापित छन् भैरव अर्याल ।
१९९३ साल असोजमा जन्मेका भैरव अर्यालको लेखनका साथै पत्रकारिताको क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । गोरखापत्र एवं मधुपर्कजस्ता पत्रिकाको सम्पादन तथा रचना पत्रिकामा पनि सहयोग गर्नुका साथै नेपाली साहित्य संस्थान र नेपाल पत्रकार सङ्घजस्ता संस्थामा सदस्य भएका भैरव अर्यालले साझा कथा (२०२५), साझा निबन्ध (२०३०) जस्ता सङ्ग्रहको सम्पादन पनि गरेका छन् । दुई कवितासङ्ग्रह र छवटा निबन्धसङ्ग्रह, समालोचनाको कृति ‘नेपाली काव्यमा प्रकृति’ (२०३०) प्रकाशनमा ल्याएका छन् । यस्ता नेपाली साहित्यका सशक्त व्यक्तित्व भैरवका जुनसुकै रचनालाई अवलोकन गर्दा छोटो जीवनमा भाषा-साहित्यको क्षेत्रमा ठूलो काम गरेको अनुभूति हुन्छ ।
साहित्यिक पत्रकार एवं साहित्यकार श्री रोचक घिमिरेज्यू भैरव अर्याललाई श्रद्धाञ्जली दिने क्रममा भन्नुहुन्छ – स्वयंद्वारा सम्पादित कृति ‘शाश्वत व्यङ्ग्यशिल्पी’मा : अलिकति मायाको आभासले पनि उसको छाती भरिन्थ्यो – स्नेहले, साथीत्वले र ममताले । तर, कतैबाट ‘दया’को सप्कोले च्वास्स छोएको उसलाई लाग्दा भने उसभित्रको मान्छेको बच्चो रन्कन्थ्यो कि त रुन्थ्यो अनि यसरी पोखिन्थ्यो – “मागी पाइने भीख भन्दा आफ्नै भोक मीठो ।” यस्तै-यस्तै थियो भैरव । (पृष्ठ ९७)
यस्ता सबैलाई मन परेका लेखनकलाका शिल्पी हुन् भैरव अर्याल तर समाजले नचिनेका व्यक्तित्वको विषयमा धेरै कुराहरू भन्न सकिने अवस्थाहरू छन्, विषय छन् किनकि विकृति र विसङ्गतिले अस्तित्वविहीन बनेको समाजको अवस्थालाई सङ्केत गरेका छन् समस्त निबन्धहरूले । समसामयिकतामा आफ्ना भावनाहरूलाई कवितात्मक स्वरूप प्रदान गर्ने र अनेकार्थक भावको प्रस्तुति गर्ने सशक्त निबन्धकार भैरव अर्यालको लेखनकलाले सार्थकता पाएको छ र जीवनका विविध पाटाहरूलाई छुन सफल भएको छ ।
भैरव अर्यालका निबन्धहरूले सामाजिक विकृति-विसङ्गतिलाई हास्यव्यङ्ग्यको शैलीगत भाषामा गम्भीर विषयलाई लेखनमा उठाएर नेपाली साहित्यको हास्यव्यङ्ग्य विधालाई सगरमाथा झैँ चुल्याएका छन्- समाजको यथार्थस्थितिको आधारमा । विषयवस्तुलाई दृष्टिगत गर्दा पनि चाहे राजनीतिक क्षेत्र होस्, चाहे धार्मिक तथा सांस्कृतिक क्षेत्र होस्, चाहे शैक्षिक क्षेत्र होस् वा घरायसी सन्दर्भका कुरा वा मानवीय स्वभावका सन्दर्भहरू या विसङ्गतिपूर्ण अवस्थाहरूलाई यथार्थ रूपमा पर्गेल्ने काम निबन्धगत लेखनमा भएको छ । कुनै पनि क्षेत्रका मानिसमा संवेदनशीलता जब पाइँदैन, आफ्नाे कर्तव्य के हो ? भनेर मानिस सचेत रहँदैन वा आफ्नाे मार्ग पहिल्याउन सक्दैन, त्यस्तो अवस्थामा यस्ता निबन्धहरूले समाजका विकृति-सिङ्गतिप्रति प्रहार गर्नु स्वाभाविक हुन जान्छ । एउटा भैरव अर्यालको कवितात्मक भनाइबाट यो सङ्क्षिप्त लेखनलाई टुङ्ग्याउँछु ।
स्वप्नशील कर्मवीर मानिसको आत्मा
उँभो लाग्छ सिर्ननाको अनौ लिई हातमा
कहिल्यै कतै नटुङ्गिने साझा मूल बाटो
भोलि जोत्न जानु छ रे चन्द्रमाको पाटो !
०००
२०७९ भाद्र ३० ।
धुम्बाराही, काठमाडौँ ।
Subscribe
Login
0 Comments
Oldest








































