पी पी काेइरालासुमार्ग
मुख्य लक्ष्य नै ती अनुभवी महान् गुरुहरू जस्ता वृद्धवृद्धाहरूबाट आफ्ना घरमा हजुरबा हजुरआमासँग रम्न नपाएका घरका नानीबाबुहरुले यहाँ जीवन र जगतका सबैकुरा साक्षात् देख्न र पर्घेल्न पाउँछन् ।

पी पी कोइराला :
“यो ठूलो खाली चौरमा अब के गरौँ सर मिसहरू?“
अझैँ भवनै बनाउने दाउमा रहेका प्रअले स्टाफ मिटिङमा यो कुरा राखे । धेरैले प्रअको कमाउने दाउ शुरु भो भनी शङ्का गरे ।
“विद्यार्थीहरु बढ्ने भन्दा पनि घट्ने क्रम जारी छ । यस तर्फ चाहिँ ध्यान जाओस न, सर”, नयाँ शिक्षिका सबिताले गम्भिरता जनाइन् ।
“अनौँठो काम गरौँ न” सबैभन्दा जेष्ठ शिक्षिका रजनीले पनि गम्भीर भएर प्रस्ताव राखिन् ।
सबैका कान त्यतातिर फर्किए ।
उनले भन्दै गइन्, “नेपाली समाजभित्रको टड्कारो समस्यामा हात हालौँ न ?”
सबैजना झनै चनाखो भए ।
“यी मिसले अब के भन्ने हुन” सोचेर प्रअ डराए ।
उनले फेरि भनिन्, “हाललाई एक तले चार कोठे भवन बनाउँ न सर ।”
सबै स्टाफ चकित परे ।
“के के न नयाँ काम भनेको त !” सविता मिस मुरमुरिन् ।
प्रअ चाहिँ खुशीले हर्षित भए । उनको अनुहार देखेरै केहि स्टाफहरूले मनमनै तुरुन्तै आँकडा निकाली हाले, “कम्तिमा पनि पाँच छ लाख त झ्वाम हुने नै भो । रजनी मिस पनि खान पल्केकी रछिन् । मान्छेलाई चिन्नै गाह्रो ।”
रजनी मिसले तुरुन्तै प्रष्ट पारिन्, “त्यो नयाँ घरमा यहीँ टोल बस्तीका सत्तरी वर्ष नाघेका वृद्धवृद्धाहरू बस्नेछन् । उनीहरूका लागि चाहिने आवश्यक सबैकुरा यहाँ हुनेछ ।”
प्रअ छाँगाबाट खसेझैँ भए । उनले मिसलाई हकार्दै भने, “काहीँ नभाको जात्रा । दसौँ हजार विद्यालयहरू जुन बाटो हिँड्छन् त्यतै जान छोडेर हामी चाहिँ ? हैन, यति उमेर काटिसक्दा पनि नचाहिँने कुरा गर्ने तपाईं ? यसबाट स्कुललाई के फाईदा हुन्छ र ?”
मिसले तुरुन्तै भनिन्, “वृद्धवृद्धाहरूप्रति सकारात्मक सोच बढाउने पहिलो तरिका अपनाएको भनेर नाम चल्ने छ ।” प्रअले फेरि थर्काए, “घरहरूमा बसिरहेका बुढाबुढीलाई निकालेर झन विथोल्ने काम सोच्नु भाको ?”
रजनी मिसले उच्च स्वरमा भनिन्, “होइन सर । धेरै घरहरूमा उहाँहरूलाई हेला भाको छ । कोठाहरूमा सुत्न, आराम गर्न, असुविधा भाको छ । घरका सदस्यहरूको लापर्वाहीले गर्दा सरकारले दिएकै वृद्ध भत्ताको दुरुपयोग भाको छ । समय नदेर निशुल्क औषधि उपचारको पनि अनुपयोग भएको छ । मनोरञ्जन र खेलकुदको कुरा त हाँसेरै उडाउँछन् । अनि सबभन्दा मुख्य कुरा नब्बे प्रतिशत घरमा त बुढाबुढीहरुका लागि दया, माया, करुणा र श्रद्धाको अभाव छ । कतिपय सन्तानले त विदेशमा लगेर पनि डिप्रेसन हुनेगरि दुर्व्यवहार गरेका छन्”
प्रअले रन्किँदै भने, “त्यसो भए यो विद्यालय हुन्छ कि वृद्धाश्रम ? कि केटाकेटीहरुलाई शिक्षा दिने काम छोड्ने हो ?” मिसले शान्त र हँसिलो मुद्रा बनाएर भनिन्, “छोड्ने होइन सर ! मुख्य लक्ष्य नै ती अनुभवी महान् गुरुहरू जस्ता वृद्धवृद्धाहरूबाट आफ्ना घरमा हजुरबा हजुरआमासँग रम्न नपाएका घरका नानीबाबुहरुले यहाँ जीवन र जगतका सबैकुरा साक्षात् देख्न र पर्घेल्न पाउँछन् ।”
०००
धरान-१३
Subscribe
Login
0 Comments
Oldest








































