अर्काको छोरा
“म आफ्नो खुशीले कहाँ आएको हुँ र ?” उनी एक छिन् अडिन् । अनि फेरि सुँक्कसुँक्क रुँदै भनिन्, “जबरजस्ती गरेर उनीहरूका छोराहरूले याहाँ ल्याइदेका हुन्, बाबु !”
पी पी कोइराला :
करिव साठी बर्षकी ती आमै डरले थरथर काँप्दै थिइन् ।
चौकिदारले भन्दै थियो, “यी बुढीको सधैँको पारा यस्तै हो । कोही नौलो मान्छे देख्यो कि काँप्न थालिहाल्छिन् ।”
मैले भावुक हुँदै सोधेँ, “यत्रा मान्छे बस्छन् किन डराउनहुन्छ, आमा ?”
“पछि गुहु मुत एकै ठाउँ हुन्छ । कसैले राम्ररी सफाइ नगर्दिदा रहेछन् । म आइकन पनि दुइटी बुढी आफ्नै दिसापिसाबमा डुबेर मरे । त्यै देखेको भएर मलाई पनि त्यस्तै हुने त हो नि भनी डराको बाबू ।”
“हजुरको श्रीमान हुनुहुन्न, आमा ?”
“श्रीमान भएको भए यहाँ आउनु पर्थ्यो ? आफ्नो लोग्ने लाटो भए पनि उहाँ बाँचुञ्जेल मलाई कसैले हेप्ने हिम्मत गरेनन् । तर उहाँ बितेपछि म अपुतालीलाई सबैले आफलताफल गरे नि ।”
“को सबै ?आफ्ना दिदी बहिनी जेठाजु देवर यिनले पनि आमै ?”
“हो नि । रुप र बल छउञ्जेल सबैका म हाईहाई नै थिएँ । तर जब उमेर पनि ढल्कियो र विधवा पनि भएँ तब यी सबै आफन्तहरू परपर भए । आफ्नो जोडी बाहेक कोही आफ्नो हुँदैन रहेछ , बाबु, याद गरेस् !”
“यहाँ यस्तो बिजोग हुन्छ भन्ने जानी जानी किन आउन मान्नु भो त आमै ?”
“म आफ्नो खुशीले कहाँ आएको हुँ र ?” उनी एक छिन् अडिन् । अनि फेरि सुँक्कसुँक्क रुँदै भनिन्, “जबरजस्ती गरेर उनीहरूका छोराहरूले यहाँ ल्याइदेका हुन्, बाबु !”
०००
धरान