पी पी काेइरालासिफारिस
मेरो कुरा पूरा हुनै नदिई सत्तरी एक्कासी मसँग जङ्गिए “के कुरा गर्छस् हौ तपाईं ? त्यस्तो नियम बनायो भने पनि यता शहरकै मन्छेहरू पहिला गएर कागज बनाएर ल्याईहाल्छ नि !

पीपी कोइराला :
“एकमाना चामल भात अझै रुच्छ” असीले भने ।
“चार माना भुटेको मकै सिध्याउन साथी चाहिँदैन” सत्तरीले पनि आफ्नो तागत सुनाए ।
“उतादेखि डाक्टरले लैजा कि लैजा भनिहाल्यो । म आफू त बिराम छु जस्तो लाग्दै लाग्दैन ।” फेरि असी चम्किए ।
“लु लु छिटो लगिहाल नत्र मर्ला तेरो मान्छे भनेर डाग्डरले पठाइ हाल्यो । उतैदेखि एम्बुलेन्समा आको, बाह्र हजार तिरेर । यहाँ त सात दिन जाँचबुझमै लाग्ने रैछ । मरिहाल्छ भन्थ्यो त । खोइ तीन दिन भो हिँड्दैछु ।”
दुवै भूपू लाहुरे बुढाहरू घाममा बसेर हाँस्दै गफिरहेका थिए । उपचारका लागि पहाडबाट रिफर गरि आएका ती असी वर्ष र सत्तरी वर्ष उमेरका दुवै बाहरूको हातमा जाँच बिल गर्ने कुपन थियो ।
मैले दुवैजनालाई बिचैमा रोक्दै सोधेँ, “यता बस्न खान अप्ठेरो छ कि छैन बा ?”
असीले ओठ थरथर थर कपाउँदै भने, “छैन ! खानबस्न अफ्ठेरो त । कोइ नाति बस्छ, कोइ भतिजो बस्छ यहाँ । साईंली छोरीको यहीँ घर छ । उनीहरू त डुलाई राख्छन्, खुशी मानेर । तर घरघर तलमाथि गर्न चाहिँ बूढो शरीरले मान्दैन रैछ, हौ सर ।”
सत्तरीले हाँस्दै भन्यो, “हामी गाउँबाट आकोलाई फोहोरी ठान्छन्, शहरको आफन्तले त्यसैले उनीहरूलाई अफ्ठेरो हुन्छ भनेर म त होटलकै बास गर्छु, आनन्दले । पैले पैले पेन्सन लिन आउँदा चिनेकाहरू पनि खुशी हुन्छन् ।”
मैले कुरा मोड्दै भनेँ, “त्यति टाढाबाट आउनु भा रैछ, अझ जेष्ठ नागरिक । अस्पतालको प्रमुखलाई भन्नू न । दुई दिनमा हुने काम सात दिन किन पर्खनु ?”
सात्तरीले भने, “हाकिमले के सुन्छ र हाम्रो कुरा । पालेले जानै दिँदैन । पोहोर आउँदा म बुढोलाई घचेडेर लडाइनै दियो । फेरि कता जाने, के भन्ने, कसरी भन्ने ? त्यो लफडामा को परोस् ।”
मैले भनेँ, “आफ्नो अधिकारले पाउनु भएको छ । यदि हाकिमले कुरा बुझे भने त यसपछि उता पहाड गाउँहरूबाट आउनेहरूले सास्ती खेप्नु पर्दैन नि । त्यसका लागि… ”
मेरो कुरा पूरा हुनै नदिई सत्तरी एक्कासी मसँग जङ्गिए, “के कुरा गर्छस् हौ तपाईं ? त्यस्तो नियम बनायो भने पनि यता शहरकै मन्छेहरू पहिला गएर कागज बनाएर ल्याइहाल्छन् नि !”
०००
धरान
२०८०/९/२३
Subscribe
Login
0 Comments
Oldest








































