आर.सी. रिजालबुढ्याैलीका दुइ छाेटा कथा
मलाई यता पठाउन खर्च जुटाएकै बुवाले हो। दिदी म अहिले नै प्रतिबद्धता जाहेर गर्दछु - संसारको जुनसुकै कुनामा भए पनि आमाको पालोमा दागबत्ती दिन आइपुग्छु।

आर. सी. रिजाल :
१. आकृति
उमेर ढल्केपछि बिरामी हुँदा – आफन्तका कुरा छाडौं , आउनै नपर्ने मान्छे आएको देख्दा खुच्चिङ भन्न आएझैँ लाग्दो रहेछ। अहिले एक्लै उत्तानो परेर सिलिङ्तिर हेर्दैछु।मनमा तर्कना खेल्दैछ्न् – म जन्मे।युवा र प्रौढ अवस्था गुजारेँ। अब बूढो भएँ।यसपछि आउने अवस्था निश्चित छ।
यतिबेलासम्म जीउँदै छु। तर मरेपछि समाजले मलाई के भन्ला ? भन्ने पिर लाग्न थालेको छ। मेरा पितामाता बित्नु भयो।उहाँहरु बित्नु भएको भोलिपल्ट दुईदिन भयो। स्वच्छु– वंश वृद्धि त पशुले पनि गरेको छ। मातृभूमिको भार टार्न मैले के गरेँ ?
पिताजीलाई जवाफ नफर्काउने छोरा त्यो रात सपनामा उहाँसँग भनाभनै भयो।उहाँले भन्नुभयो — आफू अनपढ भए पनि तँलाई कलेज पढाएको।मैले आफ्नो सन्तानको वास्ता नगर भनेको हैन। जन्माएपछि शिक्षादीक्षा दिनु बाउआमाको कर्तव्य हो।अलिकति सामाजिक हुन सिक भन्न खोजेको मात्र हुँ।
मैले भने – तपाईं किन सामाजिक नभएको त ?
उहाँले भन्नुभो- हाम्रो समयमा सन्तान धेरै हुन्थे।साच्चै भन्ने हो भने लालनपालन गर्नै धौधौ पर्थ्यो। तैंले त – गरिबका बच्चा पढ्ने स्कुलमा, असहायका लागि अस्पतालमा वा आश्रममा, चेतना जगाउने संघसंस्थामा ,आफ्नो क्षमताले भ्याउँदो कोष स्थापना गर्दिएको भए तँ सामाजिक व्यक्तित्व बन्थिस्। फलानाका छोरा भनेर हामी पनि बाँच्थ्यौं र हाम्रा लालसा पनि पूरा हुन्थे ।
बिउँझदा पसिनाले भिजेको पाएँ । यहि ज्ञान म युवा/प्रौढ हुँदा पिताजीले किन दिएनन् ? मनमनै पिताजीसँग रिसाएँ। बिस्तारै टेबलको ऎना तानेर हेरेँ।- ऎनाभित्रको आकृतिले मलाई गिज्याएझैँ लाग्यो।
००
२. प्रतिबद्धता
आमा घुँक्क घुँक्क गर्दै बिदेशमा रहेको छोरालाई भन्छिन् – बुवा बित्नुभयो ! बाबू तँ तुरुन्त आइज !
छोराले – आमा भन्नासाथ यहाँ छुट्टी पाइदैन । म त्यहाँ आउन ४/५ दिन लाग्छ।फेरि बुहारी सुत्केरी हुने महिना पर्यो । ऎल आउनजान र पितृकार्य गर्न ६/७ लाख खर्च हुन्छ। बरु कसैलाइ पचास हजार दिएर ढिकुरो पुजारीमा नियुक्ति गर्नु । यहाँ पनि बाहुन पाइने हुँदा विधि बिधान अनुसारको कर्म यहिँ गर्न सक्छु । देहलाई छाडेर गएको आत्मा म यहीँ बोलाउछु भन्यो।
आमा – हुँदैन छोरा मानिस जहाँ बितेको हो, कर्मकाण्ड त्यहीँ गर्नुपर्छ। नत्र बुवाको आत्मा भट्केर हामलाईनै पिर्छ। बुहारीको हेरचाहको लागि कसैलाई जिम्मा लगाएर आइज।
छोरा – तपाईं पिर नगर्नुस आमा। हाम्रो बुवाको पवित्र आत्मा क्रूर र निष्ठुरी हुनै सक्तैन। आमा हिजोआज त छोरी श्रीमती पनि क्रिया बसेको देख्नु सुन्नु भएकै होला। तसर्थ आफ्नो अनुकुल र समय अनुसार हामी चल्नुपर्छ।
आमा छोराको कुरा सुनिरहेकी दिदीले – भाइ तँ चिन्ता नगर। जे पर्छ सोही टर्छ। पैसा अलि बढिनै भिनाजुको खातामा हाल्दिनु।
भाइले – दिदी म पैसाको मुख हेर्ने हैन, आमाबाउको समस्या हेर्ने छोरा हुँ। म त बेरोजगारीको कारण विदेश आएको हुँ। मलाई यता पठाउन खर्च जुटाएकै बुवाले हो। दिदी म अहिले नै प्रतिबद्धता जाहेर गर्दछु – संसारको जुनसुकै कुनामा भए पनि आमाको पालोमा दागबत्ती दिन आइपुग्छु।
०००
मकवानपुर, हेटाैंडा
Subscribe
Login
0 Comments
Oldest






































