
सहारा
मरे तुल्य भै बाँच्नलाई कठोर, गडे नेत्र दोटै दबेको छ सोर, सुके हातगोडा रह्यो मात्र सास, छिनाएर आयु बिते वर्ष मास ।

मुक्ति पोखरेल
गयो जिन्दगानी उडेको भुवाझैँ
रह्यो देह बाँकी सुकेको कुवाझैँ
भयो एक लौरो सहारा भनेको
उता कालले बार बेला गनेको ।१।
कहाँ वृद्ध बेला कहाँको जवानी
बुझे जिन्दगी पातको विन्दु पानी
सहारा भनेका थिए बन्धु भ्राता
बिते आज छैनन् पिता दाजु माता ।२।
हुँदा बाल्य बेला समाएर हात
डुलाएर हिँड्थे लिई साथ साथ
ठुलो हुन्छ नानी भनी माथि माथि
उचालेर भन्थे फुलाएर छाती ।३।
ती सारा हराए कहाँ छन् गएका
कतै भेटिदैनन् हराई रहेका
त्यही चाल मेरो भएको छ आज
बुढो भन्न थाले भएका समाज ।४।
युवा जोसमा होस केही भएन
जसै होस आयो उमेरै रहेन
अनेकौँ जरा रोगले ग्रस्त पारी
थला पर्न लागेँ भयो देह भारी ।५।
थिए बन्धुवर्गादि नाता अनेक
कुनै साथ छैनन् रहेँ मात्र एक
छिटै कालले हान्न खोज्दा झटारो
कसैको सहारा विना बाँच्न गाह्रो ।६।
मरे तुल्य भै बाँच्नलाई कठोर
गडे नेत्र दोटै दबेको छ सोर
सुके हातगोडा रह्यो मात्र सास
छिनाएर आयु बिते वर्ष मास ।७।
०००
सुनसरी