अन्जु शर्मापाकेटमार
घिउ कहाँ पोखियो भागमा... भनेर मामा घरको हजुरआमाले भनेको कुराको अर्थ त बाको पाकेट मारेपछि पो बुझियो ।”

अन्जु शर्मा
“हैन; सबै मान्छे भलाद्मी नै जस्ता थिए, हरायो कसरी ?? आ !!! नचाहिने कुरा सदनमा हैन होला, सडकमै हरायो होला !! सडकमा पनि ठोकुवा गर्ने अवस्था छैन । सुरक्षा गार्डको घेराबाट एकमिनेट फुर्सत पाएको हैन !!” मुखिया बा मनमनै कुरा खेलाउदै घरिघरि यताउता गर्दै गोजी छाम्छन् । उनका ओठ, मुख र तालु सुकिसकेका छन् ।
“ए बा ! के खोज्नु भा हो, एकदमै तनावग्रस्त देखिनुहुन्छ ?”
“तँ चुप लाग, झन बढी तनाव थप्छ । खुरूक्क आफ्नो कामतिर जा ।” झन आत्तिँदै खोज्छन् ।
“तनाव त शेयर गरे पो कम हुन्छ । गुम्स्याएर राखे झन बढ्छ, कुरा बुझ्नु छैन ।” छोरा जबाफ दिन्छ ।
दायाँबायाँ पल्याकपुलुक हेरेर मुखिया बा- “कसैलाई नभन्नु नि । अस्ति बिदेश गएको बेला केही भेडाहरू बेचेको पैसाले कोहिनुर किनेर ल्याको थिएँ । घरको सेफ पनि उति साह्रो गतिलो नभएको कारण गोजीमा बोकेर हिँडेको थिएँ । आज गोजीमा हात लगाएको छैन ।”
“ए बा ! पाकेट मारेछन् ।”
“कसरी पाकेट मार्छन् । म पूणर् रूपमा सुरक्षा निकायको घेरामा छु ।”
“यस्ता जाबो कुरा नगरे हुन्छ बा ! तेत्तिस किलो सुन, ललिता निवास, वाइडवडी अनि खै के के जाती हो सबै त पाकेट मारे भन्छन् । त्यो जाबो कोहिनुर !!”
“गोजीमा बोकेको भनेर हुन्छ, अति बहुमुल्य हो । एकपटक सिसी क्यामरा चेक गर्नुपर्ला जस्तो छ ।”
“केही पार लाग्दैन बा ! चेक नगरे हुन्छ ।”
“हैन सबै कुरा जाने जस्तो पो गर्छस् ?”
“छोरा कसको नि ? त्यसमा पनि ५० प्रतिसत त आमाको गुण सरेकै होला । सिसी क्यामरा निकालेर पाकेट मारेको शंका मलाई सय प्रतिशत लाग्या छ बा । घिउ कहाँ पोखियो भागमा… भनेर मामा घरको हजुरआमाले भनेको कुराको अर्थ त बाको पाकेट मारेपछि पो बुझियो ।”
छोरा मुस्कुराउँदै आफ्नो कोठातिर छिर्छ । बा नजबाफ टाउकोमा हात राखेर थुचुक्क बस्छन् ।
०००
रातोपुल, काठमाडाैं
२०८० जेठ ३ गते
Subscribe
Login
0 Comments
Oldest






































