देवीप्रसाद मिश्रबुढ्यौली (काव्य शृङ्खला- २२)
त्यस्तै छन् अझ भोजनालय अहा ! जम्मा हुँदै बान्धव । गर्ने भोज विभिन्न पर्वहरूमा राम्रा सुनौला स्थल ॥ कस्तो दीर्घ विचार हो अघि यहाँ ती योजनाकारको । देख्दैनौँ क्षमता नयाँ परिधिमा विज्ञानका सारको ॥

देवीप्रसाद मिश्र :
(राजधानीका शिल्प कला हेरौँ)
कस्ता आलय छन् महानगरमा अग्ला पुराना ! अहो ।
लागे यी शत वर्ष दोबर उता निर्माण कल्ले गर्यो ॥
साथैमा अझ यो वसन्तपुरका सारा पुरातात्त्विक ।
साँच्चै सुन्दर काष्ठमण्डप कला यो क्षेत्रका वैभव ॥१०६॥
त्यस्तै शोभन इन्द्रचोक गतिलो सौन्दर्यको सार छ ।
बस्ती भव्य हुँदा घना घनघटा मान्छे सदा व्यस्त छ ॥
आयो सर्जक एक यो परिधिमा बोकेर कापी अब ।
थाल्यो लेख्न कला भरेर कविता दृष्टान्त हेर्दै सब ॥१०७॥
झन् ढुङ्गे युगमा छँदा जनहरू शिक्षा थियो दुर्बल ।
कस्ता शिल्प कला थिए मनुजमा आश्चर्य लाग्ने तर ॥
गाह्रो थाम निदाल वा दलिनमा कत्रो भरोसा थियो ।
थामेको छ तला तला अझ तला यो बुद्धि कल्ले दियो ? ॥१०८॥
ढोका झ्याल विचित्र चित्र गतिला हानेर बुट्टा हरे ।
यत्रो हिम्मत गर्न सक्छ र नयाँ विज्ञानका सारले ?॥
यस्ता यी मनविज्ञ पूर्वजनमा भत्ता तथा हाजिरा ।
कस्तो रेट थियो तथा तलबको कस्तो थियो तर्जुमा ॥१०९॥
चौकी चोक विशेष पार्क गतिला ! विश्राम गर्ने थल ।
चौतारी सुकला वगान रमिता बस्ने फलैँचा अब ॥
साथैमा कुल देवका घरसँगै त्यस्तै अरू मन्दिर ।
अड्डा भद्र समाजका कचहरी बस्ने बनाए घर ॥११०॥
त्यस्तै छन् अझ भोजनालय अहा ! जम्मा हुँदै बान्धव ।
गर्ने भोज विभिन्न पर्वहरूमा राम्रा सुनौला स्थल ॥
कस्तो दीर्घ विचार हो अघि यहाँ ती योजनाकारको ।
देख्दैनौँ क्षमता नयाँ परिधिमा विज्ञानका सारको ॥१११॥
(क्रमशः)
०००
Subscribe
Login
0 Comments
Oldest







































