साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नेपाली भाषाको उचित प्रयोग र शुद्ध लेखनशैली’ विषयमा अन्तरक्रिया

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भाषाजस्तो संवेदनशील विषयलाई बौद्धिक-प्राज्ञिक विषय बनाउन उयुक्त हुने सुझाव ।

Nepal Telecom ad

काठमाडौं, २०८० असार १२ । नेपाली भाषामाथि सरकारी निकायबाटै अराजकता निम्त्याउने काम भएको भन्दै भाषविज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । केही व्यक्तिविशेषको लहडमा नेपाली भाषाको मानक वणर्विन्यास बिगार्ने काम भइरहेको र त्यस्ता गतिविधिमा नेपाल प्रज्ञा प्रतिष्ठानले थप भ्रम सिर्जना गर्न उक्साएको टिप्पणी उनीहरूको छ ।

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले सोमबार काठमाडौँमा आयोजना गरेको ‘नेपाली भाषाको उचित प्रयोग र शुद्ध लेखनशैली’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञहरूले भाषाजस्तो संवेदनशील विषयलाई लहडी घोषणापत्रको विषय नबनाएर बौद्धिक-प्राज्ञिक विषय बनाउन उयुक्त हुने सुझाव दिएका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले भने, ‘भाषामा प्रयोगगत सन्दर्भलाई बेवास्ता गरी मनोमानी ढंगबाट गरिएका संस्थागत निणर्यलाई त मान्न सकिन्न भने निजी स्वार्थबाट अभिप्रेरित भई केही व्यक्तिको समूहबाट तयार पारिएको पुस्तक विशेषलाई वा केही व्यक्तिसमूहका नाममा जारी घोषणापत्रलाई मान्ने कुरै आउँदैन ।’

त्रिवि नेपाली विषय समिति तथा स्थायी समितिका अध्यक्षसमेत रहेका लुइटेलले भाषाको प्रयोगगत सन्दर्भलाई केलाएर वस्तुगत नियम प्रस्तुत गरेमा सजिलै मान्न सकिने स्पष्ट पारे । प्रा.डा. लुइटेलको कार्यपत्रमा नेपाली भाषाको मानक वणर्विन्यास बिगार्ने कामको थालनी व्यक्तिगत रूपमा नेपाली वणर्विन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र (२०६६) बाट र संस्थागत रूपमा अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) बाट भएको उल्लेख छ ।

चन्द्रगढी घोषणापत्रले शिष्ट प्रयोगलाई उल्ट्याएको र अनिवार्य नेपाली शिक्षण निर्देशिकाले शिष्ट प्रचलनविपरीत अक्षर र लिपिचिह्न गणना गरी नामयोगी, विशेषण-विशेष्य, समस्त शब्द, द्वित्व शब्द तथा संयुक्त क्रियालाई पदवियोग गर्ने अवस्तुवादी सन्दर्भ प्रस्तुत गरेको लुइटेलले बताएका छन् ।

सबैको नेपाली (२०६७) नामक पुस्तकले नेपाली वणर्विन्यासमा प्रचलित शिष्ट परम्परालाई पूरै खल्बल्याएर अराजकता र विकृति भित्र्याई नेपाली भाषालाई नै तहसनहस पारेको कार्यपत्रमा उल्लेख छ ।

‘यस्तो विकृत पुस्तकलाई देशभर अनिवार्य रूपमा लागू गुर्न भन्ने हुकुमी शैलीको आदेशमूलक परिपत्र जारी गरिएपछि यसले एकातिर नेपाली भाषामा अस्तव्यस्तता र अराजकता निम्त्यायो भने अर्कोतिर नेपाली भाषाको पठनपाठनमा संलग्न शिक्षक विद्यार्थीलगायत सबैलाई अन्योलग्रस्त र आक्रोशित तुल्यायो’, लुइटेलले भनेका छन् ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा काठमाडौँमा केही व्यक्तिलाई भेला गरेर २०६७ पुसमा आयोजित सङ्गोष्ठीले नेपाली भाषामा थप अराजकता निम्त्याएको कार्यपत्रमा उल्लेख छ ।

साथै पाठ्यक्रम विकास केन्द्रबाट तयार पारिएको प्रकाशन शैली (२०७०) ले ह्रस्वदीर्घ तथा पदयोग र वियोगसम्बन्धी प्रचलित मानक परम्परालाई भत्काई भाषालाई कुरूपतातर्फ धकेलेर माध्यमिक शिक्षालाई अस्तव्यस्त तुल्याएको लुइटेलले उल्लेख गरेका छन् ।

२०७२ साल फागुनमा अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठीले सातबुँदे घोषणापत्र जारी गरेर नेपाली भाषामा थप भ्रम सिर्जना गरेको, नेपाली बृहत् शब्दकोशको संशोधित नवौँ संस्करणमा संशोधन परिमार्जनका नाममा भद्रगोल पारी नेपाली भाषाको चीरहरण गरेको निष्कर्ष लुइटेलको छ ।

उनले भने, ‘वैयक्तिक स्वार्थपूर्तिका लागि पदीय दुरुपयोग गरी नेपाली भाषामाथि खेलबाड गर्ने हेमाङ्गराज अधिकारी, रमेशप्रसाद भट्टराई, व्रतराज आचार्य, जीवेन्द्रदेव गिरी, बद्रीविशाल भट्टराईलगायतका सीमित व्यक्तिहरू देखिन्छन् । यसो गरिनु निन्दनीय कार्य हो ।’

यस्ता गतिविधिले नेपाली भाषामा संयुक्त वणर्को प्रयोग, पदयोग र पदवियोग, ह्रस्वदीर्घको प्रयोग, श,ष, स को प्रयोग, पञ्चम वणर्, चन्द्रबिन्दु र शिरबिन्दुको प्रयोगमा समस्या बल्झाइएको प्रा.डा. लुइटेलको निष्कर्ष छ ।

उनले नेपाली भाषाको मानक र शुद्ध लेखनका लागि संयुक्त वणर्लाई यथावत् राख्नुपर्ने, पदयोग र पदवियोगमा प्रचलित परम्परालाई यथावत् राख्नुपर्ने, ह्रस्वदीर्घका कारण अर्थभेदक हुने श्रुतिसमभिन्नार्थक शब्दलाई यथावत् राख्नुपर्ने, तत्सम शब्द तथा ‘श, ष, स’ बाट निर्मित श्रुतिसमभिन्नार्थक शब्दलाई यथावत् राख्नुपर्ने, पञ्चम वणर् तथा शिरबिन्दु र चन्द्रबिन्दुसम्बन्धी प्रयोगलाई यथावत् राख्नुपर्ने जस्ता सुझाव दिएका छन् ।

प्रा.डा. लुइटेलले भनेका छन्, ‘परिपत्र वा घोषणापत्र जारी गर्नतिर लागेमा समस्या समाधानको सट्टा झन् बल्झिन्छ । वैयक्तिक आग्रहविना प्राज्ञिक ढंगले छलफल गरिएमा यी समस्या सजिलै समाधान गर्न सकिन्छ ।’

प्रा.डा. लुइटेल नेपाली भाषाको मानकीकरणमा सशक्त रूपमा क्रियाशील व्यक्तित्व हुन् । नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने प्रयास भइरहेका बेला त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सङ्गठित ‘त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग मानक नेपाली भाषा अभियान-२०७३’ मा संयोजक भएर उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । साथै लुइटेल अध्यक्ष रहेको ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ देशविदेशमा नेपाली भाषाको मानकीकरणमा क्रियाशील छ ।

‘सरकारी निकाय नै शुद्ध लेखनमा उदासीन’
कार्यक्रममा डा. प्रेमप्रसाद चौलागाईंले ‘नेपाली भाषाको उचित प्रयोग र शुद्ध लेखनशैली’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै भाषिक त्रुटि र त्यसका दुष्परिणामबारे चर्चा गरेका थिए । उनले विदेशमा भाषाको प्रयोग गर्दा त्रुटि गर्नु हुँदैन भन्ने चेतना रहे पनि नेपालीमा भने सरकारी निकायले नै त्रुटि गरिरहेको बताए ।

चौलागाईंले भने, ‘भाषामा त्रुटि गर्नुहुँदैन भनेर सिकाउने अभिभारा वहन गरेका सरकारी निकाय, सञ्चारमाध्यम, विश्वविद्यालय र पाठ्यक्रम विकास केन्द्रले नै नेपाली भाषामा त्रुटि गरिहेका छन् । यस्तै उनले प्राध्यापक, शिक्षक र प्राज्ञहरूले तयार पारेका व्याकरण, शब्दकोश र पाठ्यपुस्तकमा समेत नेपाली भाषाको त्रुटिपूणर् प्रयोग भइरहेको औँल्याए ।

भाषिक अज्ञान, भाषाप्रयोगका दृष्टिले आदर्श मानिएका सामग्रीमा समेत त्रुटि हुनु, असावधानी, उदासीनता र अन्य भाषाको प्रभावका कारण लेखाइमा गल्ती हुने गरेको डा. चौलागाईंले बताए । उनले कार्यपत्रमा नेपालको संविधान, मन्त्रिपरिषद्का निणर्य, राजपत्र, सरकारी विज्ञप्ति, नागरिक बडापत्र, विश्वविद्यालयका सूचनाहरू, पाठ्यक्रम, पाठ्यक्रम र शोधपत्र, छापा तथा विद्युतीय सञ्चारमाध्यममा हुने गरेका त्रुटि उदारहणसहित प्रस्तुत गरेका छन्।

त्रुटि निराकरणका भाषाप्रयोगमा सचेत हुनुपर्ने, भाषिक ज्ञान बढाउने सामग्री अध्ययनमा जोड दिनुपर्ने, सरकारले भाषासम्बन्धी नीति निर्माण र कार्यान्वयनमा नेतृत्व लिनुपर्ने, सञ्चारमाध्यमले त्रुटिरहित भाषाको प्रयोग गर्नुपर्ने, मानक व्याकरणको निर्माण गर्नुपर्ने सुझाव चौलागाईंको छ ।

यसैगरी शब्दकोश र पाठ्यपुस्तकमा रहेका त्रुटिहरू संशोधन गर्नुपर्ने, विज्ञको सहमतिपछि मात्र भाषिक सामग्रीको प्रकाशन गर्नुपर्ने, समयसमयमा तालिम तथा गोष्ठी आयोजना गर्नुपर्ने, त्रुटि निराकरण अभियान सञ्चालन गर्नुपर्ने जस्ता सुझाव उनको छ ।

कार्यपत्रहरूमाथि प्रा.डा. महादेव अवस्थी र प्रा.डा. देवीप्रसाद गौतमले टिप्पणी गरेका थिए । प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले भाषिक प्रयोगमा एकरूपता नहुँदा भ्रम उत्पन्न भइरहेकाले गोष्ठी आयोजना गरिएको बताए । गोष्ठीमा सहभागी विज्ञहरूले आयोगले नेपाली भाषा शुद्ध लेखनमा चासो देखाएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रमका सहभागीहरूले मानक भाषा प्रयोगका लागि सरकारी निकायले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

०००
– समाचार स्रोत :  हिमाल प्रेस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x