रामशरण न्याैपानेहाम्रा वृद्ध
पुग्दा वर्ष असी उदास नबनी लाग्छन् सधैँ कर्ममा हाँक्छन् दिव्य गृहस्थको रथ तिनै त्यो मानवी धर्ममा पर्दा काम अगाडि पर्न दृढ छन् को छन् यहाँ खै कम ? हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम॥

रामशरण न्याैपाने :
भन्छन् मानिस देश यो दिनदिनै बन्दैछ वृद्धाश्रम
मान्छेमा किन आज यो किसिमको आयो पलायो भ्रम
होस् औद्योगिक कान्ति यो मुलुकमा खुल्ला बनोस् मौसम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम॥१
पाका मानिस नै प्रधान घरमा देखिन्छ हाम्रो यहाँ
पाका नै अघि बढ्दछन् दिन दिनै जे काममा होस् जहाँ
जस्तै उच्च घरानको कि कमको या त्यो रहोस् मध्यम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम॥२
माटोको ममता छ वृद्ध जनको चौँडा हियारोभरि
बस्छन् देश पुजेर र पौरख गरी आफैँ बनी केशरी
वैरीसामु लडेर जो अघि बढे छोड्दै नछोडी दम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम॥३
ऊर्जाको पनि स्रोत नै छ यिनमा देखिन्छ राम्रो छवि
गाईको दधि दूधले र घिउले पुस्टेर आए अघि
आफ्नै धर्म र कर्ममा अडिग छन् रोकिन्न आफ्नो क्रम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम॥४
पुग्दा वर्ष असी उदास नबनी लाग्छन् सधैँ कर्ममा
हाँक्छन् दिव्य गृहस्थको रथ तिनै त्यो मानवी धर्ममा
पर्दा काम अगाडि पर्न दृढ छन् को छन् यहाँ खै कम?
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































