विष्णुहरि पाैडेलबुढेसकालको साथी
बन्छन् ताकतहीन आखिर सबै जो छन् धनी, निर्धनी । राखे नाम रहन्छ शेष, धमिरा लाग्छन् रुपैया पनि । यौटा सूर्य ढलेर साँझ नभमा छर्छिन् कला चाँदनी । अर्को प्रात हुँदो रहेनछ कठै ! ढल्क्यो भने जीवनी ।

विष्णुहरि पौडेल :
साठी पार भएँ घटे नजरका ज्योतिष्मती रोशनी ।
लागे रोग बुढेस कालतिरका थाक्तै गयो जीवनी ।
सञ्चो छैन, उमङ्ग, जाँगर घटे फिर्दैन आह्लादन ।
लागेको छ थकाइ, आश्रय भयो सानो कुटी आँगन ।१।
यै हो गाउँ र ठाउँ, देश-दुनियाँ, आमा, बुबा, मावली ।
आफन्ती, परिवार, मित्र-ममता आपूर्ण दृश्यावली ।
प्यारो आँचल जो छ यो प्रकृतिको उस्तै रहेता पनि ।
ऐले लाग्छ फिका फिका नयनमा उत्रिन सौदामनी ।२।
डालीका हर अंग पुष्टिन गई चढ्दै गए आँकुरा ।
मेरो देह पहेलियो, शिथिल छन् सुक्तै गए पाखुरा ।
एकैनास हुँदो रहेनछ सधैँ मेरा गएछन् दिन ।
आशा जीवनको छ सोख तरुनो के सक्तथ्यो निथ्रिन ।३।
साथी संगत पातलो छ, थलिए मिल्ने सखा दौँतरी ।
बुझ्दैनन् मनका कुरा, युवकका सोचाइ छन् नौथरी ।
मान्छेका भिडमा उपेक्षत हुँदै भेट्तै छु एक्लोपन ।
बूढो वृक्ष न फल्छ फुल्छ, उसको सिख्रो भयो जोवन ।४।
बन्छन् ताकतहीन आखिर सबै जो छन् धनी, निर्धनी ।
राखे नाम रहन्छ शेष, धमिरा लाग्छन् रुपैया पनि ।
यौटा सूर्य ढलेर साँझ नभमा छर्छिन् कला चाँदनी ।
अर्को प्रात हुँदो रहेनछ कठै ! ढल्क्यो भने जीवनी ।५।
छोयो चित्त विरक्तिले दिन दशा घुम्दैन उल्टोतिर ।
चाहेको अवसान हैन, छ कता देखिन्न खै मन्दिर ।
चिन्ता बढ्छ सुमार्ग सुझ्न नसकी यो चित्तमा दन्दन ।
थन्क्याएँ कविता, म लेख्तिन भनेँ, के मान्दथ्यो यो मन ।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































