शम्भु गजुरेल‘बा’ गणतान्त्रिक सामन्त र भेडापुत्र
यो छोरा उत्पादन र ‘बा’वादको विकास क्रममा नयाँ ‘बा’हरू असन्तोषको चुलोमा मौकाको रोटो सेकाउँदै छन् डुक्रिँदै छन् टुक्रिँदै छन् तर ‘बा’वादको सिद्धान्त स्थापित गराउँदै छन् ।

शम्भु गजुरेल :
‘बा’ शब्दको वजन कति छ भन्ने कुराको मापन गर्ने तराजु हाम्रो नेपाली समाजमा अहिलेसम्म बनेको छैन, सृष्टिको जनक, सागरको गहिराइ, सगरको फैलावट अनि चराचरको मेरुदण्ड जे भने पनि यो एक अक्षरको शब्दले आफूमा समेटेको छ । बाँझो फुटाएर उर्वर पार्ने बाहुबली, आफ्ना आकाङ्क्षा मारेर सन्तान र परिवारको वासस्थानको मूल्थाम बन्ने, बहिर कठोर तर भित्र साह्रै कमलो ‘बा’ साँच्चै दया र करुणा अनि क्षमाका भण्डार हुन्छन् ।
व्यक्तिगत आत्मरतीमा नभुल्ने कर्तव्यपरायण अनन्त ब्रह्माण्डमा सूर्य झैँ मानव अस्तित्वको बगैँचामा चम्किने प्रदीप्त तारापिण्ड जसलाइ ‘बा’ भनिन्छ । हुन त पुरुषका अनेक अवस्था जस्तै एक अवस्था भनेर मान्न पनि सकिएला तर ‘बा’ त्यो अवस्था हो जुन अन्य अवस्था जस्तो स्वार्थ प्रधान हुँदैन ! जिन्दगीको बबण्डरमा फसेको परिवारको डुङ्गालाइ कर्तव्यको जुइनोमा जेलेर खुसीयालीको बन्दरगाहसम्म पुर्याउने सारथि ‘बा’मा बसेको हुन्छ ।
दुःखको पहाड बोकेर सन्तुष्टिको मुस्कान मुस्काउने ‘बा’ शब्दलाइ वर्तमानमा कसरी र कुन रूपमा प्रयोग गरिँदैछ ? के शब्दको सम्मान र गाम्भीर्यतालाई विनाश गर्नको लागि पनि आन्दोलन भइरहेको हो ?
आजभोलि आफ्ना ‘बा’लाई वृद्धवस्थामा घरबाट निकालेर वृद्धाश्रममा राख्ने छोराहरू उफेर नयाँ नयाँ ‘बा’ बनाउँदै छन्, ‘ओलि’, ‘प्रचण्ड’ ‘देउवा बा’, ‘नेपाल बा’, ‘लिङ्देन बा’, ‘लामिछाने बा’ आदि इत्यादि ‘बा’हरू, के ती ‘बा’हरूले मौकापरस्त छोरा उत्पादन गर्दा केवल मायाको बिजाङ्कुरण गर्नु भएको हो त ? होइन कदापि होइन उपरोक्तमा उल्लेखित ‘बा’हरू मात्रै नभएर एउटा अर्को श्री ५ ‘बा’ को पनि उत्तिकै चल्छ समाजमा, ‘बा’ त पुरेत, जिम्माल, द्वारे, मुखियालाइ पनि भनिन्थ्यो हिजोका दिनमा अनि बिना ज्याला काम गर्न गइन्थ्यो ‘बा’को हजुरीमा आज अवस्था फेरिएर त्यस्तै ‘बा’ बन्न लालायित गणतान्त्रिक सामन्त ‘बा’हरू र मौका परस्त ‘बा’हरूको यात्रा सिन्दुरे जात्रा, घण्टा जात्रा अनेकौँ अभिनय मञ्चन हुँदैछ, दौडिदैछन् सत्ता प्राप्तिको दौडाहामा देश विदेश सबैतिर तर घाउमा मल्हम लगाएर होइन घाउ चिमोटेर कठै ! भन्ने ‘बा’हरूको अगाडि गहुँत थाप्ने हातहरूको भिड उस्तै छ ।
एउटा स्वघोषित पुत्रले अर्को ‘बा’को भक्तको समूह धेरै थोरै भएको कुरा वणर् गर्छ आफ्नै अन्दाजले, गाली उराल्छ आफ्नै हैसियत अनुरूप र आफ्नो चाकरी ‘बा’को नजिक जाने यात्राको लागि नम्बर बढाउँदै लैजान्छ । ‘बा’वाद को अलिखित राजनैतिक दर्शनमा दर्शन गर्नेले चढाएको भेटी पुकारेको ‘बा’ ध्वनि नै सर्वोपरि महत्वको हुन्छ । त्यसैले त सबै ‘बा’का पुत्रहरू आफ्नो ‘बा’लाई मात्रै चोखो ठान्छन् तर सबै ‘बा’हरू मानव मलमुत्रमा स्नान गरेर जल स्नान गर्न बाँकी नै भएका प्राणी जस्तै छन् । पुत्रका गगनभेदी जयगानमा मन्त्रमुग्ध ‘बा’हरू भेडापुत्र खोज्ने यात्रामा राडीदेखि खाडीसम्म, तराइदेखि पराइसम्म, गालीदेखि गालीसम्म डुल्नमा व्यस्त छन् ।
पुराना देब्रेपन्थीदेखि दाहिने पन्थी या त कसैको ‘बा’को घाँटी छिनालेर गद्दीसम्म पुगेका छन् या त धेरै ‘बा’हरूको ढुकुटी लुटेर गद्दी किनेका छन् । प्रत्येक झुपडीमा महलको सपना बेचेका छन् अनि झुपडी जलाएका छन् । जब खरानी बाँकी रहेको छ तब सोही खरानी बेचेर आफ्नै महल बनाएका छन्, विचरा निरीह ‘बा’हरू किनाराको दुम्केलोमा झिक्रो तल काल पर्खँदै छन् भने विषालु ब्वाँसा जस्ता ‘बा’हरू दुश्मनीको नौटङ्की गर्दै एउटै सतरन्जामा पासा खेलेर कहिलेकाहीँ हतार गरेझैँ कतार जाने र बट्टार मा खाने होड चलेको छ, ‘बा’ संहारको एक दशक आफ्नै विध्वंस र आतंकको नङ्ग्रामा च्यापेर त्राहिमाम बनाएका ठुला ‘बा’ आजभोलि दिव्य दृष्टि र दूरभाषको तरङ्गबाट छानिएको मख्खनमा घोलेर विमानपतनको द्वारमा कब्ज्याउन नसकिएका सुवणर् कङ्कड चपाउँदै ओक्राएर पदारिएका छन् भने छोराहरू धन्यवाद तेज ‘बा’ भन्दैछन् ।
सबै ‘बा’का अलग पहिरन छन्, खानपान अलग छ, महल अलग छ, बोली अलग छ तर सारमा लक्ष्य एउटै छ छोराहरूको वृद्धि । यो छोरा उत्पादन र ‘बा’वादको विकास क्रममा नयाँ ‘बा’हरू असन्तोषको चुलोमा मौकाको रोटो सेकाउँदै छन् डुक्रिँदै छन् टुक्रिँदै छन् तर ‘बा’वादको सिद्धान्त स्थापित गराउँदै छन् त्यसैले त हातमा घण्टी समात्ने पुजारी र सिमानाबाट अक्षता नखाने देउता निकाल्ने घोषणा गर्ने ‘बा’का छोराहरूले गालीको नयाँ बृहत् शब्दकोश बनाएका छन् । अब ‘बा’वाद मौलाउने छ ‘बा’ शब्द मर्मविहीन बन्दै छ ।
०००
नुवाकोट, हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































