आमा
बाबाका शुभ साथमा हरघडी रम्दै बितेका पला । बाबाका इतिहासमा रुमलिँदै हुन्छिन् सबैकी भला ।। के हो प्रेम बुझाउने सकलमा अस्तित्वकी कारणी । आमा अक्षर हुन् अनन्त सपना साकार पार्छिन् यिनी ।।
कविराज घिमिरे :
आमाको जब हुन्छ सात्त्विकपना संसार फुल्ने छ यो ।
आमाको बलबाट सृष्टि थलमा फैलेर झुल्ने छ यो ।।
स्वर्गानन्द दिलाउने सकल यी सन्तानमा आतुर ।
आमाका अघि सत्यमात्र रहँदा भाग्छन् सबै आसुर ।।१
आमाका सपना फलाउन सके बन्छन् धुरा पाखुरा ।
लागौँ है श्रम गर्न आज अहिले छन् उम्रिने आँकुरा ।।
त्यागिन् लालच रूप यौवन सबै सन्तानका खातिर ।
आमाको लिनुपर्छ आसिक सधैँ थापेर आफ्नो शिर ।।२
संसारी नित दु:खमा सहजता पार्छिन् स्वयम् सल्किँदै ।
बन्छिन् धीर सुखान्तनिम्ति जननी क्रोधाग्नि फाली सधैँ ।।
हुर्क्यौँ दुग्ध पिएर सन्तति सबै कर्तव्य ठान्छिन् यिनी ।
गर्दा पालन बोझ थप्न मनमा ठानेर हिँड्छिन् यिनी ।।३
आमा वृक्ष बनेर मिष्ट फलका पीयूष बाँड्छिन् घना ।
आमाका गहमा सदैव रहने सन्तान हुन् सान्त्वना ।।
हाम्रा जीवनका सुयोग्य सपना साकार पार्ने हुँदा ।
हामी धन्य सशक्त सन्तति भयौँ आमा सखी पाउँदा ।।४
बाबाका शुभ साथमा हरघडी रम्दै बितेका पला ।
बाबाका इतिहासमा रुमलिँदै हुन्छिन् सबैकी भला ।।
के हो प्रेम बुझाउने सकलमा अस्तित्वकी कारणी ।
आमा अक्षर हुन् अनन्त सपना साकार पार्छिन् यिनी ।।५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest