देवीप्रसाद मिश्रजेठाबाकाे आत्म-बिलाैना (२)
करुणदिल भएका, साथका मित्र मेरा । प्रतिदिन सँग हिँड्ने नित्य बन्दै सहारा ।। अघि अघि सब लागे, पूर्ण विश्राम राेजी। तर पनि म थलामा भर्न खाेज्दै छु गाेजी।।

देवीप्रसाद मिश्र :
धन धन अझ भन्दै नित्य गर्दैछु जाेहाे।
सब चिज तर छाडी जानुपर्ने कता हाे।।
अलमल पर, यात्रा देखिने अन्धकार ।
तर पनि मन मेराे, जाेड्न खाेज्दाे गभार।।८।।
जति धन म कमाऊँ साथ लाने कुराकाे।
न त छ अझ जगेर्ना, मात्र चिन्ता भुराकाे?
प्रकृति पनि म जित्ने आँट गर्थेँ पलामा।
अविरल अब चिन्ता बढ्न थाल्याे थलामा।।९।।
प्रतिदिन म बटुले आसले नाम दाम ।
कसरत अति गर्दा अर्थ जाेडेँ तमामा।।
कुन समय थलामा, कालले हान्छ जाल।
अझ पनि मन मेराे छैन हेर्दा बिहाल।।१०।।
विविध विषय साेच्दै नित्य गर्दै म आँट ।
सहर वन गुफा या, दाैडिँएँ चाेक फाँट ।।
प्रतिदिन अब लाग्यो बित्न मेराे उमेर।
तर पनि अझ त्यत्रो छैन सन्त्रास हेर ?।।११।।
परिधिबिच सजेकाे कर्मकाे फूलबारी ।
विधिवश सब छाडी, जानु पर्नेछ पारि।।
तर पनि भवमा याे भर्छु भन्दै, सितारा
मनमगज दगुर्ने छाेप्न खाेजेर तारा ।।१२।।
रहर जति छँदैछन् पूर्णता छैन काम ।
कहर छ तनमा झन् हातमा छैन दाम ।।
सुखशयल नचिन्दै, याम धेरै बिताएँ।
समय अब डुबेको बल्ल पाे चालपाएँ।।१३।।
करुणदिल भएका, साथका मित्र मेरा ।
प्रतिदिन सँग हिँड्ने नित्य बन्दै सहारा ।।
अघि अघि सब लागे, पूर्ण विश्राम राेजी।
तर पनि म थलामा भर्न खाेज्दै छु गाेजी।।१४।।
०००
साेह्रखट्टे, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































