
हामीलाई फुर्सद छैन, के गर्नु ?(५)
होइन ‘मेरो ठम्याई नै बिब्ल्याँटाे के बालखजस्तो रोजी र छाडी गर्नु, पाएको नै ठूलो उपलब्धी’ भन्ठान्दै छिटोछिटो निल्दै उठेँ ।

साँझको खानाखाने घण्टी बज्नलाग्यो । त्यो तर्कनामा अरु सम्झना नै नखेल्ने मनमा । यो पाको उमेरमा अझै करबल वा श्रद्धापूर्वक पाइने यो कार्य महत्वपूर्ण नै हो । ज्यानले आफैँ निकाल्न सक्ने बल, तुजुक र उमेर अनुसार खप्नसक्ने सामर्थ्य बिस्तारै घट्दै गएको हुन्छ । त्यसैले त सानो कुरामा पनि चित्त दुख्ने प्रमाणस्वरुप सानोतिनो भनाभनमै आँखा रसाउन खोज्छ नि ! त्यसैले रुचेको तुम्बोमा हाल्न ढिला गर्नु हुन्न । जो हात सो साथ, जे पाइयो त्यसैमा सन्तोष गरेर मख्ख पर्नु सर्बोत्तम ठहर्छ । त्यसैले त्यस्ता सुकार्यमा पर्खेर नै फत्ये गर्नु बुद्धिमानी हो । म कम्ता बुझक्की छैन भन्ने प्रमाण नै यो कुराई हो भनि पर्खिरहन्छु ।
एक मन त के पाक्यो होला भन्ने पनि खस्खस लाग्छ । हुन त जे पाके पनि रुचेको अधिनस्त गनुपर्छ । सकेको अपजस् नलाइकन मिठो नलागे पनि सन्तोष मानेर खाएको अभिनय गर्नु उत्तम हुन्छ । सलाई छँदाछँदै जान्ने भएर लाईटर खोज्न हिँड्नु पाको उमेरमा एकादशी ब्रत बसेको स्थिति हुनसक्छ । हो, अलिबढि पाकेकै खानेकुरा ज्यानलाई फापे पनि कुनैकुनै बस्तु त काँचकाँचै खाँदा फाइदाजनक हुन्छन् । जिब्रोले तिखो स्वाद मागे पनि शरीरलाई चैँ मध्यम वा मरमशला र पिरो कम भएको नै काम लाग्छ । फेरि पाकस्थलीले साथ नदिएर ‘स्वादे जिब्रो अशक्त तिघ्रो’ वा ‘खान बेर न जान बेर, नअडिनेले किन रौसिनु’ भन्ने बाण तेर्सिएलान् । नरम लुपुलुपु सजिलै जाने नै राम्रो त्यसैले कति पाका मान्छे जाउलो वा खिचडी मन पराउँछन् । रोटीभन्दा पाका मान्छे, पिठो मुछेर रोटीजस्तै बेलेर टुक्रा पारी सागपात, गेडागुडी र मसलासँगै हालेर बेसरी उमालेको खोले ‘पानरोटी’ मन पराउँछन् । तर बिचार गर्नुहोस्, अहिलेको उमेर र सारीरिक अवस्थामा तपाइँ रोजीछाडी गर्नुभन्दा ‘जो हात सो साथ’ सिद्धान्त पालन गर्नु श्रेयस्कर छ । लम्पटासनमा बढि समय बिताउने भए चामल भन्दा रोटी र धेरै नरम भन्दा रेसा बढी हुने सागपातमा जोड गर्नु फाइदा होला । हुन त दिएको खानेले धेरै नाकनिक पनि गर्नुभएन, सन्तुलित नै हुनुपर्यो ! फेरि मिलेको पनि गुम्ला भन्ने पनि चनाखो हुनुपर्छ पाका मानिसले ।
झमक्कै रात पर्यो, बत्ति बाल्न उठ्नु पर्यो, झ्याल थुन्नु पर्यो । काम पनि नसकिने, कस्तो बेला आयो हँ ? उठ्या बेला आफूलाई चाहिने पानी, भाँडा र रातका औषधिमूलो ठिकठिक ठाउँमा छ कि छैन पनि हेर्नुपर्यो । पछि ‘ज्या कता गएछ’ भन्दा कस्ले जवाफ दिन्छ र ? फेरि आफैँलाई भुक्तमान, चिन्ता गर्ने उमेर होइन, बेलैमा जोहो गर्ने उमेर हो है । यही कुरा पनि अघिनदेखि सोचेको फेरि बिर्सेला भनेर रुजु गरेको नि । बिर्सने पनि गज्जबकै बेला आउने । कहिलेकाहीँ त हातगोडा कता होलान् भन्ने पनि चिन्ता लाग्ने, ठाउँमा नभए दुःख पाइन्छ भनेर । हिजो यस्तै बेला हो क्यार, ऐना अगाडि पुग्दा ‘को होला मेरो कोठामा पनि’ भनेर निकैबेर सोचेको । एक्लै रमाउने भइसकेपछि अरु देख्दा कि अनौठो लाग्ने कि को हो को हो चिन्न र ठम्याउन गाहारो हुने । जीवनमा कति अनुहार देखिए हराए, सम्झेर के साध्य भन्या, कोही पलभरका । कोही अस्थाई र कोही अलि पछिसम्म ! क्वारक्वारती हेर्न नसकेर आँखा झिम्कँदा पो ठहर गरेँ आफैँ र सतप्रतिशत मै हो भनेर ।
अँ, बास्ना त मासुको पो आयो । आफू पनि यो जिनिससँगको स्वादमा अझै तोयोमोयो नभएको परियो । खासै उमेराँ जस्तो अधिक नरुचे पनि अलिअली त जान्छ । ‘हाड अथवा छाला भएको सक्नुहुन्न तान्न, अलि मासुको केस्राकेस्रा दिनु पर्छ नि है, फेरि पेटलाग्ने वा खेरजाने बढि हुन्छ’ भनेको सुनेजस्तो लाग्यो । हो त, कति ख्याल गर्छन् मेरो, अहा ! यस्तो न परिवार ! त्यो बास्नाले मुखै रसायो । आज खाइने भैयो भनेर मख्ख परेँ । लौ, निम्ता आउन लाग्या जस्तो छ, अब पानी र औषधि ठिक पार्नु पर्यो । सबैकुरा नजिकै राखेँ, हकार सुन्नासाथ सिट्ठी बज्नासाथ दौडिन तयारी धावक झैँ । ‘आउनु है तयारी भो’ आवाज कतिखेर आउँछ भनि प्रतिक्षामा कष्टकर पल बिताएँ । भान्छाको चलाइकुलाईको आवाज शान्त भयो । अब थाल, कचौरा र को कहाँ थच्चिने भन्ने आसन मिल्दै होला । घरीघरी बास्ना आउन बन्द हुने भइरहेछ । पक्कै पस्किने सुरसार हो भनी गमे । एकछिनमा आवाज आयो, ‘अब घडी हेरेर दस मिनेटमा झर्नु नि, तयार हुनलाग्यो’ । उफ, एकछिन…उचालिएका लुला गोडा थपक्क ओछ्यानमै बिस्कुन पारेँ, ढङ्ग नपुर्याई बाटो काट्ने देखेर टिपरले ब्रेक लगाएझैँ थामिएँ । कति गाहारो यो पर्खने समय, गज्जव लाग्छ बा, त्यसमाथि केस्रेमासुसँग भोजन ! अहा ! तब न मेरो परिवार, त्यसै बेलाबेलाँ मख्ख पर्छु र म !
‘घडी हेरेर दस मिनेट पुग्नलाग्दा उठेँ, पानी बोकेँ र लर्याङ्लुरुङ गर्दै भर्याङ झरेँ । ‘ओहो, आइसकेको ?’ यस वाक्यको स्वागत अलि अप्ठ्यारो लाग्यो । ‘अँ, आएँ त, कता बसौँ ?’ रात परेपछि कता जाने रमाइलो हुन्छ भन्ने कुरा छलफल हुँदै थियो टक्क रोकियो, बिजुली गएपछि बल्न छोडेको चिम झैँ । त्यताभन्दा आफू बस्ने ठाउँ खोजेँ, अरुले कम प्रयोग गर्ने ठाउँतिर लेप्सिएँ । सधैं लतार्ने थालकचौरा अगाडि ठिङ्ग आए, मनतातो पानी पिउने भाँडो आफैँ लेराएँ । खाना पस्किए, ठिक्क, अनि मासु केही चौटासहित झोल र अचारको एक पित्को । मुछेर जिप्ट्याएँ, नुन कम पिरो टाठो, ‘बाक्लो जिब्रो नुन थपौँ कि मलाई’ भने । ‘नुन धेरै खान नहुने’ अमृत बचन सुनेँ, तर थपेरै स्वाद लिएँ । आफूलाई नुनभन्दा पनि पिरोको पिर थियो तर अपजसे कुरा बोल्न भएन नि । थप माग्नुभन्दा ‘सबैलाई झोल नपुग्ला’ भनि बडो विवेकी भई आफ्नोमा मनतातो पानी थपेँ । त्यसोभए पिरोको उकुसमुकुस तुम्बोमा कम होला र नुनको असर कम होस् भन्ने आशा गरेँ । चौटा हाडसहित, के चाहियो, नभन्न खोज्दाखोज्दै फुत्काएँ ‘हाड भएको मलाई त नोक्सान बढि होला’ । ‘अँ, हाड नभएको त गँड्यौलाको मात्र हुन्छ, मुखले नसके औँलाले तान्ने नि । यस्तो लिन त लाईन बस्न पर्लाजस्तो भइसक्यो, कहाँ पाउँनु कवाफ जस्तो ?’ छेउमा बसेका भलादमीहरू, ‘मासु त् गज्जब राम्रो परेछ आजको’ भन्दै खाँदै थिए । होइन ‘मेरो ठम्याई नै बिब्ल्याँटाे के बालखजस्तो रोजी र छाडी गर्नु, पाएको नै ठूलो उपलब्धी’ भन्ठान्दै छिटोछिटो निल्दै उठेँ । भाँडा ठिक ठाउँमा थन्क्याएँ, थप चाहिने चिसोपानी लिएँ र आफ्नो प्रिय लम्पटासन कक्षतिर ।
भर्याङ् उक्लन छिटो नसक्ने भएर, फेरि कोही आइहाल्ला भनि भित्ताभित्ता तिरबाट मतापले हिँडे । आफूलाई पनि फाइदा, लड्ने डर पनि भएन, छिटाछरिता र फुर्सद भएर बुर्कुसी मार्नेलाई पनि अल्झाइएन । कालबेला र नीजि अवस्थालाई बिचार गरेरै चल्नुपर्छ नि पाका मानिसले, तलमाथि गर्ने होइन नि ! तलमाथि भए त आफैँ हुने हो, चनाखो हुनै पर्छ । आइयो… आइयो…, आफ्नै ठाउँमा र पानी राखियो । खानापछिको औषधि गन्ती गर्दै, भित्तेपात्रोको मिति ठम्याउँदै र औषधिको खोलमा लेखेको मिति रुजु गर्दै निल्न सुरु गरियो । सबै काम सकेपछि, एकछिन त बस्नु राम्रो भन्ने अर्ति अनुसार पलेटी मारेर आज गर्छु भनेको काम मनमा खेलाउन थालेँ । ओहो ! आफूजस्तैका कुरा लेख्छु भन्या कस्तो फुर्सद नभाको, अब अलिकति भए पनि सुरु गरौँ जस्तो लाग्यो । पुगिने ठाउँमै राखेको कलमले उदेकलाग्दो गरेर चोसो पसारेर हेर्यो । कापी अचल भएर मभन्दा बढि लेप्सिएर औषधि नजिकै सानो टेबलमा लडेको । इच्छा गरेपछि आउनु नि, कति प्रजातन्त्रको सोख मेटाएका, छक्क लाग्छ । आफैँ नआई ईख्याए जस्तो लागेर दुबैलाई उठाएँ, खुसी भएर कलम त एकपटक हातबाटै झर्यो । ‘कहाँ जालास् मछडी मेरै ढडिया’ भनेझैँ टिपिहालेँ । अब लेख्न सुरसार गरेँ । शीर्षक, आफ्नो नाम लेखेँ, ठेगाना लेख्नुपर्ला कि नपर्ला ? दोमनमा एकछिन अल्झिएँ । लेखौँ प्रचार गर्यो भन्लान्, हुन त, कोही फुर्सदी बेफुर्सदीले भेट्न खोज्लान् कि ? ठेगाना नलेखे कहाँ जालान् सोद्धै खोज्दै ? त्यसरी भेट्न खोज्नेलाई अलमलमा पार्नु त किमार्थ हुँदैन । एकछिन यसो गफिन पाइन्छ नि । हातमा कलम, अगाडि कापी र मेरा लोती झरेका आँखा छानोतिर, पूरा ज्यान चिन्तनमा ।
कोठासाथी लर्याङ्लुरुङ गर्दै भित्र पसे र ब्रह्माश्त्र छाडे, ‘निको चाल छैन नि, के टोलाएर बसेको ? त्यति मिठो खान पाएपछि मज्जाले सुत्नु नि तात्तातै पेट, म त घुर्न थालिसक्या होला भन्ठानेको !’ ओहो ! चट्याङ् नजिकै झरे झैँ म चिन्तनबाट बिउँझे्ँ र हतपत्त न्यायको लागि जाहेरी गरेँ, ‘केही लेखौँ भन्ने लागेर सोचेको, खै के लेखौँ ?’ ‘अँ, गज्जव बिचार आएछ, यो झ्याप्प झ्याप्प गर्ने बिजुलीको उज्यालोमा’ अर्को तिरले मुटु छेड्लाजस्तो भयो र विस्तारै आँखा रसाएको जस्तो लाग्यो । हेरेँ लेखेको शीर्षकतिर, के लेखेँ आफैँले ठहर्याउन गाहारो पर्यो, दोछायाँ परेका अक्षरहरू प्रष्ट्याउन सकिन मधुरो उज्यालोमा । होइन, मेरो लेख लेख्ने उत्कट ईच्छामा पहिरो जाने र खोलै लाग्ने हो त ? अहँ, लागेको काम र अठोटेको कुरा फत्ये नगरी बसे त पाको मानिस कहाँ भइयो र ? कम्तीमा यो उमेरको महत्ता र आर्जित ज्ञान त आफूसँगै लैजानु हुन्न, बरु जस्ले सक्छन् लिन्छन्, छरेरै जानुपर्छ । कोठासाथीसँग प्रतिरोधी भएर अघि बढ्नु भन्दा ओछ्यान, ओढ्ने र तकियाहरू मिलाउने काम गर्नु राम्रो हुन्छ । बरु, सुतिसुती लेखनबारे चिन्तन गर्नु राम्रो हुन्छ, कच्चा पदार्थ जम्मा गरिराखे त पछि तयारी गर्न सजिलो हुन्छ । ओहो, सुत्नुअघि खाने औषधि खाने बेला भयो । खाइहाल्नु पर्यो, नत्र त भोलिबिहान दीर्घशङ्का गर्न ठूलो समस्या हुन्छ, त्यसको व्यवस्था गरिहाल्नु पर्छ ।
आज त यतिबेलासम्म यसै गरेर समय गुज्रियो, लेख्ने फुर्सद नै भएन । माथिदेखि हेर्दै भन्नोस् त हामीजस्तालाई फुर्सद कहिले भयो ? अब, फुर्सद नै नभएपछि म के गरुँ ? क्रमश….
ल.पु. चालिसे डाँडा
= लेखकका यस्तै सामग्रीहरू
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ?(१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ?(२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ?(३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३
९. हामीलाई फुर्सद छैन, के गर्नु ?(४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च २१